सम्पादकीय

विश्व योग दिवस



जुन २१ तारिक(असार ७ गते) । अन्तर्राष्ट्रिय योग दिवस । सन्. २०१४ मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि (पतञ्जलि योगपीठ हरिद्वारका योगऋषि स्वामी रामदेवको आग्रहानुसार) राखेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपश्चात् २०१५ जुन २१ तारिकबाट योग दिवस  मनाउन थलिएको हो । यसैबाट पुष्टि हुन्छ योगको महत्व कति छ भन्ने कुरा ।

पूर्वीय उपचार पद्धतिको अभिन्न अंग हो योग । योगले शरीर स्वस्थ राख्छ, फुर्तिलो बनाउँछ, विकार हटाउँछ र दीर्घ जीवन दिन्छ । निरोगिताका लागि योग, ध्यान, प्राणयाम र आयुर्वेदिक औषधिको प्रयोग प्राचीन कालदेखि गरिदै आएको थियो । त्यसैले स्वावलम्बी र दीर्घायु बनाउथ्यो । पश्चिमी दुस्प्रचारको शिकार हुनुभन्दा पहिले पूर्वीय ऋषि मुनिहरुले गरेको त्यही खोज(सर्च)को पुनःखोज (रि–सर्च) गरिदैछ अहिले । सर्च अर्थात् खोज त पूर्वीय महर्षिहरुले गरिसकेकै हुन् । तदनुसार जस्ले आफ्नो जीवनमा सदुपयोग गरे, निरोगी रहे । जो पश्चिमको पछिलागे, अल्छी बने, गोली र सुईका फुँई देखाए, उनीहरुले रोगमाथि रोग थपे, भित्य्राए । त्यसैको मारमा परेका छौं । आफ्नोपन छाडेर अर्काको पछि लाग्दाको सजाय पनि भोग्दैछौं ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको चपेटामा परेका बेला योग दिवस मनाउनु र आफुलाई पनि सरिक गराउनुलाई जीवन जोगाउने उपायका रुपमा लिन सकिन्छ । पूर्वीय जीवनशैली, खान–पान, रहन–सहन, स्वागत–सत्कारको सँस्कार अंगाल्दैछ संसारले । नमस्कारको प्रयोग गर्न थालिसके हात मिलाउने र अंगालो मार्नेहरुले पनि । अदुवा, बेसार, गुर्जो, असुराको पात, तेजपत्ता, बोझो र तुलसीका पातको महत्व बुझ्दैछन् बल्ल ।

        आफ्नै घर आँगन, बार र बारीका कान्लाका जडिबूटी नचिनेर अलमल्ल परेकाहरुको दिमागको अँध्यारोपन हट्दैछ बल्ल र घैंटामा घाम लाग्दैछ झलमल्ल । पश्चिमी बुद्धिजीवीले भनेपछि जे पनि विज्ञान, आफ्नै पूर्खाले खोजेको प्रयोगसिद्ध पूर्वीय ज्ञानचाहिँ अज्ञान ठान्ने मूर्खहरुको ध्यान फेरिदैछ । अंग्रेजी व्यापारको प्रहारमा परेर विस्थापित योग र आयुर्वेदको पुनःस्थापनमा लागि परेको छ नेपाल सरकार पनि । कतिपय प्रदेशले योग र आयुर्वेदको स्वास्थ्योपचार विधिका लागि प्रोत्साहन गर्न थालेका छन् । स्वागतयोग्य कदम हो यो ।

योग र आयुर्वेदिक उपचार विधिलाई समयानुकूल परिस्कृत पार्ने काममा नियोजित रुपमा पछि पारिए पनि विश्व परिस्थितिले पुनःस्थापन गर्न बाध्य पारेको छ । एउटा रोग निदान गरेर अर्को थपिदिनाले घातक रह्यो पश्चिमी उपचार विधि । पूर्वीय उपचारप्रति पश्चिम आफै आकर्षित भयो । योग, ध्यान, प्राणयाम र आयुर्वेद औषधालयमा लाग्ने उनीहरुको भीडले त्यसैको पुष्टि गरेको छ । त्यसलाई थाम्ने किसिमले आधुनिक उपकरणको आविस्कार, प्रयोगशाला, परीक्षण र उत्पादनहरु बढाउँदै जाने काम हुदै छन् ।

        नेपालको सिंहदरबार बैद्यखानासहित भारतका बैद्यनाथ, डाबर र पतञ्जलि अग्रस्थानमै छन् । डेंगु निकोपार्ने औषधि बनाएको पतञ्जलि योगपीठ हरिद्वारले अहिले कोरोना भाइरस नियन्त्रण गर्ने औषधि उत्पादन र परीक्षण गरिसकेको बताएको छ । नेपालका आयुर्वेद औषधालय एवं योग, ध्यान, प्राणयाम केन्द्रले पनि त्यस्तै सफलता प्राप्त गरुन् । विश्व योग दिवसका अवसरमा यही शुभेच्छा । 

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६