नयाँगाउँमा बौद्ध विश्वविद्यालयकोे आंगिक क्याम्पस

158

रुपन्देही ६ मंसिर। लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलको नयाँगाउँमा आंगिक क्याम्पस स्थापना गर्ने भएको छ । असोजको अन्तिम साता सम्पन्न सिनेट बैठकबाट पारित भएको आंगिक क्याम्पस बुटवलमा राख्ने निर्णय कार्यान्वयनमा आउन लागेको हो । सिनेटले निर्णय गरेसंगै बौद्ध विश्वविद्यालयले बुटवलमा उपयुक्त स्थानको खोजी गरिरहेको थियो । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ र १३ स्थित नयाँगाउँ माध्यमिक विद्यालयको खाली रहेको जग्गामा आंगिक क्याम्पस बनाउन यसक्षेत्रबाटै प्रस्ताव गरिएको छ । 

    विश्वविद्यालयले जग्गा अवलोकन गर्दै पूर्वाधार बनाउन सकिने जनाएको छ । नयाँगाउँ माबिको अभिभावक भेलाले विश्वविद्यालयलाई जग्गा दिन सकिने निर्णयसहित छिट्टै पूर्वाधार बनाउन आग्रह समेत गरेको छ । विद्यालयमा भएको व्यवस्थापन समिति र अभिभावकको भेलाले सर्बसम्मत रुपमा विश्वविद्यालयलाई जग्गा दिने निर्णय गरेको हो । 

    व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले विश्वविद्यालयको संरचना आउनु नयाँगाउँ क्षेत्रकै लागि महत्वपूर्ण भएकाले जग्गा दिने सहमति भएको बताउनुभयो । ‘यो महत्वपूर्ण शैक्षिक योजना हो, यसमा सबै अभिभावकहरु सहमत हुनुहुन्छ, उहाँले भन्नुभयो । बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले १० विगाहा जमिनमा पूर्वाधार बनाउन सकिने बताउनुभयो ।

    विश्वविद्यालयले सोही बमोजिम नयाँगाउँ माबिसंग जग्गाका लागि औपचारिक पत्र लेखेको थियो । ‘विश्वविद्यालयको सिटि कलेज बनाउने विषयमा नयाँगाउँबासी नै उत्साहित हुनुभएको छ, हामीले डिपिआर बनाएर योजना कार्यान्वयनमा जानेछौं, उनले भने । यहाँका स्थानीय र जनप्रतिनिधिले नयाँगाउँमै विश्वविद्यालयको संरचना ल्याउन माग गरेपछि प्रक्रिया अघि बढाईएको उहाँले बताउनुभयो । हाल शिक्षा निर्देशनालय रहेको क्षेत्र वरीपरी विश्वविद्यालयका संरचना तयार हुनेछन् । रजिष्टार आचार्यका अनुसार प्रशासनिक भवन, शैक्षिक भवन, पुस्तकालय, प्रयोगशाला, परीक्षा नियन्त्रण कार्यालय, डीन कार्यालय, चमेना गृह, खेलमैदान लगायतका संरचना बनाइनेछ । 

    त्यसका लागि बुटवल नगरभित्र जग्गाको खोजी भइरहेको थियो । सिटी कलेजमा मानविकी संकाय पहिलो चरणमा सञ्चालनमा आउनेछ । क्रमश अन्य विषयहरु समेत पठनपाठन गरिने आचार्यले जानकारी दिनुभयो । यो डिन कार्यालयसहित स्थापना हुने विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस हो । नयाँगाउँ माविले सो जग्गामा रहेको अतिक्रमण हटाएर क्याम्पस सञ्चालन गर्ने योजना बनाएको थियो । केही पूर्वाधार समेत निर्माण भएको छ । तर आर्थिक स्रोत नभएपनि क्याम्पस सञ्चालन गर्ने योजना अलपत्र परेको प्राध्यानाध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिए । ‘अव विश्वविद्यालय नै आउने भएपछि विद्यालयको योजनाले मूर्त रुप पाउनेछ, उहाँले बताउनुभयो । 

    अभिभावक भेलामा बोल्दै नयाँगाउँ मावि व्यवस्थापन समितिका पूर्वअध्यक्ष डिल्लीप्रसाद शर्माले विश्वविद्यालय आउनु अत्यन्तै खुसीको खबर भएको बताउनुभयो । समुदायले क्याम्पस चलाउन अव कठिन हुने भएकाले सरकारी विश्वविद्यालय नै आउदा यो क्षेत्रको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । स्थानीय एवं बरिष्ठ पत्रकार डीआर घिमिरेले विश्वविद्यालय नयाँगाउँमा आउदा समग्र शैक्षिक क्षेत्रमै सकारात्मक प्रभाव पर्ने बताउनु भयो । उहाँले विश्वविद्यालयको संरचना बन्नु, कैयौ विषय पढाई हुनु चानचुने विषय होइन भन्दै उहाँले भन्नुभयो,–‘आगामी ५० वर्षको भविष्यलाई हेरेर विश्वविद्यालय निर्माणमा सबैले सहयोग गर्नुपर्छ । 

    भेलामा वडा नम्बर १२ का अध्यक्ष दुर्गाप्रसाद सुवेदी र वडा नम्बर १३ का अध्यक्ष नारायण पुनले विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनका लागि स्थानीय सरकारबाट सबै सहयोग हुने बताउनुभयो । बौद्ध विश्वविद्यालयले बुटवलबाहेक देवदह, रामग्रामर तिलौराकोटमा पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्दैछ । देवदहमा एक सय विगाहा क्षेत्रफलमा गुरुयोजना निर्माणको काम भइरहेको छ । रामग्राम र तिलौराकोटमा पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम एकैसाथ अघि बढाउने योजना रहेको छ । 

        डेढ दशकअघि स्थापना भएको विश्वविद्यालय सात वर्षअघि मात्रै लुम्बिनीमा पठनपाठनसहित आएको थियो । स्थानीय स्तरबाट पदाधिकारी चयन भएपछि विश्वविद्यालयले पछिल्लो पाच वर्षमा स्वरुप परिवर्तन गरेको हो । अहिले लुम्बिनीमा गुरुयोजना अनुरुपका सबै संरचना तयार भइसकेका छन् । बुटवल र देवदहमा एकाध वर्षभित्रै पूर्वाधार निर्माण सक्ने योजना बनाइएको छ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार