चिनवाट अव साप्ताहिक रूपमा खोप आपूर्ति हुने

195

काठमाडौं, १९ असार : सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोभिड–१९ विरुद्धको खोप खरिदका लागि सम्झौता गरेको छ । अब योसँगै अब साप्ताहिक रूपमा खोप आपूर्ति हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि सम्झौता भएको जनाएका हुन् ।

जारी विज्ञप्ति अनुसार खोप खरिदका लागि भएको सम्झौता बमोजिम असार २४ गतेबाट खोप आपूर्ति सुरु गरेर त्यसपछि साप्ताहिक रूपमा विभिन्न चरणमा खोप आपूर्ति गर्ने तयारी भएको छ । गाभी कोभ्याक्स फ्यासिलिटीबाट पनि छिट्टै खोप प्राप्त गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयले जानकारी दिएको छ ।

‘पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको राजधानी बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिकरुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने गरी व्यवस्था मिलाइएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार यही असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा प्रदान गरिँदैछ । हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने आजसम्म जनसंख्याको २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ प्रतिशत) ले दोस्रो मात्रा कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

यसअघि भने चीनले नेपाललाई दुई चरणमा गरेर १८ लाख खोप अनुदानमा दिइसकेको छ। जसअनुसार दोस्रो चरणमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइसकिएको छ

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार