ब्रेकिंग न्युज

घरघरमा खानेपानीको धारा आएपछि चुप्लावासी हर्षित



खोटाङ, १२ असोज :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित चुप्लाका ४७ घर स्थानीय बासिन्दाको घरघरमा खानेपानीको धारा उपलब्ध गराइएको छ ।प्रदेश सरकार, प्रदेश नं १ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु ४३ लाख लागतमा सञ्चालित खानेपानी योजनाबाट हरेक घरमा ‘एक घर, एक धारा’ सञ्चालन भएपछि चुप्लावासी लाभान्वित भएका हुन् । लामो समयदेखि व्यवस्थित खानेपानीको अभाव झेल्दै आएका चुप्लाका स्थानीय बासिन्दालाई लक्षित गर्दै प्रदेश सरकारबाट आर्थिक वर्ष २०७८÷०७९ मा रु ३० लाख र चालु आर्थिक वर्ष रु १३ लाख बजेट विनियोजन भएको थियो । सात किलोमिटर टाढा रहेको माल्टे मुहानबाट पाइपमार्फत चुप्लामा खानेपानी ल्याइएको हो । विसं २०५२ मा सञ्चालन भएको खानेपानी योजना जीर्ण बनेपछि ‘एक घर, एक धारा’ उपलब्ध गराउनेगरी प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नयाँ खानेपानी योजना सञ्चालन गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।“पुरानो योजनाको पाइप विभिन्न ठाउँमा टुटफुट भएकाले चुप्लामा लामो समयदेखि खानेपानीको समस्या जटिल बनेको थियो”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानीको नयाँ योजना सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।”

चुप्लामा सञ्चालित खानेपानी योजनाका लागि १० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरेर गाउँमा वितरण गरिएको प्रदेश खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय खोटाङका इञ्जिनीयर मोहन महासेठले बताउनुभयो । पिउने पानीको अभाव रहेको चुप्लाका स्थानीय बासिन्दाको हरेक घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा आएपछि स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।चप्लामा सञ्चालित खानेपानी योजना मङ्गलबार १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले औपचारिकरूपमाधारा खोलेर उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले हरेक नागरिकलाई सहजरूपमा स्वच्छ र सफा खानेपानी पर्याप्तमात्रामा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बाम्राङकै खत्रीगाउँ, थापागाउँ र तल्लो दलित टोलमा प्रदेश सरकारबाट चालु आर्थिक वर्ष रु १५ लाखको खानेपानी योजना सम्झौता भइसकेको र सुर्के गैरा टोलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट रु सात लाख बजेट विनियोजन भएको छ । दुवै योजनाको काम चाँडै अगाडि बढाउने तयारीस्वरूप उपभोक्ता समितिले काम अगाडि बढाएको स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) खोटाङका युवा नेता युगशन किरातले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयबाट ७४ वटा नयाँ योजनाका लागि रु आठ करोड २६ लाख ९० हजार बजेट आएको छ । प्रदेशबाट आएको योजनाका लागि उपभोक्ता समितिसँग सम्झौता गरेर निर्माणको काम सुरु गरिएको प्रदेश खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय खोटाङका सब–इञ्जिनीयर रामकुमार राईले जानकारी दिनुभयो । आठ गाउँपालिका रहेको जिल्लामा प्रदेश सरकारको ५५ वटा योजना क्रमागत रहेको कार्यालयले जनाएको छ । प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित अधिकांश योजना अन्तिम चरणमा पुगेको जनाइएको छ । (रासस)

प्रकाशित : १२ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६