संक्रमणदर ६ प्रतिशतमा झरेपछि बिद्यालय खोल्ने भयौं :उपमेयर अर्याल

570

कपिलवस्तु २७ भदौ । कपिलवस्तुका विभिन्न पालिकामा भएको समुदाय स्तरको परीक्षणमा कोरोना संक्रमणदर न्यून रुपमा पाइएपछि विद्यालय खोल्ने वाताबरण बनेकोछ । बाणगंगाका उपमेयर चक्रपाणी अर्यालका अनुसार बाणगंगामा पछिल्ला केहिदिनमा ८०० जनामा गरिएको परीक्षणमा ५.९ प्रतिशत संक्रमण फेला परेको हो । यो अवस्था न्यून जोखिमको अवस्था भएकाले सोमवारवाट विद्यालय खोल्न अनुमति दिइएको उहाले वताउनु भयो । 

यताजिल्लाका शिक्षकहरु कोभिडका लक्षण देखिने विरामी खोज्न समुदायमा पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले कोभिडको तेस्रो लहरबाट जोगाइ विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न समुदायसँग पुगेको हो । हरेक विद्यालयले आफ्नो सेवा क्षेत्रका घरदैलोमा पुगेर तथ्यांक लिने कार्य अन्तिममा पुराएकाछन् । शिक्षक शिक्षिकाको सहयोग लिई घरमुली र परिवारका सदस्यको रेकर्ड लिने, ज्वरो आएको, रुघा खोकी अवस्था बुझेर शंकास्पद व्यक्तिको विवरण स्वास्थ्य चौकीमा दिनेगरी काम सञ्चालनमा आएको छ ।

शंकास्पद व्यक्तिको स्वास्थ्य चौकीले एन्टीजिन विधिबाट कोरोनाको परीक्षण गर्ने व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताउनु भयो । कोभिडसँगै विद्यालयमा कक्षा संचालन गर्न चुनौती भइरहेको बेला जिल्लामा पढाइ संचालन गर्न नमूना अभ्यास सुरु भएको उहाको दाबी छ । शैक्षिक सत्र सुरु अगावै बन्द भएको पठनपाठन सञ्चालनका लागि यसले मार्ग निर्देशन गर्नसक्ने र जोखिमसमेत कम हुने बताइएको छ ।

हाल सम्म बाणगंगा नगरपालिका  ,बुद्धभूमी नगरपालिका, विजयनगर गाउँपालिका, शिवराज नगरपालिकाका शिक्षक समुदायमा पुगेर तथ्यांक संकलन गर्ने काम सुरु गरेका छन् । बाणगंगा नगरपालिकाको सङ्कलन सम्पन्न पछि समुदायमा पुगेका शिक्षकको एन्टीजिन परीक्षण गर्दा  शिक्षक तर्फ १२ जनामा संक्रमण देखिए पनि लक्षण नभेटिएको शिक्षा शाखा अधिकृत  खिम बहादुर जिसीले बताउनु भयो । अभियानको रुपमा सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयले १० पालिकालाई अभिमुखीकरण कार्यक्रम संचालन गरेको थियो । ति मध्ये महाराजगन्ज नगरपालिका र कृष्णनगर नगरपालिकाले छलफलमा उपस्थीत नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनु भयो ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार