काठमाडौँ ५ मंसिर — गत वैशाख १७ गते २५ वर्षीया युवती नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा आइपुगिन् । किटानी जाहेरी बोकेर आएकी ती युवतीले भोगेको कथा ब्युरोका अनुसन्धान अधिकारीका निम्ति नयाँ थिएन तर मनै रुवाउने खालको भने थियो ।
प्रहरीको मानव बेचबिखन ब्युरोले आर्थिक वर्ष २०७७/७८ मा मात्रै भारतका विभिन्न यौन कोठीमा बेचिएर उद्धार भएका वा उम्केर आएका ६ पीडितका घटनामा पहिलो चरणको अनुसन्धान सकेको छ । यी घटनामा ६ नेपाली महिलाले भारतका विभिन्न कोठीमा कुल साढे १५ वर्ष बिताएको देखिन्छ । ६ मध्ये ४ जनाको उमेर २० वर्ष छ भने २ जना २० वर्षमाथिका र एक जना १७ वर्षकी छन् । अधिकांश पीडित निरक्षर वा अर्धसाक्षर पृष्ठभूमिका र विपन्न समुदायका छन् । २५ वर्षीया युवतीले सुनाएजस्तै अधिकांश आर्थिक विपन्नता र घरेलु हिंसाबाट उम्केर सुखी जीवन बिताउने लालसामा परेर कोठीसम्म पुगेको देखिन्छ । यी ६ घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका १० जनामध्ये ८ जना पुर्पक्षका लागि थुनामा छन् भने एक जना धरौटीमा छुटेका छन् । बाँकी एक जनालाई थुनामा राखेर अनुसन्धान चलिरहेको देखिन्छ ।
यौन कोठीमा बेचिएका सबै युवतीको गन्तव्यमा देखिने समानता भनेको ६ मध्ये चार जनालाई नयाँ दिल्लीस्थित विभिन्न कोठीमा पुर्याइएको थियो भने बाँकी दुई जनामध्ये एकलाई मुम्बई र अर्की एकलाई कोलकाताको कोठीमा पुर्याइएको देखिन्छ । फरक–फरक यी ६ घटनाको अध्ययन गर्दा संगठित मानव तस्करका नेपाली एजेन्टहरूले युवतीलाई सहजै स्थलमार्गबाट सीमा कटाएर भारतका मुख्य सहरमा सञ्चालित कोठीमा पुर्याइरहेको देखिन्छ । उद्धार भएर वा भागेर आएका युवतीहरूले कम्तीमा एक महिना र बढीमा ६ वर्षसम्म यौन कोठीमा नारकीय जीवन बिताएको खुलेको छ । कोठीमा बेचिएका अधिकांश युवतीको साझा कथा भनेको उनीहरूको गरिबी जोडिएको पृष्ठभूमि र निरक्षर वा अर्धसाक्षर हैसियत हो ।
प्रतिक्रिया