उडान खुल्ने मिति तोकेसँगै टिकट बुकिङ खुलाउने तयारीमा

143
Pissa Aata

काठमाडौं ३० भदौ । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी अब बुकिङ खुलाउने तयारीमा जुटेका छन् । त्यसअगाडि कम्पनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सरकारले अहिलेसम्म उडान खुला हुने गन्तब्यको सूची दिइसकेको छैन । ‘हामीलाई सूची आएपछि त्यसका आधारमा वायुसेवा कम्पनीलाई परमिट दिन्छौं,’ उनले भने ।उनका अनुसार पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने खुल्ने छैनन् ।

         ‘सम्भवतः एक तिहाई उडान मात्र पहिलो चरणमा खुल्नेछन्,’ उनी भन्छन्, ‘त्यही अनुसार वायुसेवा कम्पनीले उडान अनुमति पाउने छन् ।’यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । सोअनुसार पनि प्राधिकरणले पहिलो चरणमा साविकमा हुँदै आएको उडानको ३३ प्रतिशत मात्र अनुमति दिने गरी वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएको थियो ।तर, कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकासहित शहरहरुमा निषेधाज्ञा लागू भयो । त्यसपछि उडान समेत पर सरेको हो । पछिल्लो समय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय लिएको हो ।

            उता, कम्पनीहरु भने १ असोजबाट बुकिङ खुलाउने तयारीमा छन् । एक वायुसेवा सञ्चालकका अनुसार सरकारले त्यो दिनसम्म गन्तब्य नतोके सबै गन्तब्यका लागि टिकट बुकिङ खुल्नेछ ।किनकी लामो दूरीको यातायातका साधन देशव्यापी खोल्ने निर्णय गरेपछि जहाज समेत सबै गन्तब्यमा उड्ने उनको तर्क छ ।‘जब सार्वजनिक काठमाडौंबाट तराई जान र तराईबाट काठमाडौं आउन पाउँछ भने हवाई उडान रोक्नुको औचित्य हुँदैन,’ उनले भने । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिलो चरणमा तराईभन्दा पहाडी र हिमाली भेगका विमानस्थलबाट उडान थाल्ने योजना रहेको बताएका थिए ।

            नेपालमा १० चैत, रातको १२ बजेयता सार्वजनिक यातायात र आन्तरिक हवाई यातायात बन्द छन् । सोही दिनबाट बन्द भएको अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट सिमित गन्तब्यका लागि खुला भइसकेको छ ।अब सुरु हुने उडानमा भने स्वास्थ्य मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेपछि जहाज चढ्न पाइन्छ । यसमा ज्वरोसहित कोरोनाको लक्षण भएका बिरामीले जहाज चढ्न पाउने छैनन् ।सबै यात्रुलाई ज्वरो नाप लिएर मात्र जहाजमा जाने अनुमति हुनेछ । सबै यात्रुले जहाज चढ्नु अगाडी अब आफ्नो परिचय र यात्रा विवरण खुल्ने फारम भर्नुपर्छ । यात्राका दौरान मास्क अनिवार्य गरिएको छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार