ब्रेकिंग न्युज

कोरोना संक्रमितको संख्या हजार नाघ्यो



काठमाडौं,२४ साउन। कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌गलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो ।जबकी ३१ वैशाखमा संक्रमित संख्या एक अंक अर्थात (२) मा झरेको थियो । १ असारमा पनि संक्रमणदर ०.६४ प्रतिशत मात्र थियो । तर डेढ महिनामा कोरोना संक्रमणदर झण्डै ३० गुणाले बढ्दै (१७.३०) प्रतिशतमा पुगेको छ ।समग्रमा देशभरको संक्रमण दर एन्टिजेन तथा पीसीआर परीक्षणमा १७.३० प्रतिशत भए पनि सरकारी प्रयोगशालाहरुको तथ्यांक हेर्दा परीक्षण गरिएको ४५ प्रतिशतसम्म संक्रमण तथ्यांकले देखाउँछ ।त्रिवि शिक्षण अस्पतालमा पछिल्लो २४ घन्टामा १३९ नमुना परीक्षण (पीसीआर) गरिएको थियो, जसमध्ये ६० जनामा संक्रमण पुष्टि भएको छ । यो ४३ प्रतिशत भन्दा बढी हो । पाटन अस्पतालको प्रयोगशालामा पछिल्लो तथ्यांक अनुसार ३३ नमुना परीक्षण गर्दा १२ जना अर्थात संक्रमण दर ३६.३६ प्रतिशत पुगेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर तथा कोरोना फोकल पर्सन प्रा.डा. युवराज शर्माका अनुसार तीन हप्ता अगाडिसम्म यस्तो संक्रमण दर ५ प्रतिशत थियो । ‘केही दिनयता निरन्तर बढेको छ र, अहिले झण्डै ५० प्रतिशत हाराहारीमा पुगिसकेको छ । ‘अस्पताल भर्ना भएका तथा कडा लक्षण भएकाले मात्रै परीक्षण भएको छ’, शर्माले भने ।अस्पतालमा भर्ना भएका विरामीहरुको तथ्यांकले संक्रमण समुदाय स्तरमा फैलिएको संकेत गर्छ । किनकी अहिले परीक्षण गराउनेहरु अधिकांश लक्षण भएकाहरु छन् । जबकी कोरोनामा ८० प्रतिशतसम्म संक्रमित लक्षणविहीन हुने अध्ययनहरुले देखाएको छ ।

धुलिखेल अस्पताल प्रयोगशालाका प्रमुख डा. राजीव श्रेष्ठ ओमिक्रोन मुल (बी.ए) टु भन्दा सबभेरियन्ट ‘बी.फाइभ’ ६० गुणा बढी रफ्तारमा फैलिने भएकाले धेरै जना संक्रमण फैलिरहेको बताउँछन् ।‘ओमिक्रोन बढी संक्रामक, तर कम घातक भएको कारण पनि मानिस परीक्षणको दायारमा आएका छैनन्,’ डा. श्रेष्ठले भने, ‘तर घरमा पाँच जनामा कोरोना लक्षण देखिएको छ भन्ने पनि एक जनालाई परीक्षण गर्दा संक्रमणदर रोक्न ठूलो मद्दत गर्छ ।’इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ( ईडीसीडी) ले पनि आगामी तीन महिनामा (साउन, भदौ, असोज) सम्म ५० हजार कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । नागरिकले जनस्वास्थ्यको मापदण्ड पालना नगरे अझै संख्या बढ्न सक्ने मन्त्रालयका अधिकारीको अनुमान छ । ईडीसीडीको प्रक्षेपण अनुसार दैनिक दुईदेखि आठ हजारसम्म संक्रमण संख्या पुग्ने सक्छन् ।

तीन महिनाको अवधिमा बिरामीको भर्ना हुने चार हजारको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको मन्त्रालयले १७ वटा सरकारी अस्पतालबाट मापदण्ड अनुसार कोभिडको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।‘पर्याप्त परीक्षण भए संक्रमणदर तीन–चार गुणाले बढ्छ’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभरमा १०२ वटा ल्याब छन् । तर दैनिक ३ हजार भन्दा कम पीसीआर टेष्ट हुने गरेको छ । यही प्रयोगशालाबाट दोस्रो लहरमा करिब २२–२३ हजार नुमनाको परीक्षण हुने गरेको थियो । मंगलबार मन्त्रालयले जारी गरेको तथ्यांक हेर्दा ५० वटा प्रयोगशालाबाट मात्रै परीक्षण भएको छ ।

जनस्वास्थ्यविद्हरु पीसीआरको क्षमता विस्तारसँगै एन्टिजेनको परीक्षणलाई तीव्रता दिनुपर्ने सुझाव दिन्छन् । यथेष्ट परीक्षण हुन नसकेको ठाउँमा संक्रमण लामो समयसम्म फैलिने तथा नियन्त्रणमा आउन लामो समय लाग्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।सरकारले गरेको परीक्षण अत्यन्तै न्युन भएको प्रष्ट पार्ने भन्दै डा. अधिकारी भन्छन्, ‘आज एक हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको देखिन्छ । पर्याप्त परीक्षण भएको अवस्थामा यो संख्या तीन–चार गुणाले बढ्नसक्छ ।’मन्त्रालयका अधिकारी पनि यसमा सहमत छन् । मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी पछिल्लो दिनमा संक्रमणसँगै भर्नादर बढिरहेको बताउँछन् । ‘हामीले चौथो लहरको पूर्वाअनुमान गरेर त्यसअनुसारको तयारी गरिहेको छौं । तर, मन्त्रालयको तयारीभन्दा पनि फोकस जनस्वास्थ्यको मापदण्ड पालना गर्न सक्नाले संक्रमणदर घटाउन मद्धत पुग्छ,’ डा. अधिकारीले भने ।समुदायमा संक्रमणको केसहरु धेरै हुनसक्ने भएकाले मापदण्ड अनुसार निःशुल्क परीक्षण गर्ने तथा धेरैभन्दा धेरै व्यक्ति परीक्षण दायारा ल्याएर आइसोलेसनमा राख्न स्थानीय तहलाई परिचालन गरिएको बताए ।

अर्का संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि हालको परीक्षण कम भएको र त्यसलाई तत्काल नै बढाउनुपर्ने बताउँछन् । डा. सुवेदीका अनुसार लक्षण भएका सबै र उनीहरुको सम्पर्कमा आएका मानिसलाई परीक्षणको दायरामा ल्याउन सकेमात्र कोरोनाको फैलावटलाई केही हदसम्म रोक्न सकिन्छ ।सरकारले संक्रमणको पहिचान गर्ने रणनीति छोडिसकेको छ । जसलाई कोरोनाको कडा लक्षण देखिएको त्यस्ता मानिसलाई पनि परीक्षणको दायारामा ल्याउन सकिएको छैन’, उनी भन्छन्, ‘अस्पतालमा भर्ना भएका बिरामीमा ज्वरो आएका खण्डमा पनि परीक्षण गरिएको छैन । जसले सिकिस्त हुनबाट जोगाउन गाह्रो हुन्छ ।’संक्रामक रोग विशेषज्ञ डा. अधिकारी पनि समुदायमा धेरै संक्रमित रहेको बताउँछन् । ‘अहिले हामी सुरुवाती चरणमा छौं । अबको तीन हप्ता संक्रमण उच्च गति लिन्छ’, डा. अधिकारीले भने, ‘धेरैमा कोरोनाको लक्षण देखिन्छ, तर परीक्षण भएको छैन ।’हाल सरकारी अस्पतालले परीक्षण शुल्क एक हजार तथा निजीले दुई हजार लिँदै आएका छन् । अझै पनि सरकारले निःशुल्क तथा सर्वसुलभ नगरेको कारणले मानिसहरु परीक्षण नगरी घरमा बसिरहेका छन् ।‘ओमिक्रोनको सबभेरियन्ट (बीए.फाइभ) बढी संक्रामक भएकाले तेस्रो लहरको भन्दा ठूलो लहर आउनसक्छ भनेर अनुमान लगाउन सकिन्छ’, डा. अधिकारीले भने, ‘तर अनुमान गरे अनुसार लहर सानो देखिनपछि सक्छ । किनभने कोरोनाले केही हुँदैन भनेर परीक्षण नगरी बसिरहेका छन्

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६