अर्थ-वाणिज्य

पार्टी भित्रै सधै पराजित शाहलाई यसपाली घिमिरेले चुनावी मैदान मै पराजित गर्लान त ?




रुपन्देही २९ कार्तिक । नेपाली कांग्रेसबाट रूपन्देही क्षेत्र नं ५ मा लामो समयदेखि भरत शाहले निर्वाचन लड्दै आएका छन् । पार्टीभित्र कुनै निर्वाचन जित्न नसकेका शाहले संसदीय निर्वाचन भने आश्चर्यजनक तरिकाले जित्दै आएका छन् ।उनी पार्टी केन्द्रीय सदस्य दुई पटक र प्रदेश अध्यक्षमा एकपटक पराजित भएका छन् । शाह यसअघि पनि आन्तरिक प्रतिस्पर्धामा कहिल्यै अगाडि आउन सकेनन् । यसकपटक पनि रुपन्देही ५ मा उम्मेदवार रहेका शाह नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनीवविरुद्ध एमाले- राप्रपा-जसपा गठबन्धनले एमालेका वासुदेव घिमिरेलाई प्रतिस्पर्धामा पठाएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै शाह र घिमिरेले प्रचार अभियानलाई तीव्र बनाएका छन् । शाह र घिमिरेसँगै यस क्षेत्रमा १७ जना उम्मेदवार छन् । तर मुख्य प्रतिस्पर्धा शाह र घिमिरेबीच नै हुने देखिएको छ ।
शाह यही क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका नेता हुन् । नेता शाहले २०७४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार डिलाराम आचार्यलाई ठूलो मतान्तरले पराजित गरेका थिए । वाम गठबन्धनले अधिकांश स्थानमा जीत निकाले पनि यहाँ उल्टै शाहले फराकिलो अन्तरले जीत निकालेका थिए ।२०७४ मा शाहले ३३ हजार ८८ मत ल्याएर विजयी हुँदा आचार्य २० हजार ४३८ मतमा रोकिएका थिए । तर, अहिले उनै आचार्य शाहको प्रचारमा छन् ।शाहले एमालेका नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दैछन् । तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट बनाएर चर्चामा कमाएका निवर्तमान मेयर घिमिरे एमाले गठबन्धनका उम्मेदवार छन् । २०७० र २०७४ सालको निर्वाचन जितेका शाहलाई ‘ह्याट्रिक’ गर्न नदिएर घिमिरे पहिलो पटकको प्रयासमै संसद छिर्ने रणनीतिमा छन् ।

एमालेमा अनमेल समाधान :
यस क्षेत्रमा पहिलेदेखि नै उम्मेदवारीको चर्चा भएका नेता खिमलाल भट्टराईलाई पार्टीले समयमै कुनै निर्णय दिन सकेन । राष्ट्रियसभामा विपक्षी दलको नेता रहेका र अझै डेढ वर्ष उनको कार्यकाल रहेकाले पनि उनलाई सो क्षेत्रमा उम्मेदवार बनाउने विषयमा पार्टीभित्र एकमत हुन सकेन । क्षेत्रीय कमिटीबाट एकल रुपमा भट्टराईको नाम सिफारिस भएको, भट्टराई त्यो सुविधा छाडेर मैदानमा जान तयार भएको, संगठन विस्तारमा केही समययता मेहनत गरेको र कांग्रेस नेता शाहलाई उनले पराजित गर्नसक्ने निष्कर्षसहित पार्टीमा गम्भीर छलफल भयो ।
अन्तिम समयसम्म निर्णय हुन नसकेको अवस्थामा नेता घिमिरेले मनोनयनको अघिल्लो दिन अबेर टिकट पाए । क्षेत्र नं ३ मा दावी गरेका उनलाई ५ को टिकट दिइएको थियो । तर, पार्टीभित्रै बाट अर्को समूहले खिमलाललाई राजीनामा गर्न लगाएर उनैलाई आधिकारिक उम्मेदवार बनाउने गरी पुनः दबाब दियो र मनोनयनकै दिन आश्चर्यजनक रुपमा त्यो निर्णय आयो ।उम्मेदवारी मनोनयनका दिन दुइटा टिकट आएपछि एमालेबाट घिमिरेसँगै खिमलाल भट्टराईले पनि उम्मेदवारी दर्ता गराए । सुरूमा दर्ता गराएकाले घिमिरेको उम्मेदवारी कायम भयो । पार्टीबाट टिकट वितरणका क्रममा भएको कमजोरीका कारण सिर्जित समस्या समाधान गर्दै भट्टराईको मन जित्ने र साथ लिने चुनौती घिमिरेसामु छ ।
भट्टराईले घिमिरेलाई पूर्ण सहयोग नगरेको त्यहाँका कतिपय नेता कार्यकर्ताले आरोप लगाए पनि उनी आफैं चुनावी कमाण्डर बनेर खटिएका छन् । बासुदेवले कम मत ल्याए त्यसको अपजस भट्टराईलाई जाने भएकाले पनि उनलाई निर्वाचनको माहोल बनाउने चुनौती छ ।‘म पार्टीको बफादार कार्यकर्ता हुँ, म आफैं चुनावी संयोजक बनेको छु, विपक्षी दलका मान्छेहरुले यिनीहरुबीच अन्तरविरोध गराएर खेल्न सकिन्छ भन्ने सोचे होलान्, एमालेको निर्णयविपरीत जाने छुट कसैलाई छैन’, भट्टराईले भने ।
मतभारमा घिमिरे अगाडि:
स्थानीय तह निर्वाचनको मतअनुसार यहाँ एमाले पहिलो दल हो । गठबन्धन हुँदा पनि सत्तारुढ दलहरुभन्दा एमाले गठबन्धन ६ हजारभन्दा बढी मतले अगाडि छ । वडाध्यक्षमा आएको मतभारअनुसार एमालेको २७ हजार १४५, जसपाको ९ हजार ३३७ र राप्रपाको २ हजार ८१३ मत छ । तीनै पार्टीको मत जोड्दा ३९ हजार २९५ हुन्छ ।त्यस्तै कांग्रेसको २६ हजार ८८८, माओवादीको ४ हजार ६२६ र नेकपा एसको १ हजार १६३ मत छ । सत्ता गठबन्धनको कुल मत ३२ हजार ६७७ हुन्छ । सत्ता गठबन्धनमा रहेको लोसपाको यहाँ ३ हजार ५५६ मत रहेको छ । उसले आफ्नो उम्मेदवार उठाएको छैन ।यहाँ सिके राउत नेतृत्वको जनमत पार्टी र लोसपाको पनि राम्रो प्रभाव छ । पालिका निर्वाचनमा वडाध्यक्षको मतलाई आधार मान्दा यो क्षेत्रमा जनमतको ५ हजार ६५६ मत देखिन्छ । जनमतको आफ्नै उम्मेदवार छन् ।यो क्षेत्रमा सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छन् ।

यस्ता छन् उम्मेदवारका प्रतिबद्धता
सत्ता गठबन्धनका उम्मेदवार शाह रूपन्देही ५ मा आफूले धेरै विकास गरेको बताउँछन् । ‘पहिले यहाँको अवस्था कस्तो थियो अहिले कस्तो भयो रु शिक्षा, स्वास्थ्य, विकास र बेरोजगारी हटाउने मेरा योजना हुन्’, शाहले भने, ‘अर्थ राज्यमन्त्री रहँदा राज्यको बजेट परिचालन गरी बनाएका पुल, बाटो र खानेपानीलगायतका योजनाका कारण मलाई मतदाताले विजयी गराउँछन् । अझै पनि धेरै गर्न बाँकी छ । ती बाँकी काम पूरा गर्न म आउन लागेको हो ।’
एमाले गठबन्धनका उम्मेदवार घिमिरेले विश्व शान्तिको मुहान लुम्बिनीलाई केन्द्रमा राखेर रूपन्देही ५ मा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, र सरसफाइलाई प्राथमिकता दिने बताए । ‘तिलोत्तमा नगरपालिकामा जस्तै क्षेत्र नम्बर ५ मा पनि विकासका काम गरेर देशमै परिचित बनाउनेछु’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सशक्तीकरणका क्षेत्रमा धेरै काम गर्ने योजना छन् ।’कञ्चन, लुम्बिनी सांस्कृतिक, गैडहवा र सैनामैनाको उर्बर भूमिमा सिंचाइ सुविधा उपलब्ध गराउने, पर्यटन क्षेत्रबाट आर्थिक विकामा विशेष योजना ल्याउने र स्थानीयको जीनवस्तर विकास गर्ने उनका प्राथमिकता छन् ।प्रदेशसभातर्फ एमालेबाट ५ ९१० मा भूमिश्वर ढकाल र ५ ९२० मा रामचन्द्र यादव उम्मेदवार छन् । सत्ता गठबन्धनले ५ ९१० मा माओवादी केन्द्रका विनोद पहाडी र ५ ९२० मा कांग्रेसका फकरुद्दिन खानलाई उम्मेदवार बनाएको छ ।

स्थानीयमा देखिएको आक्रोश:

उत्तरदेखि दक्षिणी भारतीय सीमासम्म पुगेको यो क्षेत्रमा विकासका आधारभूत विषयहरु नै प्रवेश भएका छैनन् । तराईको दुर्गमजस्तै रहेको यो क्षेत्रभित्र रहेका बाटोघाटो, शैक्षिक तथा स्वास्थ्य अवस्था निकै कमजोर रहेको लुम्बिनी पडरियाका सिबिन खानले बताए । ‘धेरै नेताहरु चुनावको वेला आउँछन्, हामीलाई यो गर्छम् त्यो गर्छम् भनेर जान्छन्, जितेपछि आउँदैनन्’, उनले भने ।गैडहवा गाउँपालिकाका धुरेन्द्र मिश्राले आफूहरुलाई धेरैपटक कन्चन बाँध बनाइदिने भनेर चुनावको वेला नेताहरुले आश्वासन दिए पनि अहिलेसम्म नबनेको गुनासो गरे । उनले भने, ‘चुनावको वेला सधैं सबै नेताले बनाउँछौं भन्छन् । तर, पछि जित्ने र हार्ने कोही फर्केर आउँदैनन् । यस्तो अवस्थामा कसरी विश्वास गरौं ।’
मायादेवी गाउँपालिकाका दिनेश लोध आफ्नो ठाउँमा स्वास्थ्य संस्था नभएकाले ठूलो समस्या परेको बताउँछन् । ‘स–सानो समस्या पर्दा पनि उपचार गर्न भैरहवा जानुपर्छ, अलि ठूलो अस्पताल बनाइदिए नि हुन्थ्यो’, उनले भने ।स्थानीय क्षेत्रमा रहेका बाटो निर्माण, कृषि क्षेत्रका लागि मल र बीउको सहजता, उपचारका लागि अस्पताल, शिक्षाका लागि व्यवस्थित शैक्षिक संस्था र सिंचाइको माग यहाँ मतदाताको रहेका छन् । उनीहरुले डुबानको समस्यासमेत समाधान हुनुपर्नेमा उम्मेदवारहरुको ध्यानाकर्षण गरेका छन् ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६