नाफारहित संस्था सञ्चालन चुनौतीपूर्ण : सांसद कमाल

151

कपिलवस्तु २५ चैत ।संघीय सांसद अत्तहर कमाल मुसलमानले नेपालमा नाफारहित सामुदायिक संस्था सञ्चालन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । सांसद कमालले नाफारहित संस्थाहरुमा राज्यको चासो एवं लगानी कम हुने र समुदायको उपस्थिती पनि सशक्त नहुने हुँदा यस्ता संस्थाहरु सञ्चालनमा जटिलता आइरहेको बताउनु भयो । कपिलवस्तुको बाणगंगा स्थित सिद्धार्थ क्याम्पसको ११ औं क्याम्पस सभालाई सम्वोधन गर्दै कमालले यस्तो बताउनुभएको हो । शिक्षा क्षेत्रमा राज्यको लगानी क्रमश घट्दै गएको भन्दै उहाँले गुणस्तरीय शिक्षाको विकासमा राज्यको ध्यान नपुगेको आरोप लगाउनुभयो । कमालले राज्यको सोंच शिक्षा क्षेत्रको विकासमा नभइ भौतिक पूर्वाधारको विकासमा मात्र गइरहेको दावी गर्नुभयो । उहाँले शिक्षा क्षेत्रका समस्याहरु हल गर्न स्पष्ट नीति र दृष्टिकोण सहित अघि बढ्न पर्नेमा समेत जोड दिनुभयो ।

सभालाई सम्वोधन गर्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले स्थानीयको सकारात्मक सोंच र सहयोगको कारण क्याम्पस प्रगतिपथमा लम्कीरहेको बताउनु भयो । क्याम्पस सञ्चालक समिति सदस्य समेत रहनुभएकी घिमिरेले सरकारी तवरबाट क्याम्पसलाई सहयोग जुटाउन आफु अहोरात्र खटिरहेको बताउनु भयो । सांसद घिमिरेले क्याम्पसमा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्न अर्थ मन्त्रालयमा फाइल पेश गरी प्रकृया अघि बढाएको समेत बताउनुभयो । उहाँले क्याम्पसमा विविए लगाएत अन्य प्राविधिक विषयको सम्बन्धन लिनको लागि पनि आफु विश्वविद्यालयमा निरन्तर धाइरहेको बताउनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य बलराम अधिकारीले सबै सरोकारवाला व्यक्ति तथा निकायहरु एकतावद्ध भएर लाग्न सके क्याम्पसका विद्यमान चुनौती तथा समस्याहरु सहजै समाधान हुने तर्क गर्नुभयो । अधिकारीले समाज र राष्ट्रलाई उचित योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न तर्फ क्याम्पसको ध्यान जानुपर्ने समेत औल्याउनुभयो ।लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले जनप्रतिनिधि तथा समुदायको सामुहिक प्रयासबाट मात्र क्याम्पस सहि ढंगले अघि बढ्न सक्ने बताउदै आफु हरपल क्याम्पसलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो । शैक्षिक गुणस्तर र चुस्त व्यस्थापनबाट नै क्याम्पसको प्रगति हुने बताउदै उहाँले क्याम्पसले प्राप्त गरेको ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ (क्यू.ए.ए.)लाई निरन्तरता दिंदै अझ उन्नत बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले सिद्धार्थ क्याम्पस उच्च शिक्षाको क्षेत्रमा जिल्लाकै शैक्षिक धरोहरको रुपमा स्थापित भएको बताउनुभयो । उपमेयर अर्यालले क्याम्पसले स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्रदान गरेर शिक्षाको नाममा हुने पुँजी पलायनलाई रोक्न सफल भएको तर्क गर्नुभयो । उहाँले क्याम्पसको भौतिक पूर्वाधार विकास र शैक्षिक सुधारको लागि नगरपालिकाको सदैव साथ, सर्मथन र सहयोग रहने प्रतिवद्धता समेत जाहेर गर्नुभयो । 

कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष कृष्ण पौडेल, पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, नेकपा एमालेका जिल्ला नेता विष्णु गौतम, कांग्रेसका नेता दुर्गा सेन, जनमोर्चाका नेता छविलाल गैरे, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोकलराम घिमिरे, क्याम्पस सभा सदस्य मिन प्रसाद घिमिरे, स्ववियु सभापति शुशील खत्री लगाएतले क्याम्पसको प्रगतिको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।सभामा क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख खेमराज शर्माले प्रस्तुत गर्नभएको थियो भने सहायक क्याम्पस प्रमुख बेदराम अर्यालले क्याम्पसको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता, उपाध्यक्ष रवि बहादुर काफ्लेको स्वागत र सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।वि.सं. २०४८ सालमा समुदाय स्तरबाट स्थापित यो क्याम्पस सन २०२० मा विश्वविद्यालय अनुदान आयोगबाट ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ (क्यू.ए.ए.) प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो ।हाल त्रिभुवन विश्वविद्यालयका विविएस, विएड, विए, एमविएस र एमएड कार्यक्रम सञ्चालन गरिरहेको यस क्याम्पसले त्रिविकै ‘विविए कार्यक्रम’ सञ्चालन गर्न विश्वविद्यालयमा फाईल पेश गरी प्रकृया समेत अघि बढाएको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार