ब्रेकिंग न्युज

उदाउँदो चन्द्रमालाई पूजा गर्दै मिथिलामा आज चौरचन पर्व मनाइँदै



महोत्तरी , १४ भदौ ः उदाउँदो चन्द्रमालाई मिष्ठान परिकार र फलफूल अर्पण गरि आज साँझ मिथिलान्चलको घरघरमा श्रद्धा र विधिपूर्वक चौरचन (चौठचन्द्र) पर्व आज मनाइँदैछ । प्रत्येक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ मनाईने यो पर्व यस वर्ष तिथिमा हेरफेर भएकै कारण हरितालिका तीज र चौठचन्द्र पर्व एकै दिन मनाइँदैछ ।सो पर्वका दिन पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ । यस पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्विप प्रज्ज्वलन गर्दै उपवास बसेको ब्रतालुले फलफूल र मिष्टानको परिकारलाई प्रसादको रुपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा छ ।

चन्द्रमाको पूजा हुने सो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादको रुपमा राखेर चन्द्रमालाई प्रजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरु प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । तीज पर्व सम्पन्न भएसँगै शुरु हुने यस पर्वलाई मिथिलामा निकै आस्थाका रुपमा लिइन्छ । कृष्णजन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने यस पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिन्छ ।

यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घारीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा रहेको छ । यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घय दिएर चन्द्रमाको त्यो अपयशबाट बच्न सकिने धार्मिक मान्यता रहेको छ ।भगवान श्रीकृष्णलाई आजकै दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङक छुटेकोले यस पर्वको पौराणिक महत्व रहेको जनविश्वास छ । द्वापरयुगमा द्वारिकापुरीमा सत्रजित नामका व्यक्तिले भगवान सूर्यको आराधना गरी निकै उत्कृष्ट स्यमन्तक मणि प्राप्त गरेको श्रीमद्भागवत पुराणमा उल्लेख छ ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६