जीवनशैली

बाघ खोज्न २ दिनदेखि जंगलमा वास,गाउलेमा हटेन अझै त्रास



वाँके २९ पुस । राप्तीसोनारी गाउँपालिकाको राप्तीपारि क्षेत्रमा आतंक मच्चाइरहेको नरभक्षी बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रणका लागि चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली दुईदिनदेखि जंगलमै बसेर बाघको खोजी गरि रहेपनि फेला पर्न सकेको छैन ।फत्तेपुरस्थित मानव बस्तीदेखि करीब पाँच किलोमिटरभित्र जङ्गलमा बाघको हालसालको पाइला फेला परे पनि बाघ भने अझै फेला नपरेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काले बताउनुभयो । उहाँले गएराती दुई वटा पाडो बाँधेर पाइला फेला परेको क्षेत्रमा टोली बसेकोमा बाघ सो क्षेत्रमा नआएको बताउनुभयो । टोलीले मंगलबार राती पनि सम्भावित स्थानमा आहारास्वरुप भैंसीको एउटा पाडो लगेर राखेको थियो । तर, सो रात पनि बाघ त्यहाँ आएको थिएन । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी खड्काका अनुसार सो स्थानमा बाघ नआएकोले अब सो नजिकका अन्य क्षेत्रमा समेत खोजी गर्न शुरु गरिएको बताउनुभयो ।
बाघ खोज्न राप्तीसोनारीको जङ्गलमा खटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्राविधिक अमिर सडौला र तीर्थ लामाकोे टोलीले हालसालकै पाइला भेटेपनि बाघ नदेखिनुलाई आश्चर्यजनक रुपमा लिएको छ । बाघ धेरै टाढा नगएको हुनुपर्ने जनाउँदै टोलीले विहिबार पाइला पछ्याउँदै खोजी गरिरहेको सुचना अधिकारी खड्काले बताउनुभयो ।बाघ नियन्त्रण टोलीमा डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समूह, प्रहरी, नेपाली सेनालगायत परिचालित छन् । बाघलाई नियन्त्रणमा लिनेबित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’मा राखेर ब्यवस्थापन गरिने जनाईएको छ । बाघ नियन्त्रणमा नआउँदा सो क्षेत्रका स्थानीयमा डर र त्रास कायमै रहेको छ । फत्तेपुर र सो वरिपरिका क्षेत्रका अधिकांश सर्वसाधारण घरबाट बाहिर निस्कन डराईरहेका छन् ।
उनिहरु बेलुका ५ बज्ने वित्तिकै आँगनमा आगो बालेर घरमा चुकुल लगाएर बस्ने गरेको र दिसा पिसाब गर्न समेत बाहिर ननिस्कने गरेको वडा नम्बर ६ का वडा अध्यक्ष जनक थारुले बताउनुभयो ।बाघको आक्रमणबाट गत शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो । सो बाहेक आक्रमणबाट एक दर्जन जति नागरिक कि भागेर कि रुखमा चढेर जोगिन सफल भएका छन् ।

प्रकाशित : २९ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६