चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको आरोप

157

प्यूठान १६ फागुन । प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसारा निवासी २४ वर्षीया अनिशा एमसीको गएराती मृत्यु भएको प्यूठान अस्पतालले जनाएको छ ।उपचारका लागि बुटवल लैजाने क्रममा गएराती बाटोमै मृत्यु भएको अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिनुभयो । बिहिबार प्यूठान अस्पतालमा अनिशाको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार पुनः शल्यक्रिया गरिएको पार्धेले जानकारी दिनुभयो ।उहाँका अनुसार शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बुटवल रिफर गरिएको र दाङको भालुवाङमा पुग्दा मृत्यु भएको खबर आएको हो । 

    जन्मिएको शिशु छोरा भने सकुशल छन् ।मृतकका आफन्तले चिकित्सकको लापरवाहीले गर्दा घटना भएको बताएका छन् । मृतकका श्रीमान सुदन थापाले शल्यक्रियापछि समस्या देखिएसँगै जिल्ला बाहिर लैजान खोज्दा चिकित्सकले केही हुँदैन भनेको प्रतिक्रिया दिनुभएको छ । उहाँले अन्तिम समयमा बुटवल रिफर गरिदिएको बताउनुभयो ।मृतकको शव अस्पतालमा राखिएको छ । अस्पताल परिसरमा मानिसहरुको भीड जम्मा भएको छ । घटनाबारे प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायलाई जानकारी दिइसकेको निमित्त प्रमुख पार्धेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार