अर्थ-वाणिज्य

बुटवलको मुख्य समस्या बन्यो पार्किङ



बुटवल २३ साउन ।लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा सवारी पार्किङको समस्या जटिल बन्दै गएको छ । बुटवलको बजार क्षेत्रमा किनमेल गर्न र कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको सवारी साधन पार्किङ गर्न जग्गा अभाव भएपछि समस्या जटिल बन्दै गएको हो ।दिनहुँ सवारीको चाप बढ्ने गरेको तर त्यस अनुसार पार्किङ गर्ने जग्गाको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । बुटवल उपमहानगरको बजार क्षेत्रमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रेगरी न्यूनतम पन्ध्र हजार सवारी दैनिक पार्किङ हुने गरेको व्यापारीहरू बताउँछन् । तर खाली ठाउँको अभावले आवागमनमै अवरोध हुने गरी पार्किङ गरेको पाइन्छ । सवारी पार्किङ स्थल बनाउने र सवारी व्यवस्थापन गर्ने ठोस योजना बुटवल उपमहानगरसँग पनि छैन । यद्यपि उपमहानगरले यसबारे प्रारम्भिक छलफल भने सुरु गरेको छ ।
उपमहानगरका प्रमुख खेलराज पाण्डेले सवारी पार्किङको समस्याबारे संघको सहरी विकास मन्त्रालयसँग छलफल चलाएको बताए । सहरी विकास परियोजनासँगको छलफलसँगै बुटवलको नयाँ बसपार्कको दक्षिणतर्फ खाली रहेको तीन कठ्ठा जग्गामा तीन तलाको ठूलो भवन बनाउने र तीन वटै तलामा सवारी साधन पार्किङ गर्ने गरी उपमहानगरले लिखित प्रस्ताव राखेको उनले जानकारी दिए । उनले भने, ‘अन्य विकल्प पनि सोचिरहेका छौं, हाललाई करिव पाँच हजार सवारी साधन पार्किङ गर्न मिल्ने ठाउँको व्यवस्थापनमा लागेका छौं ।’
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले पनि बुटवलको बजार क्षेत्रमा पार्किङको समस्याले निकै अप्ठ्यारो परेको बताए । बजारमा जथाभावी पार्किङले गर्दा किनमेलका लागि आउने ग्राहकलाई समेत अप्ठ्यारो परेको भन्दै उनले ट्राफिक प्रहरीको कमजोरीका कारण पनि समस्या उत्पन्न भएको उल्लेख गरे । ट्राफिक प्रहरीले नियमित निगरानी नराख्दा व्यवसायी तथा अन्य सेवाग्राहीले जथाभावी पार्किङ गर्ने गरेको उनको भनाइ छ । बुटवल उपमहानगरले सवारी पार्किङका लागि अविलम्ब जग्गाको खोजी गरेर पार्किङ समस्यालाई हल गर्नुपर्ने उनले बताए ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरीक्षक योगेन्द्रसिंङ थापाले पार्किङको समस्या हल गर्न मुख्य रुपमा स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । हाल बजार क्षेत्रमा आलोपालो गरी सडकको दायाँ र बायाँ सवारी पार्किङ गर्ने ब्यवस्था मिलाइएको तर त्यो पर्याप्त नभएको उनको भनाइ छ । गत महिनादेखि बुटवल उपमहानगर र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा अस्पतालको उत्तरतर्फ रहेको खाली जग्गामा सवारी पार्किङ गर्ने व्यवस्था मिलाएको उनले बताए । उक्त स्थानमा करिव तीन सय सवारी साधन अट्न सक्छन् तर यो ठाउँमात्र पर्याप्त नहुने उनको भनाइ छ ।
बुटवलका अर्का व्यवसायी हरि अर्याल बुटवल बजार आसपास खाली जग्गा कम भएकाले हिउँदयामका लागि तिनाउ खोलाको तिरलाई पार्किङ स्थल बनाउन सकिने धारणा राख्छन् । वर्षाको तीन महिना जेठ, असार र साउन बाहेकका महिनामा तिनाउ खोलाको तिरमा सवारी पार्किङ गर्न सकिने उनको भनाइ छ । बुटवलको मुख्य बजार क्षेत्र अमरपथ, राममन्दिर लाइन, संगमपथ, मैत्रीपथ, बीपीपथ लगायतका ठाउँमा मुख्यतया पार्किङको समस्या छ । बुटवलको चौराहादेखि गोलपार्कसम्मको निर्माणाधीन सडक विस्तारमा ढिलाई हुँदा पनि सवारी पार्किङको समस्या झन् जटिल बनेको हो ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६