समग्र लुम्बिनीको दुर्त विकास सबै मिलेर गर्छौः ज्ञवाली

452

लुम्बिनी विकास कोषको कार्यकारिणी समितिको बैठकले विहारहरुको अध्ययन उपसमिति गठन गरेको छ उपसमितिले काम अन्तिम चरणमा पु¥याएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै लुम्बिनी विकास कोषले के गर्दैछ, गुरुयोजनाको काम कति बाँकी छ र कहिले सकिन्छ  लगायतका विषय वस्तुमा केन्द्रित रहेर लुम्बिनी विकास कोषका कार्यकारिणी समितिका सदस्य राजेश ज्ञवालीसँग सुवास पौडेलले गरेको कुराकानीको महत्वपूर्ण अंश ।

प्रेसपाटीः लुम्बिनी विकास कोषले गठन गरेको विहारहरुको अध्ययनको उद्देश्य 

लुम्बिनी विकास कोष गुरुयोजना अनुसार मध्यवर्ती क्षेत्र स्थित अन्तर्राष्ट्रिय विहार क्षेत्रमा विभिन्न बौद्ध देश तथा संघ संस्थाहरुले बुद्ध धर्मसँग सम्बन्धित विहार, गुम्बा, चैत्य ध्यान केन्द्र आदि निर्माण गरी आ–आफ्नो देशको संस्कृति झल्किने गरी निर्माण गर्नुपर्ने विहार क्षेत्र विनियमावलीमा उल्लेख छ । तर सम्झौता भएका मध्ये केही देश वा संघसंस्थाले सम्झौता अनुसार कार्य नगरेको, कतिपयले कार्य सुरु नै नगरेको र सुरु गरेकाहरुको पनि मापदण्ड अनुसार निर्माणहरु भएको नपाइएको भनी गुनासोहरु आएको हुँदा ती गुनासा र गुरुयोजना भित्र भएका निर्माण गतिविधिहरुको अध्ययन गर्नु पर्ने आवश्यकता महसुस गरी लुम्बिनी विकाष कोषको बोर्डको बैठकबाट यहाँ स्थित अन्तर्राष्ट्रिय विहार क्षेत्रहरुको अध्ययन गर्ने उद्देश्यले अध्ययन उपसमिति गठन गरिएको हो ।

प्रेसपाटीः लुम्बिनीको अहिलेको अवस्था कस्तो छ ?

लुम्बिनीको गुरुयोजनाकार वास्तुविद् केन्जो ताङ्गेले लुम्बिनी क्षेत्रभित्र एउटा गाउँको परिकल्पना गरेका थिए, जहाँ तीर्थयात्रीहरूले पूर्णतः बौद्ध वातावरण पाउन्, जुन अझै साकार भएको छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को गम्भीर असर लुम्बिनी क्षेत्रमा परेको छ । कोरोना भाइरसका कारण लुम्बिनीले धेरै क्षति बेहोर्नुप¥यो । कोरोना भाइरसकै कारण २५६४ औं बुद्ध जयन्ती सम्म भएन । लुम्बिनी क्षेत्रमा अहिलेसम्म भौतिक पूर्वाधार तर्फ ७० प्रतिशत मात्र काम भएको छ । कोरोना भाइरसका कारणले गुरुयोजनाका महत्वपूर्ण कामहरु पनि प्रभावित भए । आगामी दिनमा हामीले नयाँ ढंगले सोच्नु पर्ने अवस्था आएको छ । ४–५ महिना बिथोलिएको कामलाई पूरा गर्नुपर्ने  छ भने अझै कति विथोलिने हो त्यसको कुनै अनुमान गर्न सकिने अवस्था छैन । गुरुयोजना सुरु भएको ४० वर्ष भईसक्यो पूरा हुन सकेको छैन ती बाँकी कामलाई पनि छिटै सक्नुपर्ने छ । केन्द्रीय नहर, सूचना केन्द्र, ५ हजार अटाउने सभाहल लगायतका कार्य बाँकी छन् । 

प्रेसपाटीः लुम्बिनी गुरुयोजनाको काम कहाँ पुग्यो, गुरुयोजना सम्पन्न भएको आम नेपाली र विदेशिले कहिले देख्न पाउँछन  ?

