गहुँछर्ने बेलामा युरिया मल अभाव ,धान स्याहार्ने बेलामा पोके

167

कपिलवस्तु १५ कार्तिक ।मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन् । धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि यहाँका किसान थप चिन्तित बनेका हुन् । राजपुरका किसान धुव्र यादवले मल नपाएर गहुँ छर्न ढिलाइ भएको बताए । त्यस्तै शिजराज नगरपालिका खरेन्द्रपुरका तुल्सीराम यादवले मल नपाएर गहुँ छर्न नपाएको बताए । सम्बन्धित निकायले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको किसानको भनाइ छ ।

    कृषि कार्यालय तौलिहवाका वासुदेव पौडेलले जिल्लामा डिएपी र युरिया मलको अभाव रहेको स्वीकार गर्दै साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको बताए । कोरोना महामारीका कारण मल आउन ढिलाइ भएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मल पर्याप्त नभएकाले अहिले वितरण गर्न नसकिने र कृषि मन्त्रालयबाट खरिद भई आएमा वितरण गर्ने प्रक्रिया अघि बढाउने बताए ।

    यता लकडाउनका विच रोपाइँ गरेका कपिलवस्तुका किसानको धानबाली स्याहार्ने बेलामा पोके लगायतका रोग देखा परेको छ । मलखादको अभावमा  धान रोपेका किसानको धानबाली स्याहार्ने बेलामा पोके लगायतका रोग लागेकाले उत्पादनमा कमि आएको किसानले गुनासो गरेका छन् । लगातार जसो बर्षा भएपनि मलखाद अभाव हुँदा पोके लगायतका रोगले धान खेतमा कालैकालो देखिएको छ । कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टर रहेको कपिलवस्तुमा यसवर्ष ७२ हजारहेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषिज्ञान केन्द्रले जनाएको छ ।

     धानमा पोके लगायतका रोग लागेपनि उत्पादन भने गतवर्षको तुलनामा १० देखी १५ प्रतिशत बृद्धि हुने भएको कृषिका अधिकारीको दावी छ । कपिलवस्तुमा सावा मनसुली, कालानिमक, राधाचार, सावित्री, माला, फुलबृंन्जी लगायतका धान रोप्ने गर्दछन् । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार