झडपमा घाइते चार प्रहरीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

30

बुटवल, २५ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा आइतबार भएको झडपमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख किरिया खर्च दिने भएको छ ।

आइतबार औधागिक ग्राम कब्जा गर्न खोज्ने सुकुम्बासीले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि हिंसा भड्किएको थियो । त्यसक्रममा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको थियो । मृतकका परिवारलाई जनही १–१ लाख दिने निर्णय गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।

सोमबार बिहान प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद् लगायतको बैठकले सो निर्णय गरेको हो । ‘मोतीपुर घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १–१ लाख दिने निर्णय भएको छ’, विकले भने, ‘सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अध्ययन गरी सुझाव दिन कार्यदल पनि गठन भएको छ ।’

‘लुम्बिनी प्रदेश सरकारले वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न तयार रहेको जनाएको छ’, मुख्यमन्त्री केसीका प्रेस सल्लाहकार विकले भने, ‘वास्तविक सुकुम्वासीको समस्या समाधान गर्न प्रदेश सरकारले अध्ययन गरिरहेको छ, दुई सय घर परिवार अहिलेसम्म सुकुम्वासीकै रुपमा रहेको भेटिएको छ।’

अहिले विवाद भएको ठाउँ प्रदेशले नचलाएको बताउँदै उनले औद्योगिक ग्राम नै हडप्न आएपछि प्रहरीले सुरक्षाको लागि गोली चलाएको ब्रिफिङ भएको उल्लेख गरे । आगामी दिन सो स्थानमा घटनामा थप क्षति हुन नदिन प्रहरी संवेदनशील हुने, घाइतेहरुको प्रदेश सरकारले उपचार गर्ने र सुकुम्बासीको पहिचानका लागि छिटो कार्य अघि बढाउने बैठकले निर्णय गरेको छ ।
झडपमा घाइते चार प्रहरीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो
मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा गम्भीर घाइते चार जना प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुलाई एअर डाइनास्टीको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो । उनीहरुको एपीएफ अस्पताल काठमाडौंमा उपचार हुनेछ ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान ज्ञयराज पुन मगर तथा सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलबस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौं पठाइएको हो ।

झडपमा परी नेपाल प्रहरीका नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा गम्भीर घाइते ७ जना प्रहरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत रहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए । घाइते भएका अन्य प्रहरी भने उपचार पछि डिस्चार्ज भएका छन् । सशस्त्र प्रहरीमध्ये काठमाडौं रिफर गरिएका दुई जनावाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएका छन् । झडपमा परी १८ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार