प्रदेश

कोरोना बीमा भुक्तानी प्रक्रिया अझै सुरु हुनसकेन



काठमाडौं,०४ वैशाख। लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमा भुक्तानी प्रक्रिया अझै सुरु हुनसकेको छैन । अर्थ मन्त्रालयबाट कोरोना बीमा बापतको रकम निकासा नहुँदा बीमितलाई बीमा बापतको रकम भुक्तानी गर्न नसकिएको बीमा समितिका प्रवक्ता निर्मल अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार सरकारले रकम भुक्तानी गर्नुपर्ने रकम साढे १० अर्बको हाराहारीमा छ । प्रिमियमबाट उठेको साढे तीन अर्ब रुपियाँ भुक्तानी गरिसकिएको र केही रकम बीमा कम्पनीले पनि भुक्तानी गरेकाले अब बाँकी साढे १० अर्वको हाराहारीमा रहेको उहाँको भनाइ छ ।

यसमा बीमा समिति, बीमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकारलगायतको दायित्व रहेको छ । हालसम्म एक लाख ४५ हजार जनाको बीमा दावी परेको छ । तीमध्ये आधाभन्दा बढीलाई भुक्तानी गर्न बाँकी छ । बीमा समितिले रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र काटेको अधिकारीको भनाइ छ ।

यता, अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले कोरोना बीमाबापतको रकम निकासा गर्ने विषण्मा मन्त्रालय सकारात्मक नै रहेको बताउनुभएको छ । उहाँका अनुसार सरकारले तिर्नुपर्ने बीमा बापतको रकम कसरी निकासा गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । अब एक महिनापछि निकासा हुनसक्छ, उहाँले भन्नुभयो, ुसरकारले मात्र सबै रकम निकासा गर्न नसकिने भएकाले कसरी तिर्ने भन्ने कुरा चलिरहेको छ ।ु

कोरोना बीमा गरेका बीमितका लागि सरकारले मात्र साढे १० अर्ब रुपिँया तिर्न नसक्ने भएकाले बीमा कम्पनी र बीमा समितिहरुसँग निरन्तर छलफल भइरहेको निरौलाको भनाइ छ । सरकारले कोरोना बीमा बापतको रकम कुन शिर्षकबाट निकासा गर्न सकिन्छ भन्ने स्रोतको खोजी कार्य जारी रहेको निरौला बताउनुहुन्छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रवक्ता निराजन आचार्यका अनुसार कोराना बीमा गरेका बीमितले दाबी गरेअनुसारको रकम पाउने बताउनुभयो । रकम भुक्तानी हुने समय भने केही ढिला हुने भए पनि बीमितले रकम भने पाउने उहाँको भनाइ छ । बीमा कम्पनीले दाबी निवेदन पेस गरेको सात दिनभित्र बीमितलाई भुक्तानी दिनुपर्ने कोरोना बीमा कार्यविधिमा व्यवस्था गरिएको छ । दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कोरोना बीमा कार्यविधिअनुसार कोरोना बीमाअन्तर्गत एक लाख र ५० हजार रुपियाँ गरी दुई प्रकारको बीमाङ्क तोकिएको थियो ।

एक लाख रुपियाँको प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क रहेको थियो । परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपियाँका लागि छ सय र ५० हजार रुपियाँका लागि तीन सय रुपियाँ शुल्क लाग्थ्यो । बीमा गर्दा कुनै पनि नेपाली नागरिक भारतलगायत तेस्रो मुलुकबाट आएको भएमा १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने व्यवस्था थियो  ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६