खोज–अनुसन्धान

एमाले लुम्विनीका ७ पदाधिकारी : गठबन्धनसंगको प्रतिस्पर्धामा को कति सुरक्षित ?




रूपन्देही २९ साउन । लुम्बिनीबाट नेकपा एमालेको पदाधिकारीमा रहेका ७ शीर्ष नेताहरू मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनमा कहाँबाट लड्ने र उनीहरूले टिकट पाउने सम्भावना तथा जित्ने आधारहरूका बारेमा चर्चा र चासो बढेको छ ।एकातिर एमालेविरुद्ध महागठबन्धन अर्कोतिर स्थानीय चुनावमा एमालेको परिणाम केही खस्किएको अवस्थामा लुम्बिनीमा शीर्ष नेताहरूको चुनावी परीक्षण कस्तो हुने हो भन्ने विषयलाई लिएर जोडघटाउ सुरू भएको हो ।लुम्बिनीबाट एमाले पदाधिकारीमा उपाध्यक्षहरू दाङका युवराज ज्ञवाली, रूपन्देहीका विष्णुप्रसाद पौडेल, महासचिव दाङका शंकर पोखरेल, उपमहासचिव गुल्मीका प्रदीप ज्ञवाली, सचिवहरू रूपन्देहीका छविलाल विश्वकर्मा, अर्घाखाँचीका टोपबहादुर रायमाझी र गुल्मीका गोकर्ण विष्ट छन् ।एमाले स्रोतका अनुसार सातजनामध्ये उपाध्यक्ष युवराज ज्ञवाली समानुपातिक वा राष्ट्रियसभामा जान तयार छन् । बाँकी ६ जना प्रतिस्पर्धाका लागि टिकटको दौडधुप र जित हात पार्न रणनिति बनाउन व्यस्त छन् ।
महासचिव शंकर पोखरेल यसअघि मुख्यमन्त्री बन्नका लागि प्रदेशमा लडेपनि अन्य सबैसँग प्रत्यक्ष लडेर निर्वाचित बनेको अनुभव छ ।उपाध्यक्ष विष्णुप्रसाद पौडेल साबिककै निर्वाचन क्षेत्र २ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् । दुई पटक अर्थमन्त्रीसमेत भएका पौडेल २०७४ को निर्वाचनमा कांग्रेसका युवराज गिरीलाई भारी मतान्तरले हराएर विजयी भएका थिए । तीनपटक निर्वाचन जितेका पौडेलको क्षेत्रमा स्थानीय तह निर्वाचनमा धेरै वडामा अन्य पार्टीले निर्वाचन जितेकाले अहिले चुनौती थपिएको छ । उनको क्षेत्रबाट कांग्रेसले बलियो उम्मेदार नपाउँदा गुल्मीबाट चन्द्र भण्डारीलाई ल्याउने वा गठबन्धनलाई दिएर रूपन्देहीका अन्य क्षेत्र आफूले लिनेगरी छलफल चलाएको छ ।
महासचिव पोखरेल अघिल्लो निर्वाचनमा प्रदेशसभाबाट निर्वाचित भएर लुम्बिनीको मुख्यमन्त्री भैसकेका छन् । पोखरेले दाङ २ बाट निर्वाचन लड्ने तयारी थालेका छन् । ७४ मा यहाँ एमाले(माओवादी गठबन्धनबाट संघमा माओवादीका कृष्णबहादुर महरा र प्रदेशमा पोखरेलले चुनाव जितेका थिए । दाङमा गठबन्धनबाट महराले टिकट पाए यसपटक पोखरेल र पूर्वसभामुख महराबीच प्रतिस्पर्धा हुनेछ ।उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ बाट लड्ने तयारीमा छन् । ७४ मा उनले कांग्रेसका चन्द्र भण्डारीलाई पराजित गरेका थिए । त्यसबेला ज्ञवालीले ३७८१४ मत ल्याउँदा भण्डारी ३०२५६ मा रोकिएका थिए । स्थानीय तहको निर्वाचनमा वडागत मतमा एमाले अगाडि देखिए पनि गठबन्धन बलियो बनेमा सबैको मत एकातिर जाँदा उनलाई पनि चुनौती थपिएको छ । तर, एमाले नेताहरू स्थानीय तहको निर्वाचनमा गठबन्धन भएकाले सबै वडाको मतभार नमिलेको र ज्ञवालीको जित सहज भएको दाबी गर्छन् ।
एमालेका सातजना सचिवहरू मध्ये टोपबहादुर रायमाझीले पुरानै क्षेत्र अर्घाखाँचीबाट प्रतिस्पर्धा गर्ने गरी तयारीमा जुटेका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट निर्वाचित उनी नेकपा विघटनपछि एमालेमै बसेका छन् । २०७४ मा रायमाझीले ५०८३७ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका रामबहादुर बिसीले ३२५४४ मत ल्याएका थिए । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले ४८२६०, कांग्रेस ३७९२५ माओवादी ७७९०, राजमो ४२९४, एसका वडाध्यक्षका उम्मेदवारले ३७६३ मत पाएका छन् । स्थानीय तहमा तहमा गरेको बलियो परिणामले उनको जीतलाई सहज देखाएको छ ।
अर्का सचिव गोकर्ण विष्ट पनि गुल्मीको क्षेत्र नं २ बाट पुनस् प्रतिस्पर्धाको तयारीमा छन् । यहाँ प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल पनि आकांक्षी देखिएका छन् । विष्ट २०७४ मा ३४६१८ मतसहित कांग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गर्न सफल भएका थिए । यो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले पनि चुनाव लड्ने बताइसकेकी छन् तर कांग्रेसबाट पुनस् केसीले नै बलियो दाबेदारी पेस गरिरहेका छन् ।अर्का सचिव छविलाल विश्वकर्मा रूपन्देही १ बाटै निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । उनले विगतमा कांग्रेसका अव्दुल रज्जाकलाई हराउँदै ३४७५२ मतसहित विजयी बनेका थिए । स्थानीय चुनावमा वडाध्यक्षको मतमा एमाले थोरै पछाडि देखिएको छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६