खोज–अनुसन्धान

चौथो दल बन्ने महाअभियानमा राप्रपा :यी टप टेन नेताको भविश्य ?




काठमाडौं १ मंसिर । यस पटक थ्रेसहोल्ड कटाएर निर्णायक राष्ट्रिय पार्टी बन्ने तयारीसहित आक्रामक चुनावी अभियानमा रहेको राप्रपाले प्रत्यक्षमा १० सीट जित्ने महत्वाकांक्षी प्रक्षेपण छ । राप्रपाले समानुपातिकबाट पनि ८ देखि १० सिट जित्ने आँकलन छ । यद्यपी सो पार्टीले भने समानुपातिकमा पहिलो मत पाउने दावी गरेको छ ।२०७० सालमा कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्यक्षमा एक सीट पनि नजित्दा समानुपातिकबाट २४ सीट पाएको थियो । २०७४ सालमा प्रत्यक्षमा राजेन्द्र लिङदेन जित्दा समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको पार्टी यस पटक कमल थापा बाहिरिएको बेला २० सीटको लक्ष्य लिएर अघि बढेको छ ।
राप्रपाले प्रत्यक्षमा पाउने मतमा स्वतन्त्र पार्टीले समेत धावा बोलेकाले अपेक्षा गरेभन्दा कम हुने चिन्ता नेताहरूले व्यक्त गरेका छन् । यद्यपि ८ लाखभन्दा तल नहुने दाबी उनीहरूको छ ।देशभरिको रिपोर्टका आधारमा राप्रपा समानुपातिकमा पहिलो शक्ति हुने र प्रत्यक्षमा पनि राम्रो नतिजा आउने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठको दाबी छ । उनले भने, ‘हामी समानुपातिकमा पहिलो हुन्छौैं ।’समानुपातिकमा एमाले, कांग्रेस र माओवादीपछिको चौथो शक्ति बन्ने कतिपयको आँकलन छ । श्रेष्ठले भने प्रत्यक्ष र समानुपातिकसहित समग्रमा बलियो शक्ति बन्ने तयारी रहेको बताए ।केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रेससँगको अन्तर्वार्तामा राप्रपा पाँचौँ दल बन्ने सम्भावना आँकलन गरेका थिए । ओलीले एमाले पहिलो,कांग्रेस दोस्रो,माओवादी तेस्रो,जसपा चौथो र राप्रपा पाँचौँ बन्न सक्ने बताएका थिए । राप्रपाले भने जसपालाई जित्न सकिने आँकलन गरेको छ ।
यी हुन् राप्रपाका टप टेन उम्मेदवार
राप्रपा एमालेभन्दा पछि सबैभन्दा बढी उम्मेदवार उठाउने दल हो । उसले देशभर १४० क्षेत्रमा उम्मेदवार उठाएको छ । झापाका ४, रुपन्देहीका ४, बाँकेका २, कञ्चनपुरका ३ निर्वाचन क्षेत्रमा राप्रपाले एमालेलाई सघाएको छ । त्यसबापत राप्रपाले झापा ३, बाँके २ र रुपन्देही ३ मा प्रतिनिधिसभा तर्फ एमालेको साथ पाएको छ भने झापा, रुपन्देही, धादिङ २, कञ्चनपुरलगायत केही ठाउँमा प्रदेश सभामा एमालेले सघाएको छ ।राप्रपाले जित सुनिश्चित ठहर गरेका उम्मेदवारमध्ये अध्यक्ष राजेन्द्र लिङ्देन पहिलो नम्बरमा छन् । राप्रपा उसै पनि बलियो रहेको सो क्षेत्रमा एमालेको मत थपिएकाले चुनाव जित्न कुनै समस्या नरहेको र विगतको भन्दा फराकिलो मतान्तरले जित्ने स्थिति बनेको उनले बताए ।

त्यस्तै मोरङ ३ मा रेखा थापा राप्रपाले जित्न सक्ने उम्मेदवारको सूचीमा राखेको छ । रेखाको इन्ट्रीले मोरङ ३ मा त्रिपक्षीय प्रतिस्पर्धा भने भएको छ । एमालेका भानुभक्त ढकाल र कांग्रेसका सुनिल शर्माबीच दुईपक्षीय मानिएको प्रतिस्पर्धामा पछिल्लो समय रेखा थापाको अभियानसँगै त्रिपक्षीय बनेको छ ।मकवानपुर १ का दीपकबहादुर सिंह राप्रपाले जित्ने उम्मेदवारको सूचीमा राखेको छ । व्यक्तिगत रूपमा लोकप्रिय नेता सिंह गत स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर उम्मेदवार बनेर एमाले बराबर मत पाएका थिए । झिनो मतले मेयरमा पराजित सिंहले कांग्रेसकी डिना उपाध्यय र एमालेबाट उठेका आफ्नै पूर्व नेता कमल थापालाई कडा चुनौती दिएका छन् ।राप्रपाले चुनाव जित्ने सूचीमा राखेका अर्का उम्मेदवार हुन् रवीन्द्र मिश्र । ५ वर्षअघि विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेर काठमाडौं १ मा प्रकाशमान सिंहसँग करिब ७ सय मतले पराजित भएका मिश्रले यस पटक जित्नका लागि निकै मेहनत गरिरहेका छन् ।
राप्रपाले पनि उनको जितलाई प्रतिष्ठाको विषय बनाएको छ । मिश्रले यस पटक चुनाव जित्ने आँकलन राप्रपाको छ । उनको लागि मत माग्न बलिउड अभिनेत्री मनीषा कोइराला समेत घरदैलोमा गएकी छन् ।काठमाडौं २ बाट राप्रपाले कुन्ती पोखरेललाई चुनाव जित्न सक्ने सशक्त उम्मेदवारको सूचीमा राखेको छ । युवा नेता कुन्तीले चुनाव प्रचारलाई आक्रामक र आकर्षक बनाएकी छन् । उनको प्रतिस्पर्धा एमालेका मणिराम फुयाँल, गठबन्धनकी ओनसरी घर्ती र स्वतन्त्र पार्टीकी सोबिता गौतमसँग छ । राप्रपाले सो क्षेत्रमा पर्ने संखरापुर नगरपालिका जितेको र पहिले देखि नै राप्रपाको प्रभाव क्षेत्र रहेकाले कुन्ती बलियो उम्मेदवार हुन् । स्थानीय तहको निर्वाचनको मत अनुसार पनि राप्रपाको सबैभन्दा बढी मत करिब ८ हजार आएको क्षेत्र हो २ नम्बर । कुन्ती आफ्नै प्रभाव,युवा महिला भएका कारण तटस्थ मत समेत तान्ने अपेक्षा छ ।
त्यसो त राप्रपाले काठमाडौं ८ का प्रकाश रिमाललाई पनि चुनाव जित्न सक्ने उम्मेदवारको सूचीमा राखेको छ । राप्रपा प्रवक्ता श्रेष्ठले काठमाडौंमा ३ सीट जित्न सकिने आँकलन रहेको बताए । प्रदेशतर्फ १० नम्बर क्षेत्रका उमेशराज सापकोटा बलियो प्रतिस्पर्धामा छन् । उनले जित्न सक्ने राप्रपाको आँकलन छ ।राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे चितवन ३ बाट चुनाव जित्न सक्ने उम्मेदवारको सूचीमा छन् । एमालेको उम्मेदवार नरहेको र कांग्रेसका स्वतन्त्र उम्मेदवारलाई सबै एमालेको मत नजाने भएकाले विक्रम पाण्डेलाई फाइदा हुने आँकलन छ । चितवन ३ मा कांग्रेस उम्मेदवार नभएको फाइदा पनि आफूले उठाउने पाण्डेको योजना छ । पाण्डे चुनाव जित्ने सम्भावित राप्रपा उम्मेदवार मानिएका छन् ।
एमालेको साथ पाएका दीपक बोहोरा यस पटक रुपन्देही ३ बाट नतिजा उल्ट्याउने तयारीमा छन् । उनी गृहमन्त्री बालकृष्ण खाँणसँगको प्रतिस्पर्धाबाट उत्रिने दाबी राप्रपाको छ ।त्यस्तै महामन्त्री धवल शमशेर जबरालाई पनि एमालेले साथ दिएकाले बाँके २ बाट जित्ने उम्मेदवारको सूचीमा छन् । उनीबाहेक राप्रपाले जुम्लामा ज्ञानेन्द्र शाही पनि चुनाव जित्ने सूचीमा राखेको छ । शाहीले एकाएक माहौल बनाएका कारण सत्ता गठबन्धनमा खैलाबैला छ ।त्यस्तै नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा ध्रवबहादुर प्रधानले यसपटक जित निकाल्ने आँकलन राप्रपाको छ । पटकपटक असफल भएका प्रधान यसपटक पनि कांग्रेसका देवेन्द्रराज कँडेलसँग प्रतिस्पर्धामा छन् । स्थानीय तहमा समेत राम्रो मत आएकाले यसपटक प्रधान उम्किन सक्ने अनुमान राप्रपाको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६