जीवनशैली

महासमय सुत्त देसनास्थल पहिचान




परिचय
हरेक सम्ंयक संबुद्धले एक कार्यकालमा एकपटकमात्र महासम्मेलन गरी महासमय सुत्तको देसना गर्दछन् । त्यो महासम्मेलन र महासमय सुत्तको देसना कपिलवस्तुको महावनमा गौतम बुद्धबाट बुद्धत्व प्राप्तिका १५औं वर्षमा जेष्ठ शुक्ल पूणर्िमाका राति भएको थियो भन्ने कुरा त्रिपिटक, अट्ठकथा, टिका लगायतका आधिकारिक बौद्ध साहित्यहरुबाट स्पष्ट हुन्छ । श्रीलंका, वर्मा लगायतका देशहरुमा महासमयसुत्त देसना भएको दिन जेष्ठ शुक्ल पूणर्िमालाई विशेष महत्वका साथ लिइन्छ । यस दिनमा अनिवार्य रुपमा महासमय सुत्तको पाठ गरिन्छ । विदेशबाट नेपाल भ्रमणमा आउने बौद्ध विद्वान तथा बौद्ध भिक्षुहरुका मनमा महासमयुसुत्त देसनास्थल कहाँ होला भन्ने जिज्ञासा रहेको पाइएको छ । बौद्ध साहित्य र भूगोलको आधारमा हालै त्यस महासमयसुत्त देसनास्थलको एकीन गरिएको छ । यसरी एकीन गर्ने साहित्यिक आधार र भौगोलिक संयोजनका बारेमा यसमा चर्चा गरिदैछ । यसको पुरातात्विक, बौद्धिक, भौगोलिक अध्ययन तथा अनुसन्धान गरी यस ठाउँलाई बौद्ध संवेजनीय स्थल, बौद्ध तीर्थस्थल र बौद्ध पर्यटक स्थलको रुपमा विकसित गर्न सरकार, स्थानीय नागरिक र सबै सरोकारवाला लाग्नुपर्ने आवश्यकता छ ।
साहित्यिक आधार
महासमयसुत्तको मूल आधार ग्रन्थ पालि साहित्यको सुत्त पिटक मध्येको दीघ निकायको दोश्रो भाग महावग्ग हो । यस वर्गमा महासमय सुत्त रहेको छ । कपिलवस्तु महावनमा महासम्मेलन भएको थियो, यसै महासम्मेलनमा महासमयसुत्तको देसना भएको थियो । यस्तो महासम्मेलन एक संयक संबुद्धको समयमा एकपटकमात्र हुन्छ । यस महासम्मेलनमा उपस्थित सबै देवतालाई बुद्धले संवोधन गर्नु भएको छ । ती सबैको नाम यस सुत्तमा रहेको छ । यस सुत्तमा यो देसना कपिलवस्तु महावनमा भएको थियो भन्नेमात्र उल्लेख छ । आचार्य बुद्धघोषप्रणीत धम्मपदट्ठकथा तृतीय भाग सुखवर्गमा रोहिणी नदीको पानी विवादको सन्दर्भ र त्यहाँ दिइएको देसनाका बारेमा चर्चा गरिएको छ । यस विवादपछि तत्काल महासमयसुत्त देसना भएको हो । आचार्य बुद्धघोषप्रणीत दीघनिकाय महावग्गअट्ठकथाको महासमयसुत्तवण्णनामा महासमयसुत्त देसना कुन सन्र्भमा कुन समयमा सुनाइएको थियो त्यो कुरा र त्यहाँको भौगोलिक अवस्थाका बारेमा छोटो उल्लेख भएको पाइन्छ । दीघ निकाये महावग्गटिकाको महासमयसुत्तवण्णनामा त्यहाँको भौगोलिक अवस्था झल्किने केही कुराका साथै यसमा बुद्धले सुनाएका जातक कथा र सुत्तहरु कुनकुन हुन् भन्ने कुरा स्पष्ट पारिएको छ । यसै आधारमा त्यहाँ बुद्धले दिएको उपदेशको बारेमा छलफल गर्न सकिन्छ । ती जातक कथाहरु पालि जातक अट्ठकथामा संग्रहित छन्, भने त्यहाँ सुनाइएका धेरै सुत्तहरु सुत्त निपातमा रहेका छन् । यी सबै आधिकारिक साहित्यिक आधार हुन् । चीनिया यात्री ह्वेनसाङ्ग, फाइयान, इत्सिङ्ग आदिले यस बारेमा चर्चा गरेको पाइदैन । त्यस्तै कनिंघम, देवाल मित्त आदि पुरातत्वविदहरुले पनि यसमा अनुसन्धान गरेको पाइदैन ।
साहित्यमा देखिएको भूगोल र वर्तमान भौगोलिक अवस्थाको योग
दीघनिकायमा कपिलवस्तु महावनमा महासमयसुत्त देसना गरिएको भन्ने उल्लेख छ । तर यसमा त्यहाँको भौगोलिक अवस्थाको बारेमा कुनै चर्चा छैन । अट्ठकथा र अट्ठकथाका टिकाहरुमा चर्चा गरिए अनुसार जेष्ठ शुक्ल पूणर्िमाको दिन रोहिणी नदीको पानी विवादलाई शान्तिपूणर् समाधान गरिसकेपछि कपिलवस्तुका २५० र कोलियका २५० भिक्षुहरु सहित भगवान कपिलवस्तु महावनमा आई उपदेश गर्नुभयो र अभ्यास गर्न लगाउनु भयो । पछि त्यहाँ अन्य भिक्षुहरु, ब्रह्मलोकबाट ब्रह्माहरु र देवलोकबाट देवताहरु नागलोकबाट नागहरु, यक्ष लोकबाट यक्षहरु, असूर लोकबाट असूरहरु, विष्णु देवता, महेश्वर, दश ईश्वरहरु, इन्द्रराजा समेत सूक्ष्म रुपमा यस सभामा उपस्थित भएका थिए । सोही राति पूर्वमा रहेको युगन्धर पर्वतको क्षितिजबाट चन्द्रमा उदाइरहेको समयमा सबै भिक्षुहरुलाई सम्बोधुुन गरि भगवानले त्यहाँ विभिन्न उपदेश गरेर अभ्यास गर्न लगाउनुभयो । त्यसपछि कपिलवस्तु र कोलियका भिक्षुहरुले नजिकको गुफा र रुखमुनी बसी विपश्यना ध्यान गरेर श्रोतापन्न हुँदै त्यसै रात अरहत्व प्राप्त गरे । त्यहाँ रुखधम्म जातक, बट्टक जातक, फन्दन जातक, पथवी उन्द्रीय जातक, लटुकिक जातक, कुणाल जातक सुनाउनुभएको थियो । त्यहाँ सम्मापरिजानीय सुत्त, कलह विवाद सुत्त, महाव्यूह सुत्त, चूलव्यूह सुत्त, पूराभेद सुत्त बताउनु भएको थियो । सुत्त निपातको सम्मापरिजानिय सुत्तमा उल्लेख भए अनुसार भगवानले आफू महासम्मत वंशको भएको वंशावलि पनि त्यहाँ बताउनुभएको थियो ।
कपिलवस्तुको महावनमा महासमय सुत्त देसना हुँदा जेष्ठ पूणर्िमाको दिन पूर्वीय क्षितिजमा युगन्धर पर्वतबाट चन्द्रमा उदाएको थियो भन्ने कुरा माथिको अनुच्छेदमा स्पष्ट भएको छ । बुद्धको देसना सुनेपछि कोही गुफामा बसेर साधना गरेर अर्हत्व प्राप्त गरे भन्ने कुरा पनि स्पष्ट पारिएको छ । यसरी गुफा पर्वत र पूर्वमा युगन्धर पर्वत भएको कपिलवस्तुको महावन नै महासमय सुत्त देसनास्थल हो भन्ने कुरा पुष्टि हुन्छ ।
कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका वडा नं.८ मधुवनदेखि करीव ४.५ किमी उत्तर बालकुण्ठधाम छ । त्यहाँबाट करीब आधा किलोमिटर उत्तर साना ठूला गरी ७ वटा जति गुफाहरु छन् । त्यहाँबाट २०० मीटर उत्तरमा बाणगङ्गा नदी छ । यस क्षेत्रबाट हेर्दा पूर्वमा करेचुली पर्वत रहेको छ । गुफा क्षेत्र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं.१४ मा पर्ने देखिन्छ । करेचुली पर्वत अर्घाखाँचीमा पर्दछ । २०७९।२।३१ अर्थात् १४ जुन २०२२ ज्येष्ठ पूणर्िमाका दिन गुफाको शीर र गुफाको केही तलबाट हेर्दा करेचुली पर्वतको दक्षिणी भागबाट राति ८ बजे चन्द्रमा उदाइरहेको दृष्य देखियो । पहाड, गुफा र पूर्वमा युगन्धर पर्वत यी तीन कुराको संयोजन हुने ठाउँ यहाँ बाहेक अन्यत्र कतै पनि पाइएको छैन । त्यसैले बुद्धले महासमयसुत्त देसना गरेको ठाउँ बालकुण्ठ भनेर चिनिने ठाउँदेखि बाणगङ्गा नदी किनार सम्मको एक किलोमिटर क्षेत्रको जग्गा नै हो भन्ने स्पष्ट हुन्छ । किनभने यसभन्दा दक्षिणबाट पूर्वमा युगन्धर पर्वत पर्दैन । कोलियका र कपिलवस्तुका भिक्षुले अर्हत्व प्राप्त गरेको ठाउँ यही गुफा हुन सक्छ ।
वर्तमानमा भए गरेका प्रयास
यो पुरातात्विक स्थल हो । यसमा पुरातात्विक महत्वका सामग्रीहरु फेला परेका पनि छन् । मायादेवीको मूर्ति हुन सक्ने शीरको भाग नभएको मूर्ति भेटिएको छ । कोपिएका कोरिएका ढुंगाहरु पनि फेला परेका छन् । छितरिएर रहेका ती सामग्रीहरु बानपा ८ का सामाजिक अगुवाहरु चुरामणि अर्याल, पोमनारायण पौेडेल, चिरञ्जीवि भण्डारी लगायतको प्रयासबाट टीनको टहरो बनाई त्यसमा एकत्र गरी सकेसम्म हिनामिना नहुने गरी व्यवस्था गरिएको छ ।
बाणगङ्गा नगरपालिका वडा नं. ८ मधुवनदेखि उत्तर शान्ताकुञ्ज मधुवनधामले धार्मिक वनका रुपमा १०० वर्षलाई प्राप्त गरी जिल्ला वन कार्यालय कपिलवस्तुबाट स्वीकृत कार्य योजना वमोजिम धम्मनन्दन कपिलवस्तु महावन विपश्यना केन्द्र र मधुवन बौद्ध विहार विगत तीन वर्षदेखि सञ्चालित छन् । विपश्यना केन्द्र र विहारमा नेपालका विभिन्न ठाउँहरुबाट आएका नेपाली साधकहरु र भारत चीन, थाइल्याण्ड र रुस आदि ठाऊँबाट आएका विदेशी पाहुनाहरुलाई यो ठाउँको बारेमा बताउने र देखाउने गरिएको छ । यहाँबाट स्कर्पीयो गाडी देसनास्थलको नजिकैसम्म पुग्न सक्दछ । अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकाको पावर समुदायिक वन उपभोक्ता समितिको प्रयासबाट सबै गुफामा सजिलै जान सकिने गरि मान्छे हिड्ने बाटो बनाइएको छ । गुफा र गुफादेखि माथि पानीको धारा जडान गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका केन्द्रीय क्याम्पसका उपप्राध्यापक भिक्षु संकिच्च र नेपाल भिक्षु महासंघका महासचिव भन्ते भद्दीयले यस ठाऊँको अध्ययन गरी यो ठाउँ नै महासमय सुत्त देसनास्थल हुन सक्छ भनी बताउनुभएको अन्तर्वार्ता सामुदायिक टेलिभिजन बुद्ध आवाजबाट २०७८ मार्गमा प्रशारण गरियो । एकघण्टाको विपश्यना ध्यान पनि पुराना साधकहरुबाट बालकुण्ठमा र गुफामा सम्पन्न भएका छन् । पावर सामुदयिक वन उपभोक्ता समितिका केही व्यक्ति र बालबालिका बीच यसको महत्वको चर्चा र १० मिनेटको आनापानसति साधना सम्पन्न भएको छ । २०७९।२।३१ ज्येष्ठ पूणर्िमा दिन चन्द्रमा उदाइरहेको दृष्यको तस्वीर लिन ९ जनाको समूह गुफाको शीर र गुफाको तलबाट राति ८ बजे युगन्धर पर्वतबाट चन्द्रमा उदाइरहेको तस्वीर लिइयो । यसरी यस क्षेत्रको विकासका लागि शितगंगा नगरपालिकाका व्यक्तिहरु, बानपा ८का व्यक्तिहरु र अन्य बौद्ध शिक्षाका अध्ययेताहरु बुद्धिजीविहरु सबै यसको प्रमाणिकता, प्रचार प्रसारका लागि प्रयासरत छन् ।
सम्भाव्यता र गर्नुपर्ने कामहरु
नेपाल सरकारबाट महासमय सुत्त देसनास्थलको स्पष्ट पहिचानको पुष्टि अहिलेसम्म भएको छैन । त्यो पुष्टि नेपाल सरकारले गरेर यसको संरक्षण, संवद्र्धन प्रचार र प्रसार भएमा लुम्बिनी पछिको नेपालको महत्वपूणर् तीर्थस्लको रुपमा यो ठाउँ पर्न सक्छ । नेपालका महत्वपूणर् संवेजनीय बौद्ध स्थलमध्ये लुम्बिनी पछि कुदान र यो क्षेत्र नै पर्दछ । यसो भएमा जेष्ठ शुक्ल पूणर्िमाका दिन यहाँ देश विदेशबाट बौद्ध अनुयायी आउनेछन् । यस क्षेत्रमा विपश्यना र अन्य समथ साधना गर्न आउने उपासक उपासिका भिक्षु भिक्षुणीको संख्या सयौं हुनेछ । यसको नजिक रहेको धम्मनन्दन कपिलवस्तु महावन विपश्यना केन्द्र र महावन बौद्ध विहारको विकास हुनेछ र त्यसको सम्बन्धले महासमयसुत्त देसनास्थलको पनि शिघ्र विकास हुनेछ । समग्र क्षेत्र धार्मिक सांस्कृतिक पर्यटनको रुपमा विकसित हुनेछ । राज्यलाई रोजगारी र वैदेशिक मुद्रा आर्जनको स्रोत हुनेछ ।
प्रथमतः महासमयसुत्त देसनास्थलको पुरातात्विक थप अध्ययन र अनुसन्धानको आवश्यकता छ । यो कार्य सरकारी तवरबाट हुनुपर्दछ । दोश्रो, यस ठाउँको संरक्षणको लागि र यहाँका पुरातात्विक महत्वका वस्तुको पहिचान, सरक्षणका लागि विशेष प्रयास हुन आवश्यक छ । तेश्रोे, यस क्षेत्रलाई धार्मिक वनको रुपमा विकास गर्न आवश्यक छ । चौथो त्यहाँ सम्म जाने बाटोको राम्रो व्यवस्था हुन आवश्यक छ । पाँचौ, यसको विस्तृत विवरण सहितको करीव १५० पेजको पुस्तिका र एउटा सानो ४ पेजसम्मको बुक्लेट प्रकाशनको आवश्यकता छ ।

उपसंहार
बौद्ध शिक्षा र यस बौद्ध क्षेत्रको विकासको लागि यी कार्यहरु प्रारम्भिक हुन् । तत्काल गर्नुपर्ने कार्यहरु गर्दै गए पछि अन्तिम लक्ष्यसम्म पुग्न सकिन्छ । त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले कदम चाल्नेछन् । स्थानीय वासिन्दा शुभचिन्तक, संघसंस्थाले यस कार्यमा सहयोग गर्नेछन् र छिट्टै यसले विकसित रुप पाउने छ । समथ तथा विपश्यना साधनाका साधक यस क्षेत्रमा आकर्षित हुनेछन् । यो ठाउँ महासमय सुत्तदेसनास्थलको रुपमा विश्वले चिन्ने छ । यसको विकासको लागि स्थानीय वासिन्दा, संघसंस्था र सरकारले कार्यहरु गर्नेछन् । यसको उज्जवल भविष्यको कामनासहित सबैको मंगलकामना ।भवतु सब्ब मंगलं

चतुर भुज पाण्डे
पूर्व आंशिक प्राध्यापक, बौद्ध अध्ययन
लु बौ वि, केन्द्रीय क्याम्पस.


प्रकाशित : २८ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६