देश

युद्ध पर्यटन हवको रूपमा विकास हुँदै रुकुम पूर्वको महत गाउँ



सुर्य प्रकाश बुढामगर
रोल्पा, ०५ असार । देश परिवर्तनको लागि वि.सं. २०५२ साल फागुन १ गते देखि रोल्पा, रुकुमबाट माओवादी केन्द्रले आफ्नो शस्त्र दश बर्षे जनयुद्ध सुरु गरेको थियो । अहिले रोल्पा, रुकुमको विभिन्न गाउँठाउँमा जनयुद्ध गरेको ठाउँहरु धेरै भेटाउन सकिन्छ । सरकार पक्षका सेन, प्रहरी र बिर्दोही पक्षका नेकपा माओवादी केन्द्र बीच दोहोरो भिडन्त भएका ठाउँहरु पनि धेरै नै छन् । युद्ध अन्य जिल्लामा पनि सुरु भएका थियो । जनयुद्ध, सरकार पक्ष र बिर्दोही पक्ष दुबैले मानवीय क्षेती र भौतिक क्षेती व्यहोर्नुपरेको थियो । देशको परिवर्तनको लागि दश बर्षे जनयुद्धमा सरकार पक्ष र बिर्दोही पक्षबाट देशभरीबाट करिब १७ हजार मानिसहरुले रगतको बलिदान दिएका थिए । अहिले ती युद्ध सुरुवात गरेका ठाउँमा र भिडन्त भएका ठाउँमा युद्ध पर्यटन बनाउन होडबाजी चलेको जस्तो देखिन्छ । ती त्यस्ता जिल्लाका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले बजेट व्यवस्थापन गरेर भौतिक संरचना निर्माण गरेको र भइरहेको पाइन्छ । सोही क्रममा रुकुम पूर्वको महत गाउँ युद्ध पर्यटनको रूपमा विकास भइसकेको छ । अहिले महत चौकी आक्रमणका मुख्य कमान्डर हालका उपराष्ट्रपति नन्दबहादुर पुन९पासाङ० तथा अन्य सहायक कमान्डर गरि ६ जनाको मोडल निर्माण भएको छ ।

रुकुमपूर्वको महत आफैमा घना बस्ती भएको सुन्दर गाउँ मानिन्छ । दश बर्ष लामो जनयुद्धको केन्द्र रहेको महतमा ठूलाठूला भिडन्त भएका थिए । त्यति मात्र नभई जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य तालीम पनि यहीँ ठाउँमा भएका थिए भने सैन्य कार्यालयहरु पनि खडा गरिएका थिए । जनयुद्धमा सबैभन्दा बढी शहिद भएको ठाउँ महत अहिले युद्ध पर्यटनको रूपमा विकास भइरहेको छ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्धमा महत गाउँबाट सबैभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । जनयुद्धमा महतमा मात्रै ५८ जनाले बलिदान दिएका थिए । वि.सं.२०५६ असोज ५ गते राति माओवादीले प्रहरी चौकी आक्रमण गरि तत्कालीन नेपाल प्रहरीका डिएसपी ठूले राईलाई अपहरण गरेपछि महत गाउँ सुरक्षाकर्मीहरुको निगरानीमा परेको थियो ।

राज्यपक्षबाट ५२ जना र माओवादीबाट ६ गरि जम्मा ५८ जना मारिएका थिए । यो ऐतिहासिक ठाउँ महतमा अहिले ‘युद्ध फिचर’ निर्माण गरी पर्यटनको रूपमा विकास भएसँगै पर्यटकहरु पनि बढिरहेका छन् । युद्ध पर्यटनको रूपमा विकास हुँदै गरेको महतमा अहिले दैनिक जसो पर्यटकहरू आउने गरेको भूमे गाउँपालिका वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष विक्रम पुनमगर बताउँछन । अहिले दैनिक ५/६ जना देखि ५०/१०० बढी आन्तरिक पर्यटन आउने गरेको पुनले बताए । यसरी युद्ध फिचर निर्माण भएपछी महत गाउँ झनै आकर्षित देखिएको वडाध्यक्षको भनाइ छ । युद्धकालमा माओवादीको केन्द्रिय हेडक्वाटर मानिने रोल्पाको थबाङ प्रवेश गर्ने नाका पनि महत थियो । अहिले महतलाई युद्ध स्मारिकाको रूपमा परिचित गराउन जनयुद्धका मुख्य लडाकुहरको मोडेल तयार गरिएको छ। युद्ध फिचर निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढामगरले जानकारी दिए अनुसार स्याण्ड मोडल अन्तर्गत अहिले महत चौकी आक्रमणका मुख्य कमान्डर हालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) तथा अन्य सहायक कमान्डर गरि ६ जनाको मोडल निर्माण भएको छ ।

बायाँतर्फबाट हेर्दा उक्त भिडन्तमा माओवादी तर्फका सेनालाई नेतृत्व गर्ने दुई नम्बर प्लाटुन सेक्सन कमान्डर टेकेन्द्र बस्नेतको निर्माणको शालिक छ, जो सल्यान कपुरकोट आक्रमणको बेलामा सहादत गर्नु भएको थियो । अहिले अरु सबै जिवितै छन् । दोस्रोमा रोल्पाका एक नम्बर प्लाटुनको कमान्डर हरि पुन मगर (वरुण),सबैभन्दा पछाडि मेडिकलको जिम्मेवारीमा भएका रुकुमकोटका कृष्ण रेग्मी, बायाँतर्फबाट तेस्रोमा रुकुम गुनामका २ नम्बर प्लाटुन कमान्डर होम प्रकाश श्रेष्ठ (हिमाल) को तस्बिर राखिएको छ भने माथीबाट प्वाइन्टेड गरेको नन्दबहादुर पुन (पासाङ),पाँचौ नम्बरमा स्क्वाइड फोर्स कमान्डर काँक्रीका जितकुमार बुढामगर (खामे शिखर) लाई राखिएको छ । यसमा प्रतिनिधि कमान्डरको मात्र तस्बिर मात्र बनाइएकोले सबैको राख्न नसकिएको उनले बताए ।

प्रहरीकै चौकी निर्माण भइरहेको बताउदै, केही व्यवस्थापन गर्न नसकिएकोले पशु तथा मानव भित्र पस्ने र त्यसको महत्त्व नबुझी खेलौनाको रूपमा पर्यटकहरूले लिने गरेको बुढाले बताए । ‘पर्यटक आउनु हुन्छ भित्र खाना, नास्ताको व्यवस्था छैन, आएर पर्यटक घुमेर जाने गर्नुहुन्छ,’ उनले भने । भूमे गाउँपालिका क्रमागत आयोजना भएको समेत जनाइएको छ । २०७४ माघ महिना देखि सुरुवात भएको युद्ध फिचर अझै पुर्ण रूपमा सम्पन्न हुन केही समय लाग्ने बताइएको छ । गाउँपालिकाले सुरुवातमा २० लाख रुपैयाँँ बजेट व्यवस्थापन गरेको थियो पछी २०७७/०७८ मा १५ लाख रुपैयाँँ विनियोजन भएको थियो अहिले काम भइरहेको बताइएको छ । करिब ३५ लाखमा निर्माण कार्य जारी रहेको छ ।

जनयुद्धले देशमा परिवर्तन ल्याइएकोले भूल्न सकिन्छ र नयाँ पुस्तालाई थाहा नहुन सक्छ तर यहाँ आउने जो कोहीले पनि अब युद्धको सम्झना गर्नेछ र नयाँ पुस्ताले अध्ययन गर्न पाउने छन् । भूमे गाउँपालिका निर्वाचित अध्यक्ष होम प्रकाश श्रेष्ठ । युद्धको तयारी गर्दा प्रयोग गरिने ‘स्याण्ड मोडल’बाट नै यहाँ युद्ध फिचर भएको छ । राज्य संरचनासँगै महत भूमे गाउँपालिकामा परेको थियो । यो गाउँपालिकामा मगरहरुको बाहुल्यता रहेको छ भने अन्य जातिको समेत बसोबास रहेको छ । एकातिर मगर समुदायको सांस्कृतिक बस्ती महत,अर्कोतिर जनयुद्धको ऐतिहासिक स्थलको महत्त्व बोकेको भएकोले भूमे गाउँपालिका पर्यटन विकासमा जुट्ने समेत श्रेष्ठले बताए । आफूहरूको बार्षिक कार्य नीति तथा कार्यक्रममा यस गाउँपालिकाको समृद्धिका स्रोत पहिचान गर्ने गरि पर्यटनलाई प्रमुख स्रोतको रूपमा लिने प्रतिक्रिया दिदै महतको पर्यटन विकासमा थप टेवा पुर्‍याउन २०७९/०८०मा थप बजेटको व्यवस्थापन गर्ने बताए ।

साथै गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले भने ‘हामी २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट निर्माणमा छौं’ । तीन वटा क्षेत्रहरुको पहिचान गरि पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने गरि नीति योजना बनाएर अगाडि बढ्ने उनले बताए । महत गाउँको प्रवेशद्वारमै शान्तिका प्रतीक गौतम बुद्धको स्मारक बनाइएको छ । मध्यपहाडी लोकमार्गबाट करिब आधा घण्टा पछि शहिद मार्ग पुगिन्छ । महत गाउँसम्म शहिद मार्गले छोएको छ । त्यहाँबाट करिब २० मिनेट हिड्नेपछी युद्ध फिचर निर्माण भएको ठाउँमा पुग्न सकिन्छ । जहाँको दृश्य लोभलाग्दो रहेको छ । हिजोआज बिदाको दिनमा यो ठाउँ घुम्न आउने पर्यटकहरुको संख्या उल्लेखनीय मात्र रहेको छ । रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा र बागलुङ लगाएत अन्य छिमेकी जिल्लाहरुबाट समेत पर्यटक आउने गरेका छन् । द्वन्द्वको चपेटामा परेको महत गाउँले विस्तारै मुहार फेर्नेमा बामे सर्दै छ । विकासका पूर्वाधारहरु निर्माण भइरहेका छन । युद्ध पर्यटनमा विकास भइरहेको महतमा भोलिका दिनहरुमा पर्यटकहरूलाई आकर्षित गरि आर्थिकसँग जोडेर रोजगारी सिर्जना गर्न सकिने समेत स्थानीयले अपेक्षा लिएका छन् ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल