लक्ष्मणरेखा भित्रका शक्तिशाली महिलाका कुरा

56

सुरुमा एउटी छोरी,एउटी बुहारी अनि एउटी श्रीमती हुँदै एउटी आमा, थरिथरिको भूमिका भएको व्यक्ति हो महिला। कहिले घरकी लक्ष्मी,कहिले श्रीमानको असल सहयात्री, कहिले बालबच्चाको प्रथम पाठशाला अनि कहिले तिनकै असल अविभावकका रूपमा आफ्नो गतिलो पहिचान बनाउन सफल व्यक्ति पनि हो त्यही महिला।एउटी महिलाको दैनिकि नियाल्ने हो भने उसको भूमिकाको विषयमा कुनै अर्को बनावटी चरित्र चित्रण गर्नु पर्दैन। उनी सबेरै उठ्छिन् त्यसपछि क्रमश स् घरको सरसफाइ, परिवारको लागि चियारतातोपानी, बालबच्चा र सिंगो परिवारकै लागि खाजार नास्ता यत्ति गर्दा धन्दापात भ्याई नभ्याई हुँदै खानपिनको बन्दोबस्त, बालबच्चाको स्कुल फेरि धन्दापात, यति गर्दा पनि समयले पर्खे त हुन्थ्यो नि, मध्याह्‍न भइसकेको हुन्छ।

परिवारका सबै सदस्यका लुगाफाटो धुने, बस्तुभाउको हेरचाह, घाँस दाउरा, खेतीबारीको काम फेरि बेलुकाको खानाको तयारी यी सबै कामका लागि सुहाउँदी महिला त हुन् नि। सम्पुर्ण घरायसी कामहरू आफ्नो नियमित काम ठान्दै सबै भन्दा उत्कृष्ट ड्युउटीफुल हुन चाहन्छिन् एउटी महिला।बालबच्चाका लागि असल प्रशिक्षक, श्रीमानका लागि असल सहयात्री,सासू ससुराका लागि आज्ञाकारी बुहारी अनि समाजका लागि संस्कारी महिला हुनुपर्छ भन्ने मान्यता राख्छिन् एउटी महिला। एउटा परिवार सफल हुन महिलाको भूमिकामा भरपर्छ भन्ने कुरामा सायद दुईमत नहोला।

        स्वच्छता, सहनशिलता, लगनशिलता र पारदर्शिताका हिसाबले पनि महिलालाई हाम्रो समाजले अलि धेरै नै विश्वास गर्ने गरेको छ। तथापि, तोकिएको लक्ष्मणरेखा भन्दा किन्चित बाहिर निस्किन चाहन्नन् एउटी महिला।  परापूर्व कालदेखि लिंगका आधारमा बाँडफाँट गरिएको जिम्मेवारी नै आफ्नो गहना र निजी पेवा ठान्दछिन् उनी।सारा परिवर्तनका ऐतिहासिक कालखण्डले निक्कै परसम्म फड्को मार्छन्, कानुन नियमहरू समता र समानतालाई जोड दिँदै तयार हुन्छन्। तर महिला भने जहाँको त्यहीँ।सदियौँदेखि उनी एउटा गतिलो संस्कारको झोलीभित्र छिन्। त्यही संस्कार अन्तर्गतको सामाजिक मूल्य मान्यताको निगारानीमा छिन्। त्यही घेराभित्र बस्छिन्, तिनै कुरा सिक्छिन्, व्‍यवहारमा लागू गर्छिन्, जे सिक्छिन् त्यही सिकाउछिन्, जे ग्रहण गर्छिन् त्यही नयाँ पुस्तालाई हस्तान्तरण पनि गर्छिन्।

       पुस्तौं बित्छ तिनै कुराहरू पुस्तान्तरण हुँदै जान्छ। जाति ,धर्म , संस्कार र संस्कृतिको खुब हिफाजत पनि उनैले गर्छिन्। अरू सबैलाई खान दिएर बचेको मात्र आफू खान्छिन्। सकेसम्म बाहिर ननिस्कौं। अरूको घरमा खाना नखाऊँ। आफ्नै जातसँग छोरीको विवाह गरौं। जातको र कुल घरानको बुहारी ल्याऊँ भन्छिन्। अनि बुहारीलाई पनि यस्तै यस्तै कुराहरू सिकाउँछिन्।

