समाचारका शैली बदलौं

275

जीवन रोज्न सिकाउँ । मृत्युका खबर धेरै नविकाउँ । डर नबाँडौं । भर बाँडौं । सनसनी खबर नखोजौं, र नपस्कौं । आफु नझस्कौं र अरुलाई पनि नझस्काउँ । कोरोना लाग्दैमा मरिन्न । भाग्दैमा पनि बँच्न सकिन्न । सावधान रहे, सतर्कता अपनाए हुन्छ, बँचिन्छ । जस्ले टेर्दैनन्, अघिपछि हेर्दैनन्, कसैलाई गन्दैनन्, सुरक्षाका उपाय अपनाउँदैनन्, तिनीहरुले मात्र डराउन पर्छ । जो अनुशासित छन्, दूरी कायम राख्छन्, खान–पान, स्वास्थ्य र सरसफाइमा ध्यान दिन्छन्, त्यस्तालाई छुन्न । छोएछ भने पनि केही हुन्न । डराउन पर्दैन । खेत–बारी र घर–गोठका काम गर्दा हुन्छ । तपाइलाई खोज्दै कोरोना आएको हैन, छैन । कोरोना खोज्दै नगए आउँदैन पनि । कस्तो हुँदोरहेछ हँ ? एकपटक हेर्न पाए हुन्थ्यो भन्दै नबोलाउनुस् । साह्रै धेरै सटरपटर र लटरपटर गर्नु भयो भने आउन पनि सक्छ । आइहालेछ भने पनि नआत्तिनुस् । आत्मविश्वास जगाउनुस् र भगाउनुस् । मन दह्रो पार्नुस् र जितेर लघार्नुस् । कमजोरलाई त जस्ले पनि हेप्छ र चेप्छ नि ! हैन र ?

        गलत समाचार, सूचना र सन्देशको बाढी बगाउनाले सुरक्षित तरिकाले घरै बसेकालाई पनि डराउने बनाइयो । हल्लाले हका¥यो, झुटो खबरले डका¥यो र थचा¥यो । अनि गाउँमा कोरोना पस्यो भन्ने खबर सुन्दा वित्तिकै विद्यालयतिर लघा¥यो भ्रममा परेका जनतालाई । सुरक्षित गराउने नाममा असुरक्षित बनाइयो । भीड भड्काएर र तर्साएर । बनको बाघले खाएको हैन, मनको बाघले लखेटेको हो त्यसरी । बुद्धभूमि नगरपालिका – ४, कपिलवस्तुको बुड्ढीमा अस्ती जे भयो, दुःखद हो त्यो । त्यस्तो नहोस् अन्त । साँचो खबरबाट बेखबर हुँदाको परिणाम हो । सामाजिक सञ्जाल, निजी र आम सञ्चार माध्यमले संयमित र सन्तुलित खबर पस्केका भए हुन्थेन त्यस्तो ।

        जुन रेडियो र टेलिभिजन खोल्यो, हे¥यो र सुन्यो, उही कुरा दोहो¥याउँछ । अनलाइन पोर्ताल र पत्रपत्रिका पल्टाउँदा पनि फलाना देशमा यति संक्रमित बढे, उति मरे, त्यति निको भए भन्ने खबर मात्रै पढ्न पर्छ । औषधि पत्ता लागेको छैन । क्वारेन्टीनमा बस्नेलाई सुविधा दिइदैन । आइसोलेशन बेड बनेका छैनन् । अस्पतालमा जाँदा स्वास्थ्यकर्मीले हेर्दैनन् । उपचार गर्नेहरुमा पनि संक्रमण फैलेको छ । सुरक्षाकर्मी र सञ्चारकर्मी पनि सुरक्षित छैनन् । एम्बूलेन्सले विरामी बोक्दैनन् । यतै आपत्, उतै विपत् । यता तीर, उता भीर । दुःखद समाचारका झीर । बँच्ने उपाय छैन र सरकारले पनि हेर्दैन भन्दै मृत्युका खबर पस्कने गर्दा आत्मबल बढेन, बढाइएन ।

        निराश, उदास र हतास बनाइयो सवैलाई । त्यसरी चल्दैन अब । समाचार प्रकाशन र प्रसारणका शैली बदल्नै पर्छ । मृत्युका खबरका बदलामा जीवन जोगाउने उपायका अवसर पस्कन पर्छ । कोरोनासंग नतर्स र नझस्क भनेर सम्झाउन, बुझाउन र सिकाउन पर्छ । भय र त्रासको खेती बन्द गर्न र गराउन पर्छ । भर जगाउने, आश देखाउने र त्रास हटाउने काम गर्न पर्छ सञ्चार माध्मय र सामाजिक सञ्जालमा ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार