भारतले बनाएका बाँध नै कपिलवस्तुको जोखीमका मुख्य कारक : प्रजिअ पाण्डे

232

विपदको पुर्व तयारी के छ ,पालिका सँगको सहकार्य कस्तो छ , जिल्लाको कुन कुन स्थानमा बढि जोखिम छ , समितिले गर्ने काम के हो ? लगायतका विषयमा  विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेसँग वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेले गर्नु भएको कुराकानीको प्रेसपाटीमा साभार । 

 दैवी प्रकोप तथा विपद व्यवस्थापन  समितिले गर्ने मुख्य काम के हो ?

विपद  जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले गर्ने कामहरु उल्लेख छ । सो अनुसार नै जिल्लामा विपद् व्यवस्थापन समितिले काम गरिरहेको हुन्छ । सोहि अनुसार  परिषद्, कार्यकारी समिति तथा प्रदेश समितिबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सहयोग गर्ने, गराउने,    जिल्लाको विपद् प्रतिकार्य योजना तयार गरी लागू गर्ने, गराउने गरिन्छ ।

जिल्लास्तरमा रहेका आपत्कालीन कार्यसञ्चालन केन्द्रको सञ्चालन गर्ने, उपलब्ध स्रोतको उच्चतम प्रयोग तथा प्रवाह गरी विपद् प्रभावित क्षेत्रमा खोजी तथा उद्धार गरिन्छ । नेपाल सरकारबाट स्वीकृत मापदण्ड अनुसार राहत वितरण गर्ने, गराउने तथा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयलाई सोही अनुसार राहत वितरण गर्न लगाउने ,विपद् प्रभावित क्षेत्रमा आवश्यकता अनुसार यातायात तथा मानिसको आवत जावतमा नियन्त्रण गर्ने गरिन्छ ।

विपद्का कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाउने वा हटाउन लगाउने ,विपद्को समयमा मृत्यु भएका मानिसको शव तथा जनावरको व्यवस्थापन गर्ने, गराउने, आपत्कालीन अवस्थामा विपद् प्रभावित व्यक्तिहरुको लागि आश्रय गृहको व्यवस्था गरिन्छ । विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी सुरक्षा निकायलाई दुरुस्त राख्न लगाउने,विपद् प्रभावित क्षेत्रमा खानेपानी, खाद्यान्न, लत्ताकपडा तथा औषधी उपचार जस्ता अत्यावश्यक वस्तुको प्रबन्ध गर्ने गरिन्छ ।

विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने अस्थायी भौतिक संरचनाहरूको निर्माण गर्न लगाउने, विपद्को अवस्थामा स्थानीयस्तरमा उपलब्ध सरकारी, गैरसरकारी एवं निजी यातायातका साधन, यन्त्र, सरसामान, खाद्य सामान आदि कानून बमोजिम नियन्त्रणमा लिई प्रयोग गर्ने वा गर्न लगाउने,विपद्को जोखिममा रहेका वा विपद् प्रभावित क्षेत्रमा रहेका असुरक्षित भवनहरु भत्काउन लगाउने, असुरक्षित भवन तथा स्थानमा रहेका विपद् प्रभावित व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम हुन्छ । विपद् प्रभावित क्षेत्रमा स्वयंसेवक, विशेषज्ञ तथा परामर्शदातालाई परिचालन गर्ने र सोको सुपरीवेक्षण गर्ने, राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट गरिने उद्दार तथा राहत एवं सहयोग आदि क्रियाकलापको समन्वय गर्ने काम हुन्छ । 

विपद्को पुर्व तयारी के कसरी गरिएको छ ?

विपद् पूर्वतयारीका लागि विभिन्न क्लष्टरहरुको बैठक तथा सरकारी गैरसरकारी सरोकारवाला निकाय, नेपाल रेडक्रस सोसाइटी, युएनफपीए, नेपाल पत्रकार महासंघ जिल्ला शाखा लगायतको सहभागिता र सहयोगमा तयार गरिएको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना र मनसुन पूर्वतयारी तथा प्रतिकार्ययोजना जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । सबै स्थानीय तहहरुले पनि पूर्वतयारीका लागि योजना बनाउने र बजेट विनियोजन गरेको छ । 

हाल सम्म  के कस्ता  निर्णय भएका छन् ?

