अर्थ-वाणिज्य

रोल्पामा रोचक भिडन्त : जनयुद्ध कै कमाण्डरवाट बर्षमानलाई चुनौती



रोल्पा १० असोज । माओवादी जनयुद्धको जग भनिएको रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले माओवादी बिरुद्ध जनयुद्धकै कमाण्डरलाई मैदानमा पठाएपछि बर्षमान पुनलाई चुनौती खडा भएको छ। एमालेले १० वर्षे जनयुद्धले जन्माएका ‘कमरेड’ भन्दै जनयुद्धका बटालियन कमाण्डर पूर्णबहादुर बुढामगर ‘विमर्श’लाई बर्षमान पुन बिरुद्ध प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ।नेकपा एमालेका अनुसार वर्षमानलाई हेर्यौँ पटक पटक,पूर्ण कमरेडलाई हेरौँ यसपटक,’ भन्दै केन्द्रसमक्ष प्रतिनिधीसभा सदस्य पदका लागि उनको मात्रै नाम सिफारिस भएको छ।‘कमरेड पूर्णको राजनीतिक सपना यसपटक पूर्ण हुनेछ,जनयुद्धको तुफानी यात्रामा सँगसँगै हिँडियो, सँगसँगै लडियो। हामी रोल्पालीहरूले एउटा गर्वलाग्दो इतिहास बनाएका छौँ।
पूर्ण कमरेड जुनसुकै पार्टीबाट उम्मेदवार बने पनि युद्धले जन्माएको एउटा नेता हो। वर्षमानलाई हेर्यौँ पटक पटक,पूर्ण कमरेडलाई हेरौँ यसपटक,’ जनमुक्ति सेनाका एक पूर्व बटालियन कमाण्डरले भने।एक समय पूरै रोल्पा माओवादीमय थियो ‘सबैलाई हेर्यौँ पटक पटक, माओवादीलाई हेरौँ यसपटक।’ भनेर मत मागेको नेकपा माओवादीले पहिलो संबिधान सभा निर्वाचनमा सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा–१ बाट जिताएको थियो । तर प्रचण्डलाई त्यसरी भोट माग्दै हिडेका पूर्व बटालियन कमाण्डर विमर्शहरू यस पटक भने पटक पटक सांसद र मन्त्री बने पनि जिल्लालाई केही नगरेको भन्दै प्रचण्डका अति बिश्वास पात्र वर्षमान पुन बिरुद्ध उम्मेदवारी दिने अवस्थामा पुगेका छन्।
जनयुद्धकालमा नेता विमर्श जनमुक्ति सेनाको बटालियन कमाण्डर हुँदा उनै अनन्त माथिल्लो तहको कमाण्डर भएको पूर्व जनमुक्ति सेनाका सदस्यहरूको भनाइ छ। नेकपा विभाजनपछि रामबहादुर थापा ‘बादल’को समर्थनमा रहेका उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पनि छन्।‘कमरेड विमर्शसँग कैयौँ पटक यात्रा गरियो। अग्रपंक्तिमा खटेर युद्ध लडियो। गण्डक अभियानका बेला सँगसँगै हिँड्यौँ। भोक र थकाई बिर्सेर पनि यात्रा गरेका छौँ। उनी मेरा राम्रा साथी हुन्। समयले फरकफरक कित्तामा उभ्यायो। तर पनि युवा मित्रको उम्मेदवारीले उत्साहित छौँ,’ माओवादी केन्द्र रोल्पाका एक सदस्यले भने।नेकपा (माओवादी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट राजनीतिक यात्रा आरम्भ गरेका उनी जनमुक्ति सेनाको बटालियन कमाण्डरसम्म बनेका थिए। गण्डक अभियानका क्रममा उनी लडाईंको अग्रपंक्तिमा खटिए। पार्टीको जिम्मेवारी र सैन्य भूमिका निर्वाह गर्ने क्रममा पश्चिम क्षेत्रको कुना–कुनामा पुगेको बताइन्छ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमर्शलाई आफ्ना पूर्व सहकर्मीहरूले अगाडि पर्दा मुखले चाहिँ बधाई तथा शुभकामना दिन थालेका छन्। ‘पूर्ण दाइलाई बधाई तथा शुभकामना छ, उहाँ र मेरो पार्टी फरक छ। म माओवादी र उहाँ एमाले। तरपनि हामीहरूबीच असल मित्रता छ,’ माओवादी केन्द्र त्रिवेणीका एक सदस्य भन्छन्, ‘युद्धताका हाम्रा बेग्लै दुःख थिए। नेताहरूले बुझेनन्। आगामी निर्वाचनमा उहाँलाई सक्दो सहयोग गर्नुपर्छ।’तत्कालीन नेकपा (माओवादी) ले २०६३ ताका युद्ध–मैदानका आफ्ना हजारौँ हतियार क्यान्टोनमेन्टमा थन्क्याएपछि विमर्श पनि खुला राजनीतिको रंगमञ्चमा उत्रिएका थिए। लगत्तै माओवादीको संगठन विस्तारमा लागेर पार्टी काममा खटिए।
जिल्लामा काँग्रेस र माओवादीबीच चुनावी गठबन्धन भए पनि वर्षमानसँग काँग्रेस कार्यकर्ता असन्तुष्ट रहेको माओवादीजनको बुझाइ छ। त्यसो त काँग्रेस प्रतिनिधिसभा सदस्यको उम्मेदवारबिनै चुवानी मैदानमा जाने तयारी छ।‘गठबन्धन भए पनि रोल्पाली काँग्रेसले वर्षमानलाई भोट हाल्न सक्दैन। पहिलो कुरा हामीहरू आफ्नै उम्मेदवार खोज्छौँ। दोस्रो पूर्णजीलाई सहयोग गर्नसक्छौँ। माथिल्लो तहका नेताहरू मिले पनि माओवादीप्रति काँग्रेस कार्यकर्ताको मन भाँचिएको छ,’ नेपाली काँग्रेस रोल्पाका एक पदाधिकारीले बताए।शान्ति प्रक्रियापछि विस्तारै माओवादीको जनमत खस्किएको छ। माओवादी विभाजनले हजारौँ नेता–कार्यकर्ता छरिएका छन्। कैयौँ उच्च तहका नेता–कार्यकर्ता एमालेको केन्द्रीय कमिटीदेखि गाउँ कमिटीसम्म सक्रिय छन्।

प्रकाशित : १० आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६