सम्पादकीय

तरकारी धेरै खाउँ



‘ढुक्क हुनुस्, तरकारी र फलफूलबाट कोरोना सर्दैन’ 

डा. मतिना जोशी वैद्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक एवं खाद्यविज्ञ श्रोत:अनलाइन खबर ।

    तरकारीबाट कोरोना भाइरस सर्छ कि भन्ने डर भगाउँ अब । आवश्यक सावधानी अपनाएर, राम्ररी धोएर पखालेर, पकाएर हरिया तरकारी र मौसम अनुसारका फलफुल खाने बानी बढाउँ । किसानलाई सघाउँ । यसै पनि यो बेलामा अनार, केरा, मेवा, आँप, कटहर, लिची, बेल, जामुन, काँक्रा, तरबुजा, खरबुजा, फुट आदि सस्तैमा पाइन्छ । भारततिरबाट आयात रोक्ने हो र स्थानीय उत्पादनलाई महत्व दिने हो भने यहाँका किसानले प्राथमिकता पाउने छन् । आफ्ना उत्पादनले बजार पाएपछि खुशी हुनेछन्, सुखी पनि बन्ने छन् । जुन उत्पादन यता हुन्छ, सजिलै पाइन्छ, ती वस्तु भारततिरबाट नमगाउँ, रोकौं । जुन फलफुल र तरकारी यता पाइदैन, त्यो मात्रै ल्याउन दिउँ, झिकाउँ ।

    यताका किसानले उत्पादन गरेका तरकारी र फलफुलले बजार नपाउने, भारततिरबाट आयात् गरिएका फलफुल र तरकारीले नाफा कमाएर लैजाने चलन रोक्नै पर्छ अब । हाम्रा किसानलाई प्रोत्साहन गर्नका लागि पनि यो मौकामा भात, भूजा, दाल र रोटी खान घटाएर तरकारी र फलफुल अलि बढी खाउँ र स्वस्थ्य रहौं । मौसम अनुसार जुन तरकारी र फलफुल सस्तोमा पाइन्छ, त्यही किनेर खान सकिन्छ ।

    अनिकाल टर्छ, खाद्यान्न आयात् घट्छ र परनिर्भरपन पनि हट्छ । किसानले बजार पाइएन, विक्री भएन, भन्न पर्दैन । बोडी, घिरौला, लौका, साग, भिण्डी, तोरई, फर्सी, टमाटर, करेला, केरा, परवल, कुनरु, मुला, फर्सीका मुन्टा, कटहर, भाण्टा, खुर्सानी आदि तरकारी सस्तै छ अचेल । विगत केही वर्ष यतादेखि बेसिजनमा पनि तरकारी उत्पादन गर्ने र गराउने काम सुरु गरिएपछि किसानहरुले जमिनको सदुपयोग गरेका छन् । पोखरीमा माछा र खोरमा कुखुरा पालेर आत्मनिर्भर हुन थालेका छन् । लक्डाउन्(बन्दाबन्दी)ले कुखुरा पालन र अण्डा उत्पादन व्यवसायलाई धक्का दिएको छ । तिनीहरुलाई पनि सघाउँ । कुखुराको मासु, माछा र अण्डा पनि राम्ररी पकाएर खाँदा हुन्छ । कुखुरा, अण्डा र तरकारी उत्पादक किसानले उत्पादन गरेका वस्तुले बजार नपाएर खाल्टामा पुर्ने र खेतैमा सुक्ने अवस्थाले अर्को वर्ष अर्कैतिर भगाउनु हो । त्यसो नगरौं, किनेर खाएर सघाउँ । 

    कोरोना भाइरसको डरले घर गरेपछि धेरैतिर सतर्क हुन सिकायो । विस्तारै भाग्दैछ, पाखा लाग्दैछ त्यो डर पनि । सहज वातावरण बन्ला केही समयपछि । नआउञ्जेल डराउने र आइसकेपछि बानी पारेर संगसंगै सावधानी अपनाएर बाँच्न बाध्य गराउदा रहेछन् डरलाग्दा महामारीले पनि । डेंगु, क्यान्सर, क्षय(टीबी), हैजा, कालाज्वर र एच्आइभीजस्ता रोग पनि यस्तै डरलाग्दा थिए पहिले । धेरैलाई पचिसके अहिले । औषधि पत्ता लागेर पनि होला । कोरोनाजस्तो महामारीको खोप पनि बन्ला । त्यसपछि यति धेरै डराउन नपर्ला । बाहिर ननिस्केर, घरभित्रै बसेर कुर्नुको विकल्प छैन । कसैलाई गाली गरेर र कसैका पक्षमा ताली बजाएर पनि कोरोना किनारा लाग्दैन ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६