अहिलेसम्म हामीले अनुमान गरेअनुसार गुरुयोजनाको ३० प्रतिशत काम बाँकी छ । लुम्बिीमा रहेका विहारहरुको अध्ययन गर्न कोषले मेरो संयोजकत्वमा उप समिति गठन गरेको छ हामीले त्यो काम अन्तिम चरणमा पु¥याएका छौं । उक्त प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई ज्यूलाई हस्तान्तरण गरिने छ । मलाई विश्वास छ केही समयमा त्यसको प्रतिफल आउने छ । प्रतिवेदनपछि  मन्त्रालयबाट आउने निर्देशनलाई हामीले सकेसम्म छिटो पूरा गर्ने छौं । अबको ३ वर्षभित्र हामीले गुरुयोजनाका बाँकी काम जसरी पनि पूरा गर्नुपर्छ । गुरुयोजना पूरा गर्न करिब ६ अर्ब जति रुपैयाँ लाग्ने देखिएको छ । आगामी वर्षको बजेटमा सरकारले १ अर्ब बजेट विनियोजन गरेको छ  । 

प्रेसपाटीः लुम्बिनी विकास कोष आगमी आर्थिक वर्षमा केमा केन्द्रित हुनेछ ?

हामी अहिले लुम्बिनी क्षेत्रको विकास सँगसँगै हस्तान्तरण भएका तर निर्माण नभएक प्लटहरुमा विहार निर्माणका कार्यमा बढी समय खर्चनेछौं । ४ दशकसम्म लुम्बिनीको संरचना नै पूरा नहुनु राम्रो कुरा हैन । सर्वप्रथम बुद्ध जन्म भूमि लुम्बिनीलाई हामीले  सून्दर र पवित्र स्थल बनाउनु पर्छ । कोरोनाका कारण लुम्बिनीमा पर्यटक आएका छैनन आउँदा लुम्बिनीमा निर्माणाधीन संरचना देखेर खिन्न हुने अवस्था चाडै अन्त्य गर्नुपर्छ । यसैका लागि लुम्बिनी विकास कोष दिनरात लागिरहेको छ । न्यू लुम्बिनी भिलेजमै प्रशासनिक  भवन बनाउन बाँकी छ । लुम्बिनी संग्राहालय लगायतका ६ वटा भवन बन्न बाँकी छन्, अडिटोरियम हल, टेलिकम्युनिकेशन, सडक निर्माण लगायतका काम बाँकी रहेका छन् ।

प्रेसपाटीः लुम्बिनीमा गुरुयोजना विपरीत पनि काम भए,  विहार निर्माणका लागि प्लट कब्जा गर्ने र निर्माण नगर्ने परिपाटी भयो यसमा कोष रमिते जस्तै बनेको देखियो नि !

लुम्बिनी गुरुयोजनाको सम्बन्धमा धेरै कुराहरु आएका छन् । वर्षौंदेखि भइरहेका कामहरु र अब हुने कामहरु पनि गुरुयोजनाअनुसार हुनुपर्छ र बन्नुपर्छ । दवाब र पहुँचका कारणले गुरुयोजनाभन्दा बाहिर पनि काम भएका छन् । त्यसतर्फ लुम्बिनी विकाष कोषले सममयै सोच्नु पर्छ । लुम्बिनीमा निर्माण भएका संरचना सहमतिकै आधारमा बनेका छन् । विहार क्षेत्रमा निश्चित मापदण्ड र नियम पालना गर्नेगरी नै हामीले जग्गा दिएका छौं । बेला बखत विदेशीहरुले बनाएका विहारहरुको विषयमा पनि कुरा उठ्ने गरेका छन् । कोषले समय समयमा अनुगमन गर्नुपर्ने थियो त्यो विविध कारणले हुन सकिरहेको छैन । हामी आगामी दिनमा नियमित अनुगमन गर्ने र नियमन गर्ने छौं । विहारहरुले पनि कतिपय काम राम्रा पनि गरेका छन् । त्यसको सराहना गर्नु पर्छ । केही कामहरुमा ढिलाई भएका छन्, ती कामहरु समयमै गर्न र सही ढंगले गर्नका लागि हामीले अनुगमन गर्नै पर्छ । विदेशी पर्यटकहरुलाई लुम्बिनी आउने वातावरण बनाउनका लागि विहारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हामीले बिर्सनु हुँदैन ।

प्रेसपाटीः विहार क्षेत्रलाई मन्दिरको रुपमा विकास गर्नुपर्नेमा होटेल जस्तै गरी व्यवसायिक बनाउन खोजियो भन्छन् नि व्यवसायीहरु ।

