प्रदेश

‘ओमिक्राेन’ पुष्टि भएका व्यक्तिकाे सम्पर्कमा पुगेका ६६ जनाकाे पीसीआर रिपाेर्ट ‘नेगेटिभ’



मंसिर, २० काठमाण्डौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज साेमवार पत्रकार सम्मेलन गरेर नेपालमा दुई जनामा ओमिक्रोन पुष्टि भएको जानकारी गराएको हो ।

गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ‘ओमिक्रोन’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जनाकारी दिनुभयो ।

पीसीआर नेगेटिभ रहेको रिपोर्ट र पूर्ण मात्रा खोप लगाएको प्रमाणसहित आएका ती विदेशी नागरिक र उनीसँग सम्पर्कमा पुगेका अर्का व्यक्तिलाई मङ्सिर ७ गते कोरोनासँग मिल्दो लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा हिजाे आइतवार राति ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन पुष्टि भएकाले अब कोरोना पुष्टि हुनेहरूको कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन थालेको भन्दै मन्त्रालयले कोरोनाको सङ्क्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेकाे छ । साथै मन्त्रालयले खोप नलगाएकाहरूले नजिकको खोप केन्द्रमा गएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । 

यस्ताे छ मन्त्रालयकाे विज्ञप्ति–

नेपालमा Omicron पुष्टि सम्बन्धी प्रेस बिज्ञप्ति

मिति २०७८ मङ्सिर २० गते

कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन (mutation) देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन (Omicron) नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरुमा आजको मितिसम्म ५७४ जना Omicron भेरिएन्ट संक्रमित देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षीण एशियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ I यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ ।

नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ PCR रिपोर्ट अनिवार्य गरेको , खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमुना संकलन गरी PCR गर्ने र संकास्पद नमुनाहरुको gene sequencing गर्ने गरिएको छ। यसका साथै बिगत एक महिना अगाडी देखी पोजिटिभ भएका नमुनाहरुको थप परिक्षण गर्ने गरिएको छ I

यहि क्रममा मिति २०७८ मङ्सिर ३ गते नया भेरिएन्ट पुष्टि भएको देश हुँदै एक ६६ बर्षीय बिदेशी नागरिक नेपालको त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार PCR रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । वहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ बर्षिय व्यक्ति र स्वयं आफैलाई मंशिर ७ गते कोभिड-१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिए पश्चात परिक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो । COVID-१९ परीक्षणमा पोजिटिभ आएकाहरुको S-gene परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन (S-gene Target failure) । S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ( NPHL) मा gene sequencing गर्दा मिति २०७८ मङ्सिर १९ गते राति COVID-१९ को नयाँ भेरिएन्ट Omicron नेपालमा पहिलो पटक पुष्टि भएको छ ।

हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । हाल उहाहरुमा कुनै लक्षणहरु देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ ।

उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको PCR परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ ।

यससंगै नेपालमा Omicron को निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको छ । आम नागरिकलाई Omicron सम्बन्धी बैज्ञानिक तथ्य प्रेषण गर्न बिश्वमा भएका यस सम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सहि सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ । कोभिड १९ का अरु भेरिएन्ट जस्तै Omicron को संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना ( मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन अनुरोध छ ।

धन्यवाद !

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६