स्थायी राजधानी क्षेत्रमा कपाली कागजमा धमाधम जग्गा कारोवार

385

देउखुरी २४ असोज  लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बनाउने प्रदेश सभाले निर्णयसंगै देउखुरी क्षेत्रमा आन्तरिक रुपमा जग्गाको कारोबार बढ्न थालेको छ । राजधानीको नाममा जग्गाको अस्वभाविक कारोबार हुने ठानेपछि सरकारले जग्गाको कित्ताकाट रोक्का गरेपनि घुमाउरो पाराबाट जग्गाको कारोबार भइरहेको छ । अहिले राजधानीको केन्द्र भनिएका क्षेत्र सहितका आसपासमा जग्गाको कारोवार रोकिएपनि कपाली कागज वनाएर बैना बुझाएर जग्गा रोक्ने काम भइरहेको स्थानीय बताउँछन । सरकारले जग्गा कारोवार गर्न रोक लगाएको अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८,९ राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको वडा नम्बर १,२,३ जग्गा बढी केन्द्रित भएको पाइएको छ । 



    सरकारले जग्गा कारोबार गर्न रोक लगाएको हुँदा जग्गा कारोबारको सरकारी रेकर्डमा नभेटिएपनि घरघर पुगेर आपसी सझदारीमा सामान्य कागजकै आधारमा जग्गा किनबेच भइरहेको हो । अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ८ लाहापेका स्थानीय विरवहादुर दर्लामीले राजधानी घोषणा हुनु दुइदिन पहिलेबाट अहिले सम्म दैनिक मानसिहरु हुलका हुल जग्गा खोज्दै हिंडेको बताउनुभयो । साना गाडी लिएर मानसिहरु हुलका हुल आउन थालेका छैन, मैले मेरो जग्गा बिक्री गरेको छैन, छिमेकीले सामान्य कागज वनाएर महङगो पारेर बिक्री गरेका छन् उहाँले भन्नुभयो । 

    सातमारा, लाहापे क्षेत्रमा प्रति रोपनी पाँचलाख सम्म बिक्री भएका जग्गा अहिले प्रति रोपनी १५ देखि २० लाख भन्दा माथी कारोबार भइरहेको स्थानीयहरु बताउँछन । राप्ती गाउँपालिका क्षेत्रका भीत्री खेतमा सम्म जग्ग कारोबारीको दौडधुप चलिरहेको छ । दाङ सहित बुटवल, रोल्पा, काठमाण्डौ र छिमेकी जिल्लबाट जग्गा कारोबारीले बैना बुझाउँदै कागज वनाउँदै कारोवार गररहेको पाइएको छ । जग्गा बिक्री गर्ने र खरिद गर्नेले यस विषयमा बोल्न नचाहेपनि राप्ती गाउँपालिकामा प्रवेस गर्दा वित्तिकै छ्याछयाप्ती देखिने साना सवारी साधन र नयाँ मानिसको जमघटले जग्गाको कारोवार आन्तरिक रुपमा चलिरहेको पाउन सकिन्छ । 

    राप्ती गाउँपालिकाले सूचना जारी गरी राजधानी देउखुरी टुङगो लागिसकेको अवस्थामा जग्गाको कारोबार रोक्का गरिएको जनाएको छ । लुपी छिपी आन्तरिक रुपमा गरिएको जग्गाको कारोबारले भविष्यमा पर्ने असरको हेक्का राख्न आग्रह समेत सूचनामा गरिएको छ । दाङ देउखुरी क्षेत्रका प्रदेश सभासदहरुले जग्गाको आन्तरिक कारोबारलाई रोक्न स्थानीय पालिकालाई पटक पटक आग्रह गर्दै आएका छन् । साँसद इन्द्रजित थारुले राजधानीको लागि आवश्यक भौतिक पुर्वाधार विस्तृत गुरुयोजना वनाएर वनाइने हुँदा अहिले जग्गाको अव्यवस्थित कारोवारले समस्या निम्ताउने हंदा जग्गाको कारोवार रोक्न आग्रह गर्नुभयो ।