      त्यति मात्र कहाँ हो ररु पाल्न सक्ने खालको ज्वाइँ छानेर छोरीको विवाह गरिदिन महत्वपुर्ण भूमिका पनि निभाउँछिन्। तर, आफ्नो छोरीले पनि परिवार पाल्ने सक्ने हैसियत र सामर्थ्य राख्ने कुरामा बेखबर हुन्छिन्।यस्तै-यस्तै कुरामा मात्र थाहै नपाई आधा आकाश त के पूरै ब्रह्माण्ड नै आफ्नो पकडमा पार्न सफल हुन्छिन्। किताबहरू किन्ने ज्ञान अरूलाई दिने, गहनाहरू आफू राख्ने सुन्दरता अरूलाई दिने, सुख आफू रोज्ने आनन्द अरूलाई दिने र औषधि आफू लिने स्वास्थ्य अरूलाई दिने अनि, अनि ओछ्यान आफू लिने निद पनि अरूलाई नै दिने गर्छिन्  एउटी महिला।

        आधा निद्रा र आधा पेटमा हजारौं रात अनि दिनहरू गुजारेर आफ्ना बालबच्चा हुर्काउँछिन्। समय बित्दै जाँदा आफू चाँहि गलहत्तिएर वृद्धाश्रमसम्म पुग्न नि बेर लाउँदिनन्। आफू तिरस्कृत भए पनि हमेसा सन्तानको भलो चाहन्छिन् एउटी महिला। संसार हेर्ने आँट कहिल्यै गर्दिनन्। रहर गर्छिन् तर कुनामा बसेर चियाउँछिन् मात्र।त्यो अँध्यारो कुनाबाट संसार कहाँ देखिन्छ र हेर्नका लागि त बाहिर खुल्ला ठाउँमा आउनु पयो नि। यसरी एउटी महिलाको यथार्थले अधिकांश महिलाहरूको प्रतिनिधित्व गर्छ, गरिरहेको छ अझै पनि।

 थोरै महिलाले मात्र महिलाहरूको वास्तविकता बुझेको छ। किनभने उसले कुनै पनि कुरा बुझ्ने समय र अवसर पाएको छैन। महिलाहरूले आफ्नो पूरा समय घरमा खर्चिंदै आए। फलस्वरुप उनीहरूको चेतना, क्षमता, कार्यदक्षता पनि त्यही वरिपरि घुमिरह्यो। नेपालको कुल जनसंख्याको आधाभन्दा धेरै संख्या महिलाहरूको छ। फेरि यो होइन कि ती सबै महिलाहरू एउटै दर्जाका छन्।महिलाहरू ठूला-ठूला परिवर्तनका संवाहक पनि बन्दै आएका छन्। नेपालमा भएका विभिन्न चरणका सामाजिक आन्दोलन, हरेक राजनीतिक परिवर्तन, लोकतन्त्रको स्थापना, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि महिलाहरूले उल्लेखनीय भूमिका निभाउँदै आएका छन्।

       त्यति मात्र होइन इतिहास पल्टाएर हेर्न हो भने नेपाली महिलाहरूद्वारा समानता र महिला मुक्तिका लागि विभिन्न चरणमा ठूलाठूला संघर्षहरू भएको र रुपान्तरणका लागि महत्वपूर्ण गतिविधिहरू गर्दै आएको पाइन्छ।विसं १९७३ देखि १९९८ सम्म योगमाया न्यौपानेको नेतृत्वमा  उत्पीडनविरुद्व  सामाजिक परिचालन भएको पाइन्छ। सामाजिक न्यायका लागि राणा शासनको निरंकुशता विरुद्धको आन्दोलनमा योगमायालगायत उहाँका  ६८ जना अनुयायीहरू समेतले जलसमाधिसमेत गरेको तीतो इतिहास छँदैछ।

      २००४ देखि २०४६ सालसम्मको अवधिमा पनि नेपाली महिलाहरूमध्ये साहना, साधना, कनकलता, स्नेहलता लगायतका महिलाहरूले नागरिक अधिकारका लागि सामाजिक आर्थिक र राजनितिक समानताको माग राख्दै राजनीतिक चेतनासहितको प्रजातन्त्र प्राप्तिका लागि निक्कै लामो आन्दोलन गरे।त्यसैगरी, २०४६ देखि २०७२ सालसम्म राज्यको विभिन्न संवैधानिक तहमा रहेका नेपाली अग्रणी महिलाहरू, महिला मानव अधिकारकर्मी र सामाजिक महिला व्‍यक्तित्वहरूले अंश, वंश हिंसा, समावेशी, समानुपातिक सहभागितारविशेष गरेर लैंगिक समानतालाई जोड दिँदै परिवर्तनका लागि निक्कै लामो समय आन्दोलन गरेको देखिन्छ।