 विहारलाई होटल जस्तै गरी व्यवसायिक बनाउन खोजियो भन्ने  सन्दर्भमा हामीले यसको अनुगमन गर्छौं ।  विहारहरुलाई सही बाटोमा हिड्न र नियमहरु पालना गर्न हामीले झक्झक्याउने हो । कोषको नियम कानुन जोसुकै भएपनि पालना गर्नुपर्छ । धर्मकर्मको लागि बनाइएका विहारहरुलाई होटलको रुपमा प्रयोग गर्नु राम्रो हैन । तर पनि हामीले अहिले पर्यटकलाई सहज हुने वातावरण बनाइ दिनुपर्छ ।  खास गरी आलोचना मात्रै गर्ने काम नगर्ने परिपाटीले हामी बिग्रिएका छौं । विहार क्षेत्रहरुमा हाम्रै नेपालीहरु नै रोजगार पाएका छन् । 

प्रेसपाटीः कोषमा पदाधिकारी र कर्मचारीबीच कसैले कसैलाई टेर्दैनन्, भन्छन् नि ?

विगतमा कोषमा एउटाले अर्काको अस्तित्व नै नस्वीकार्ने प्रचलन थियो । लुम्बिनीसँग मेरो साइनो करिब १२–१३ वर्ष अघि देखिको हो  । विगतको मलाई थाहा भएन अहिले तालमेल मिलेको छ । समझदारी भएको छ । विगतमा राजनीतिक नियुक्तिबाट आएकाले पनि फरक फरक स्वभाव र विचारहरु आएका हुन् अहिले स्थानीय भएर पनि धेरै सहज भएको छ ।

प्रेसपाटीः कोषमा हुने राजनीतिक नियुक्तिका कारणले समग्र लुम्बिनीको विकासमा बाधा पुगेको हो ?

राजनीति गर्ने भन्दा पनि धर्म सेवा र बुद्धसँग सरोकार राख्ने व्यक्तिलाई लुम्बिनी पठाउनु पर्छ । राजनीतिक नियुक्ति हटाउनका लागि सरकारले नै ध्यान दिनुपर्ने हो त्यसको सुरुवात पछिल्लो चरणमा भएको छ । स्वच्छ छवि भएका मान्छेलाई लुम्बिनीको समग्र विकासका लागि केन्द्रबाट पठाइनु पर्दछ । मेरो नियुक्ति राजनीतिक भएपनि म लुम्बिनीमा राजनीति गर्न आएको होइन । म लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदह क्षेत्रको समग्र विकास गर्नुपर्छ भनेर सेवाभावले आएको हुँ । 

प्रेसपाटीः लुम्बिनीमा अन्य देशका विहारहरु निर्माण हुँदै गर्दा भारत सरकारको तर्फबाट विहार निर्माणमा प्रत्यक्ष सहभागिता देखिदैन नि ? 

भारत सरकारले विहार निर्माणको लागि मागेको खण्डमा लुम्बिनी क्षेत्रमा विहार निर्माणको लागि प्लट उपलब्ध गराउन लुम्बिनी विकास कोष तत्पर छ । अन्य देशका विहार गुम्बाहरु निर्माण हुँदै गर्दा छिमेकी राष्ट्र भारतले पनि लुम्बिनीम विहार निर्माण गर्दा त्यसले दुई राष्ट्रको मित्रता प्रगाण हुने छ ।

प्रेसपाटीः अन्त्यमा ?

विश्वसम्पदा सूचीमा सूचिकृत विश्वव्यापी महत्वको लुम्बिनी क्षेत्रमा यस क्षेत्रको गुरुयोजना र एकीकृत व्यवस्थापन संरचनालाई आधार लिई दीर्घकालीन दृष्टिले यसको पुरातात्विक एवं ऐतिहासिक पक्षलाई अक्षुण्ण राखी समन्वयात्मक र योजनावद्ध विकास विकासका लागि नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको योजनाको रुपमा संचालनमा ल्याएको हो । बुद्ध क्रिडाभूमि तिलौराकोटलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृतका लागि कोषको पहलमा कार्यहरु अघि बढेको छ । तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत भएसँगै कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको तीव्र गतिले विकास हुन्छ भन्ने मैले आशा र विश्वास लिएको छु ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार