खोज–अनुसन्धान

जहाँ किसान त्यही पानी :वृहत् दाङ उपत्यका सिंचाईको यस्तो छ कहानी



दाङ २४ साउन ।तुलसीपुर उपमहानगरपालिका–१८ का ४२ वर्षीय रामलाल चौधरीको आधा जीवन भारतमा मजदुरी गर्दैमा बित्यो । जब गाउँमा सिंचाइका लागि जलाशय र पक्की कुलो बन्यो, उनी भारतको रोजगारी छाडेर गाउँ फर्किए । वर्ष दिन खानका लागि पुग्ने धान पनि धौधौ उब्जनी हुने खेतमा उनले दुुई वर्षदेखि बर्खामा धान र हिउँदमास तरकारी खेती गर्दै आइरहेका छन् ।पोखरी निर्माणसँगै गाउँमा पक्की कुलो बनेपछि खेतीका लागि सहज भएको उनले बताए । उनीमात्रै होइन, मुक्तिलाल सुनार पनि दङ्ग छन् । सिंचाई सुविधाका साथै हप्तैपिच्छे कुलो सफा गर्नुपर्ने समस्याबाट समेत छुटकारा मिलेको सुनार बताउँछन् ।उनले भने, ‘जब कुलो आयो, खेतीपातीको कुरा छँदैछ । घरका लागि तिउन तरकारीसमेत किन्नु परेको छैन । धेरैले खेतिपातीबाट आम्दानी गरेका छन् ।’

पोखरीले गाउँ फर्कायो
घोराही उपमहानगरपालिका–४ शशीधर बेल्वासेले सिंचाई अभावमा खेती गर्न कठिनाइ हुँदा परिवार पाल्नकै लागि मजदुरी गर्न पोखरा जानु परेको सुनाए । ‘जब गाउँमा सिंचाइका लागि पोखरी बन्यो, आफ्नै खेतबारीमा केही गरेर बाँच्न सकिन्छ भनेर फर्कि आएँ,’ उनले भने, ‘सिंचाइका लागि पोखरी बनेपछि न खेतबारी खाली छन् । न गोजी । कहिले मौसमी खेती, कहिले बेमौसमी खेती ।’उनले गाउँमा पोखरी र पक्की नाला नभएको भए बालबच्चाका लागि भए पनि सहर बजारका गल्ली गल्लीमा मजदुरी गर्दै जीवन बिताउनुपर्ने बाध्यता रहेको सुनाए । तर गाउँमा खेती किसानका लागि आवश्यक संरचना बनेसँगै अधिकांश मजदुर खेती किसानीमा फर्किरहेको उनको भनाइ छ ।

चार वर्षमा साढे ११ हजार हेक्टरमा सिंचाई
यी प्रतिनिधि पात्रमात्र हुुन् । वृहत् दाङ उपत्यका सिंचाई आयोजनाले हालसम्म ११ हजार ५ सय हेक्टरका किसानलाई यो खुसी दिएको छ । जिल्लाभर ५६ हजार हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पुरयाउने लक्ष्यका साथ ०७४ वैशाख १ गतेदेखि योजना थालनी गरेको आयोजनाले चार वर्षमा साढे ११ हजार हेक्टरका किसानलाई यस्तो खुसी दिलाएको छ ।वृहत् दाङ उपत्यका सिंचाई आयोजनाका प्रमुख राजु आचार्यले भने, ‘जहाँ किसान, त्यहाँ पानी नै आयोजनाको लक्ष्य हो ।’सिंचाई असुविधाका कारण कृषि क्षेत्रबाट किसान पलायन हुन् नपरोस् र कृषि क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ । आचार्यले थपे, ‘आयोजनाले वैदेशिक रोजगारमा पुगेकाहरूलाई गाउँमा फर्काएको छ ।’आयोजना प्रमुख आचार्यले ०७४ वैशाख १ देखि ०७८ असार मसान्तसम्ममा दाङमा ३० जलाशय, २८ वटा लिफ्ट सिंचाई, २९ वटा पानी पोखरी, ३० वटा डिप बोरिङ र २५० किलोमिटर पक्की कुलो निर्माण गरिएको जानकारी दिए ।एक दशकमा ५६ हजार हेक्टरमा सिंचाई सुविधा पुरयाउने उद्देश्य आयोजनाका रहेको उनले बताए ।

९३ करोड ७७ लाखमा ९३ करोड १५ लाख खर्च

आर्थिक वर्ष २०७८र०७९ मा वृहत् दाङ उपत्यका सिंचाई आयोजनाका लागि संघीय सरकारले ९३ करोड ७७ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये आयोजनाले ९३ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ९९।११ प्रतिशत हो । विकास आयोजना निर्माण गर्ने कार्यालयमध्ये सबैभन्दा धेरै विकास बजेट खर्च गर्नेमा बृहत् सिंचाई आयोजना रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।कार्यालयका कोष नियन्त्रक उदयराज भण्डारीले भने, ‘जसका लागि पैसा आएको उसैका लागि आयोजनाले खर्च गर्दै आइरहेको छ । उपलब्धिमूलक खर्च पनि भएको छ । प्रत्यक्ष लाभ किसानले लिएका छन् ।’

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६