  फलस्वरूप महिला सशक्तीकरण, सहभागिता र समानताको पाटोमा निक्कै राम्रो उपलब्धि प्राप्त  भएको छ। नेपालमा वर्गीय, जातीय, भाषिक, धार्मिक, लैंगिक विभेदहरूको अन्त्य गर्दै आर्थिक समानता, समृद्वि र सामजिक न्यायको सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक समाजको निर्माण गर्ने संकल्पका साथ नेपालको संविधान जारी भएको छ।संविधानको धारा ३८ मा ६ वटा उपधाराले स्पष्ट रूपमा महिलाको हक अधिकारको विषयमा उल्लेख गरेको छ। कानुन राम्रो बनाउनु मात्र सबैथोक होइन र परिवर्तन वा रुपान्तरणको अन्तिम बिन्दु पनि होइन।

 विषेश: यसको कार्यन्वयनमा भर पर्छ।मूलभूत रुपमा सारा परिवर्तनका मुद्धाहरूलाई संस्थागत गराउनका लागि व्यवहारमा लागू गर्न र गराउन अपरिहार्य हुन्छ। जसले गर्दा महिलाहरूको अधिकारको सुनिश्चित हुन सकोस् र उनीहरूले आफ्नो अधिकार उपभोग गर्न पाउने वातावरण तयार होस्। यसका निमित्त स्वयं महिलाहरू नै लाग्नुपर्ने हुन्छ। आवश्यक्ता भएर मात्र पुग्दैन सम्बन्धित पक्षमा तत्परता हुन पनि जरुरी छ।जोसँग भोक छ उसैले खानुपर्छ। जहाँ अधिकारहरू लम्पसार परेर आएका छन् त्यहाँ कर्तव्यहरूले पनि तैनाथ हुनैपर्छ।

 अधिकारहरू पछ्याएर आइरहँदा कर्तव्य र जिम्मेवारी निदाएर बस्यो भने फेरि ज्यूँका त्यूँ हुन जान्छ। तसर्थ ती रूढीवादी परम्‍परा, कू–संस्कार साथै पितृसतात्मक सोचको डोरीले हजार फन्को बेरिएर लक्ष्मणरेखाभित्र रहेका  महिलाहरू पनि बाहिर आउन जरुरी छ।थोरै समयको व्यवस्थापनका लागि परिवारको सामिप्यतामा आँच नआउने गरी आफ्नो दैनिकी परिवर्तन गर्न आवश्यक छ। क्षमता विकास,व्यक्तित्व विकासका लागि केही समय खर्चिनुपर्ने हुन्छ। अर्को कुरा सशक्तीकरण अरूले गरिदिएर हुँदैन जो पछाडि परेको छ ऊ नै सशक्त हुनुपर्छ।  स्वयं लागि पनि पर्नुपर्ने हुन्छ।

      महिलाको सामाजिक, आर्थिक र राजनीतिक  अवस्था कमजोर भएकै कारणले परिवारदेखि समाज विकासका क्षेत्रमा महिलाको अति महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि राज्यको हरेक क्षेत्रमा महिलाको न्यून सहभागिता रहेको छ। नेपालको राष्ट्रपति महिला भयो भन्दैमा र तीन तहको सरकार गठन गर्दा त्यहाँ महिला सहभागिता ४० प्रतिशतसम्म पुग्यो भन्दैमा समान सहभागिता हुँदैन।समान हुनलाई त राज्यको अरू निकायमा पनि उत्तिकै सहभागिता हुन जरुरी छ। परिवार, समाज, विभिन्न संघ संस्था र राज्यको सबै निकाय, तह हरूमा समान सहभागिता हुनुपयो। यसका लागि योग्य र दक्ष हुन फेरि पनि सम्बन्धित पक्ष नै तत्पर हुनुपयो।घरको कुनामा बसेर टाढासम्म देखिँदैन संसार हेर्नलाई  बाहिर खुल्ला ठाउँमा आउनुपर्छ। आफ्नोलागि परिवारका लागि, समाजका लागि र राष्ट्रका लागि केही गर्नुपर्छ। अनि मात्र समृद्ध नेपाल सुखि नेपालीको नाराले सार्थकता पाउँछ।

स्रोत : थाहा खबर

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार