पहिरोको कहर, एकै परिवारका ४ को खोसीयो बाँच्ने रहर

182

गुल्मी, १७ साउन   । गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरू वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

    शुक्रबार बेलुकी ५ बजेदेखि अविरल वर्षा भइरहेको कारण राति घर माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेकाले घर पुरिएको बताइएको छ । पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव निकाली सकिएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रिडी र प्रहरीचौकी जोहाङ्ग खैरेनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको थियो । राजु भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ । 

     यस्तै सोहि क्षेत्रका ८ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । बस्तीमाथिको पहाड र मोटरबाटो भएकाले पानी पर्दा पहिरो खस्ने डरले ८ घरका ३७ जनाले बस्ती छाडेका वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले बताउनु भयो । शुक्रवार दिनभर परेको अविरल वर्षाका कारण पहिरो गएको थियो । उनीहरुलाई खानेबस्ने व्यवस्था गाउँपालिकाले गरेको छ । (रासस)


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार