अन्तर्राष्ट्रिय

दुबई उड्न हिँडेका सुनार १६ दिनदेखि बेपत्ता,खोजी गरिदिन परिवारको माग



कपिलवस्तु २१ मंसिर । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियाका ३८ वर्षीय गोविन्द सुनार १६ दिनदेखि बेपत्ता हुनुभएको छ । मङ्सिर ५ गते भ्रमण भिसामा दुबई जाने भन्दै घरबाट पैसा मगाएका सुनार बेपत्ता हुनुभएको उहाँको पत्नी गीता सुनारले बताउनुभयो ।श्रीमती सुनारका अनुसार छ वर्षदेखि मलेसिया र कुवेत बस्दै आउनुभएका सुनार दुबई जाने भन्दै गत कात्तिक ३१ गते घरदेखि काठमाडौँ जानुभएको थियो ।
मङ्सिर ५ गते बिहान ११ बजे फोन गर्दै २१ मंसिरमा उडान हुने जानकारी गराउनु भएको उहाँले बताउनुभयो । पिसीआर चेक गर्न लाइनमा बसेको जानकारी गराउँदै पैसा पठाउन पत्नीसँग आग्रह गर्नुभएको थियो । श्रीमती सुनारले डेढ लाख रुपियाँ गोविन्दलाई रेमिट गरेको बताउनुभयो । मासिक ५ प्रतिशत ब्याजदरमा ऋण खोजेर पैसा पठाएको उहाँले बताउनुभयो ।
गोविन्दले पशुपति सबमनि ट्रान्सफर ओम शान्तिचोक काठमाडौंबाट २ बजेर १३ मिनेट जाँदा रकम निकालेको उहाँले बताउनुभयो । पछि सम्पर्क गर्न खोज्दा उहाँको मोबाइल स्वीचअफ देखिएको थियो । चिनजानका आफन्त सबैतिर सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि मंसिर ९ गते इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खोजतलास गर्न जाहेरी दिएको गोविन्दको दिदी जालमाया सुनारले बताउनुभयो ।
दुबई आउने भन्दै गोविन्दले दाजु नाता पर्ने कृष्ण वि.क.लाई एयरपोर्ट लिन आउन आग्रह गर्नुभएको उहाँको श्रीमती सुनारको भनाई छ । कृष्णले अफिस बिदा लिई एयरपोर्टमा कुरेर बसे पनि गोविन्द नआएपछि कृष्ण फर्केको जानकारी आएको जालमायाले बताउनुभयो । सामान्य परिवारका गोविन्द बेपत्ता भएपछि परिवारमा चिन्ता बढेको छ ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६