प्रदेश

निःशुल्क आँखा उपचारले नागरिक लाभान्वित



गुल्मी १६ मङ्सिर । गुल्मीको रेसुङ्गा नगरपालिका बाख्रेछेडाका थानेश्वर पोखरेल उमेरले ७० वर्ष पुग्नुभयो । बुढ्यौली उमेरले च्यापेसँगै उहाँको आँखामा समस्या देखिन थाल्यो । अहिले उहाँलाई सजिलो भएको छ । पहिला प्रष्ट देख्न मुस्किल पर्ने वस्तुहरू अहिले सजिलै ठम्याउन सक्नुहुन्छ ।
रेसुङ्गा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि नगर कार्यपालिकाको पहिलो बैठकले निःशुल्क आँखाको उपचार गरिदिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पोखरेलले पनि निःशुल्क आँखाको उपचार गराउने अवसर पाउनुभयो । अहिले पहिलाजस्तै प्रष्ट देख्दा उहाँमा खुसीको सीमा छैन ।
नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्रको सहयोगमा सो उपचारको व्यवस्था गरिएको हो । शिविरमा पुग्नुभएका रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीलाई भेटेर खुसी व्यक्त गर्दै उहाँले नगरपालिकाको निर्णय अरू पालिकाले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । न्यून आर्थिक अवस्था भएकालाई ठूलो राहत मिलेको प्रतिक्रिया दिनुभयो ।
नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीसँग सम्झौता गरी यस नगरपालिका भित्र रहेका नागरिकहरूको निःशुल्क आँखाको उपचार गरिएको नगर प्रमुख पन्थीले बताउनुभयो । “आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएपछि चस्मा लगाएर वृद्ध बुवाआमाहरुले आँखाले प्रष्ट रूपमा देख्न सक्नुभएको छ ।”
नगरप्रमुख पन्थीले भन्नुभयो, “यो एउटा महत्त्वपूर्ण काम हो । गरिब, दिन दुखी, वृद्ध बुवाआमाहरु र नागरिकको पक्षमा काम गर्न आएका हौँ । सधैँ रेसुङ्गावासी नागरिकको पक्षमा काम गर्नेछौँ ।” रेसुङ्गा नगरपालिका नगर कार्यपालिकाको निर्णय अहिले प्रभावकारी बन्दैगएको छ ।
नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि नगर कार्यपालिकाको पहिलो बैठकले यस नगरपालिका भित्र रहेका नागरिकहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यस नगरपालिका भित्रका नागरिकहरूको आँखाको निःशुल्क उपचार गरिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।
जिल्लामा रहेका सबै पालिकाहरूले पनि यस प्रकारको कार्यक्रमलाई प्राथमिकता दिए जिल्लाभरिकै आँखाका बिरामीले सजिलै उपचार प्राप्त गर्न सहज हुने सुझाव दिनुभयो । अहिलेसम्म नगरपालिकासँगको समन्वयमा नेपाल नेत्र ज्योति सङ्घ गुल्मीले ४६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६