आत्मनिर्भर हुने अवसर

397

आनी–बानी बिग्रेको छ धेरैको । पान, विडी, सूर्ति, चूरोट, गुटखा खाने, मांस मदिराको लत पनि नछाड्ने, खेत–बारी नखन्ने, उत्पादनमूलक काम नगर्ने, अरु कुनै कमाई धमाईमा पनि नलाग्ने, दिनभरी अरुकै आलोचना गरेर र भर परेर गाउँ शहरका चौक, चौराहा र गल्लीमा हल्लीखल्ली गर्दै विताउने । साँझ परेपछि घरतिर सोझिने, पुगीसकेपछि सन्तान र श्रीमतीसंग बम्किने । अर्कोदिन पनि उस्तैगरी विताउने र समय कटाउनेको संख्या धेरै भयो । जस्ले श्रम गर्दैन र भ्रम छर्छ, उसैले सवैभन्दा धेरै हल्ला गर्छ । यो भएन र त्यो भएन भन्दै हिड्छ । व्यवस्था खराब भयो, हाम्रो अनुकूलको संविधान बनेन, सरकारले कामै गरेन । अन्याय ग¥यो, पक्षपात हुन दियो, उत्पीडितको अधिकार खोस्यो, बहुसंख्यकको विचारमाथि दमन गरेर अल्पसंख्यकको स्वार्थ लाद्योे आदि इत्यादि । उस्को दल सरकारमा गए पनि भन्न छाड्दैन, बाहिर रहे पनि उस्तै मादल बजाउन विर्सदैन ।

            अराजकताको खेतीपातीचाहिँ खुब् गर्ने, अरु अगाडि बढेको देखिनसहने, आफु किन पछाडि परें भनेर नसोच्ने, बाटाघाटामा जो देख्यो, भेट्यो उसैलाई घोच्ने, बिग्रेको आनी–बानी नसुधार्ने, आफ्नै स्वास्थ्य, परिवार र समाज विगार्ने, योग, ध्यान र प्राणयाम नगर्ने, अस्वस्थ खाना खाने, समयसंग जिस्किने, निहुँखोज्न मात्र निस्किनेहरु धेरै देखिए । त्यस्तै जमातलाई तह लगाउन पनि कोरोनाको महामारी फैलिएको हो कि भन्न पर्ने अवस्था आएको छ । विश्वभरि यति धेरै भयावह स्थिति हुँदा पनि टेर्दैन, बन्दाबन्दीलाई गन्दैन, आफै सुरक्षित हुन सिक्दैन र अरुलाई मात्र सराप्छ भने त्यस्ताको उपचार हुन सक्दैन । आत्महत्या गर्न खोज्नेको उपचार र उपकार भनेकै उसैको अन्त्य हुनु हो । तर आफुले आत्महत्याको बाटो रोज्ने र दोषचाहिँ अरुमाथि थोपर्नेहरुले बुझ्न प¥यो – आफ्ना आँखामा खुर्सानी दल्दैमा आँगनमा चारा खान आएको ढुकुर मर्दैन, धरापमा पर्दैन 

            कोरोना भाइरस महामारीको यो समय आफै अभ्यस्त हुनका लागि अवसर हो । आत्मनिर्भर हुन चाहनेले सदुपयोग गर्न सक्छन् समयको । खेत–बारी बाँझै राखेर बजारतिर खाद्यान्न र तरकारी किन्न दगुर्नेले अलिकति मात्रै श्रम गर्ने हो र भ्रम नछर्ने हो भने आँगनमै फल्छ अन्न र तरकारी । सरकारी राहत खोज्न पर्दैन । राहत त ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने मौका पनि नपाएकाहरुका लागि हो । कामचोर र अल्छीले थापेका बल्छीमा बल्झाउने विषय हैन । हिजोसम्म जे भयो, सो गयो । अब पनि फेरी प्रहरी प्रशासन र नेताका नजिकको पहँुचका नाममा बदमासी गर्ने हो भने सहन्न समाजले । पहुँच र पकडको अकडलाई कोरोनाले टेर्दोरहेनछ । अरुलाई झै ध्वाँस र धम्की दिएर चल्दैन अब ।

        आजसम्म अपनाएका खराब बानी व्यहोरा छाड र समाजबाट दूरी कायम गरेर श्रम गर्न थाल । पसिना निकालेर परिश्रमका पाखुरा बजारेर जमिनमा जोतिने हो भने कोरोनाको जतिसुकै ठूलो वर्षाबाट पनि ओतिन सकिन्छ । अप्राकृतिक जीवनशैली अपनाउनेहरुलाई सवक सिकाउन पनि आएको हुनसक्छ यो महामारी । कोरोनालाई दनक दिने हो भने आत्मनिर्भर हुन र प्रकृति अनुकूल जीवनशैली अपनाउनन सिक, निहुँ नझिक ।



कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार