गण्डकी

म्याग्दीमा विदेशबाट आउनेलाई अनिवार्य १० दिन क्वरेण्टीनमा राखिने



म्याग्दी १२ चैत्र । म्याग्दीमा छिमेकी देश तथा अन्य देशबाट आउनेलाई अनिवार्य १० दिन क्वरेण्टीनमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधवार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो । बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वरेण्टीनमा राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा काम गर्न भारतबाट आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीमा मङ्गलवार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।  भारतबाट आएका मजदुरमा कोरोना पुष्टि भएपछि विदेशबाट आउने र घर बिदामा आउनेलाई १० दिन अनिवार्य क्वरेण्टीनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, पालिकामा क्वरेण्टीन, आइसोलेशन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पीसीआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । त्यसैगरी बेनी अस्पतालमा स्वास्थ्यजाँचलाई व्यवस्थित बनाउने र हरेक निजी तथा सार्वजनिक सङ्घसंस्थाले अनिवार्य साबुनपानीले हात धुने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा भीडभाड हुने कार्यक्रमलाई समेत कडाइ गरिने भएको छ ।  काममा आउने मजदुरलाई कोरोना परीक्षण तथा क्वरेण्टीनमा नराखि काममा खटाइएको अवस्थामा सम्बन्धित कम्पनी तथा व्यक्तिलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बैठकमा सहभागी केही प्रतिनिधिले भने विदेशबाट आउनेलाई क्वरेण्टीनमा राख्ने तर विभिन्न ठाउँमा मानिसको भीडभाड हुने मेलाजात्रा र महोत्सव नियन्त्रणमा बेवास्ता गरिएको भन्दै निर्णयप्रति असहमति जनाएका छन् ।राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवि विश्वकर्माले सङ्घीय सरकारले जारी गरेको निर्देशन र आग्रह विपरीत म्याग्दीमा मेला महोत्सवलाई सहयोग पुग्ने हिसाबले केही व्यापारीको दबाब र प्रभावमा उनीहरु अनुकूलको निर्णय गरिएको भन्दै असन्तुुष्टि जनाउनुभएको छ । दरवाङमा चैत अन्तिम हप्तादेखि मालिका महोत्सव र बेनीमा नयाँ वर्षको अवसरमा लोक सांस्कृतिक उत्सवको आयोजना गरिएको छ । यसैगरी फागुपूर्णिमा पर्वको अवसरमा पनि गाउँगाउँमा मेला आयोजना भएका छन् । 

प्रकाशित : १२ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६