आ व ०७७/८८ मा जम्मा ७ पटक बैठक बसेको  छ । बैठकमा विशेष गरी राहत उपलब्ध गराउने सम्बन्धी निर्णय गरिएको थियो । उपलब्ध गराइएको रकमको खर्च समर्थन गरि पुर्व तयारीका योजना निर्माण तथा स्वीकृत गरिएको  छ ।पूर्वतयारी स्वरुप आगलागी हुनबाट जोगिन तथा कोभिड १९ को महामारीबाट बच्न सन्देशमूलक कार्यक्रम गर्न सरोकारवालालाई निर्देशन दिनुका साथै  विपद्का कारणले खोलामा नदी नियन्त्रण वा तत्काल गर्नुपर्ने कामका सम्बन्धमा पालिकालाई स्वीकृत दिइएको छ । 

निर्णय कार्यान्वयन भए वा भएनन्?

समितिले गरेका निर्णयहरु कार्यान्वयन भएको छ । यि कामहरु  निरन्तर रुपमा हुने गर्दछन । 

बर्षातको  जोखिमा सबै भन्दा बढी रहेको पालिका कुन हो  ?

बर्षातको   समयमा हरेक ठाउँ जोखिम रहन सक्दछ । कपिलवस्तु जिल्लाका बाढी आउन सक्ने सम्भावित स्थानहरुलाई विशेष ध्यान पुर्याइने गरिन्छ  । वर्षात्को समयमा बाणगंगा न.पा. ७, ८ र ९कोईली खोला र  बाणगंगा नदी  ,महाराजगंज नपा.  ८ र १० नदी किनारका ,कपिलवस्तु न.पा. ३, ६, ९ र १२ ,बुद्धभूमि न.पा. १०  ,यशोधरा गा.पा. ८ का स्थानमा  जोखिम हुने गरेको छ । त्यस्तै शिवराज न.पा. ९ सुरही खोला  , विजयनगर गा.पा. ५ र ७ चिराई खोला,कृष्णनगर २ सुरई खोला  रहेको छ । सीमा क्षेत्रमा रहेका महली सागर बाँध, बजाँह सागर बाँध, सिसवा सागर, मर्थी सागर बाँधहरुका कारण सीमावर्ती भेगमा खेतहरु डुवानमा पर्न सक्दछन् । जोखिम रहेका ठाउँहरुको सुरक्षा निकायहरु र स्थानीय बासिन्दाहरु मार्फत जानकारी लिने गरिएको । विपद्जन्य घटना भएमा तत्कालै खोज तथा उद्दार टोली परिचालन गर्ने गरी स्ट्याण्डवाइ राखिएको  छ ।  वर्षाद्को जोखिमबाट बच्न स्थानीय समुदाय पनि सदैव सतर्क रहनु पर्ने हुन्छ ।

पालिका सँगको समन्वय कस्तो छ ?

पालिकाहरु सँग  निरन्तर रुपमा समन्वय हुने गरेको  छ ।  परिस्थिती अनुसार  छलफल पनि हुने गर्छ । 

विपद व्यवस्थापनका लागि गत वर्ष  र हालको बजेट  कति रहेको छ ?

जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन कोषमा प्रकोप पीडितका लागि तत्काल राहत दिनका लागि गृह मन्त्रालयबाट रकम प्राप्त हुने गर्दछ । तोकिएको मापदण्ड अनुसार राहत वितरण गरिन्छ । जस्तैः विपद्का घटना बाढी, पहिरो, आगलागी, चट्याङका कारणले मृत्यु भएका घर पूर्ण क्षति भएकालाई तत्काल राहत स्वरुप रकम वितरण गरिन्छ । प्रदेश सरकारबाट पनि केही प्रकोपका घटनाहरु जस्तैः सर्पदंश, आगलागीबाट भएको क्षतिका लागि तोकेर रकम पठाएकोमा जिल्ला प्रशसन कार्यालय मार्फत राहत रकम वितरण गरिन्छ । 

पूर्व तयारीका लागि यस कोषबाट खर्च गरिदैंन । स्थानीय तहहरुले भने आफ्नो कोषबाट पूर्व तयारीमा खर्च गर्न उपयुक्त नै हुन्छ । पालिकाहरुले पनि तत्काल राहत स्वरुप रकम उपलब्ध गराउने गर्दछन । जिल्ला विपद् व्यवस्थापन कोषमा आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षको बचतबाट समेत गरी ४५ लाख रकम रहेको छ ।  आ व २०७६/७७ मा अघिल्लो वर्षको बचतबाट समेत गरी ११ लाख ६९ हजार रकम रहेको । हाल ३० लाख ६७ हजार मौज्दात रहेको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार