भैरहवा : ३ दिनदेखि आन्तरीक उडान ठप्प

136

भैरहवा २९ पुस । भैरहवा विमानास्थलवाट तीनदिन यता उडान हुन सकेको छैन । हुस्सुका कारण भैरहवाको गौतमबुद्ध विमानस्थलबाट आइतबार यता कुनै उडान हुन नसकेको हो। हुस्सु र कुहिरो लागी आँखाले देखिने दुरी (भिजिबिलिटी) कम हुँदा उडान हुन नसकेको हो। उडानको लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्दछ। मंगलबार दिउसो ८ सय मिटर भिजिबिलिटी मात्र रहेको गौतमबुद्ध विमानस्थलले जनाएको छ।

     भैरहवा काठमाण्डौ नियमित रुपमा दैनिक १२ उडान हुने गर्दछ। बुद्ध एयरको ७, यतीको ३, सौर्य र श्री एयरलाइन्सको एक एक उडान हुने गर्दछ। आकास नखुल्दा कुनै पनि उडान हुन नसकेको हो। उता काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान समेत प्रभावित भएको छ । विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो ।

     बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताए। उनका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । आज पनि ८८ उडान तालिका रहेको छ ।

     बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ । विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार