खोज–अनुसन्धान

उपमहानगरमा गठबन्धवाट कांग्रेसलाई घाटा, एमालेलाई तुलनात्मक फाइदा




वाँके ११ जेठ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले उपमहानगरपालिकामा खासै सुधार गर्न नसकेको मत परिणामले देखाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको एक नम्बर ताजलाई सत्ता गठबन्धनले खलबल्याए पनि गठबन्धनमा धेरै भाग पाएको काँग्रेसले नतिजामा भने सुधार गर्न नसकेको हो । बरु काँग्रेसले यसअघि जितेका दुई उपमहानगरपालिका गुमाउनु परेको छ । सत्ता गठबन्धनका बीच स्वतन्त्र उम्मेदवार हाबी हुँदा काँग्रेसले कैलालीको धनगढी उपमहानगरपालिका र सुनसरीको धरान उपमहानगरपालिका गुमाउन बाध्य भएको हो । स्थानीय निर्वाचनबाट नेपाली काँग्रेस इटहरी, बुटवल र नेपालगन्जको प्रमुख पदमा विजयी भएको हो । साथसाथै उपप्रमुखमा काँग्रेस जनकपुरधाम र हेटौडामा मात्रै विजयी भएको छ ।
अघिल्लो स्थानीय निर्वाचनमा बलियो अवस्थामा रहेको एमालेले गठबन्धनका बीच पनि ३ उपमहानगर जितेको छ ।
११ वटै उपमहानगरपालिकाको अन्तिम नतिजाअनुसार एमालेले कलैया, घोराही र तुल्सीपुरमा प्रमुख पद जितेको छ । साथै सो पार्टीले इटहरी, कलैया, जितपुर सिमरा, बुटवल तुल्सीपर, घोराही र धनगढीमा समेत उपमेयर जितेको छ । यद्यपि अघिल्लो निर्वाचनको तुलनामा भने एमालेको नतिजा उपमहानगरमा जित सङ्ख्या घटेको छ । ०७४ मा एमालेले ७ उपमहानगर जितेको थियो पछि उपनिर्वाचनमा भने काँग्रेसले धरानको एक सिट खोसेको थियो । यसरी हेर्दा ६ उपमहानगरको नेतृत्व एमालेले गरेको भए पनि यसपटक ३ वटामा खुम्चिन बाध्य भएको छ ।
धरानमा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र :
स्थानीय तह निर्वाचनमा एमाले सबै उपमहानगरमा एक्लै लडेको थियो भने सत्ता गठबन्धनबीच उपमहानगरपालिकामा तालमेल भई भागबण्डा भएको थियो । जसअनुसार धरानमा प्रमुख काँग्रेस र उपप्रमुख माओवादी केन्द्रले पाएको थियो । जहाँ काँग्रेसले प्रमुख पद गुमाएर स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भए । हर्कले २०८२१ मत पाउँदा काँग्रेसका किशोर राई १६ हजार ५९ मात्र मत पाएर पराजित बने । यस्तै एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मात्रै मत ल्याएर पराजित बनिन् ।
यस्तै उपमेयरमा भने गठबन्धनअनुसार नै माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मत पाएर विजयी बने । सो उपमहानगरपालिकाको उपमेयरमा एमालेका पदम प्रसाद लिम्बु १७ हजार ६०६ मत पाएर पराजित बने । धरानमा २०७४ को निर्वाचनमा एमालेका तारा सुब्बा मेयरमा विजयी भएका थिए । उनको अकालमै निधन भएपछि २०७६ मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवारलाई हराउँदै काँग्रेसका तिलक राई विजयी भएका थिए । अहिले फेरि धरानमा काँग्रेस पराजित बनेर स्वतन्त्रको हातमा सत्ता पुगेको हो ।
इटहरीमा एमालेले गुमायो, सत्ता गठबन्धन पनि सफल भएन :
इटहरी उपमहानगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा इटहरीको मेयरमा एमालेका द्वारिकालाल चौधरी विजयी भएका थिए भने उपमेयरमा एमालेकै लक्ष्मी कुमारी गौतम विजयी भएकी थिइन् । तर यो निर्वाचनमा एमालेले मेयर पद जोगाउन सकेन । जहाँ काँग्रेसका हेमकर्ण पौडेल ३३ हजार ४१ मत पाएर विजयी बने भने एमालेका याम कुमार चुंगवाङ सुब्बा पराजित बन्न पुगे । उनले २८ हजार ३१ मत पाएर पराजय भोगेका हुन् । उपमेयरमा भने एमालेकी सङ्गीता कुमारी चौधरी विजयी बनिन् । उनले एकीकृत समाजवादीका केशव कुमार विष्टलाई पराजित गरेकी हुन् । चौधरीले ३२ हजार ४३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाए । इटहरीमा सत्ता गठबन्धनबीच भएको तालमेल सहमतिअनुसार काँग्रेसले मेयर र समाजवादीले उपमेयर पाएको थियो । जसमा गठबन्धनलाई तोड्दै एमालेले उपमेयरमा सफलता हात पार्‍यो ।
जनकपुरमा बागी विजयी, जसपालाई धक्का :
जनकपुर उपमहानगरपालिकामा काँग्रेसका बागी उम्मेदवार विजयी हुन पुगे । काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मनोज कुमार साहले १३४६५ मतका साथ विजय हासिल गरेका हुन् । उपमेयरमा भने काँग्रेसका किशोरी साह १५५२५ मत ल्याएर विजयी बने । जनकपुरमा सत्ता गठबन्धनबीच जसपाले मेयर र काँग्रेसले उपमेयर पाउने गरी भागबण्डा भएको थियो । तर जसपाका उम्मेदवार कमजोर साबित भए । यसअघिको निर्वाचनमा जसपाले मेयर र उपमेयर नै जितेको थियो । त्यति बेला जसपाका लालकिशोर साह मेयर र रिता कुमारी मिश्रा उपमेयरमा विजयी भएकी थिइन् ।
कलैयामा काँग्रेसलाई धक्का, जितपुरमा माओवादीको प्रतिनिधित्व :
अघिल्लो स्थानीय तह निर्वाचनमा बाराको कलैया उपमहानगरपालिकामा नेपाली काँग्रेसले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको थियो । तर गठबन्धनका बीच पनि एमालेको सो उपमहानगरपालिकामा इन्ट्री भएको छ । कलैयामा एमालेका विनोद प्रसाद साह २४ हजार १७४ मतका साथ विजयी भए भने काँग्रेसका राजेश राय यादव पराजित हुन पुगे । अघिल्लो निर्वाचनमा उनै यादव काँग्रेसबाट विजयी भए पनि यो पटक भने उनले मात्र १८ हजार ५४० मत मात्र पाए ।यस्तै उपमेयरमा पनि एमालेकी रौशन परविन १९ हजार २५१ मत ल्याएर विजयी बनिन् । सो उपमहानगरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका जसपाका प्रमोद प्रसाद गुप्ता १८ हजार ३०४ मत ल्याएर पराजित बने । यसअघि सो उपमहानगरपालिकामा काँग्रेसकी रहिमा खातुन विजयी भएकी थिइन् ।
यसैगरी बाराकै जितपुर सिमरा उपमहानगरपालिकामा भने माओवादी केन्द्रका राजन पौडेल विजयी भए । अघिल्लो निर्वाचनमा उपमहानगरपालिकामा पराजित भएका पौडेलको यो निर्वाचनमा विजय मात्रै भएन उनले पार्टीको उपमहानगरमा प्रतिनिधित्व पनि गराउन सफल भए । राजनले एमालेकी सरस्वतीदेवी चौधरीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । राजनले १८ हजार ७४३ मत पाउँदा सरस्वतीले १७ हजार ७७९ मत पाए ।यस्तै उपमेयरमा भने एमालेका भोला प्रसाद अधिकारी १७ हजार ४१८ मत ल्याएर विजयी बने । उनले सत्ता गठबन्धनकी उम्मेदवार नेपाली काँग्रेसकी मेघा शाहीलाई पराजित गरेकी हुन् । यसअघिको निर्वाचनमा मेयरमा एमालेका कृष्ण प्रसाद पौडेल विजयी भएका थिए । अहिले एमालेले मेयर गुमाएको हो । जितपुर सिमरामा सत्ता गठबन्धनबीच भएको तालमेलअनुसार माओवादीले मेयर र काँग्रेसले उपमेयर पाएको थियो ।

हेटौँडामा एमालेको विद्रोहीको जित :
एमालेको लालकिल्ला भत्काउँदै मकवानपुरमा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी बनिन् । लामा उनै हुन् जो अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट उपमेयरमा विजयी भएकी थिइन् भने उनी माधव नेपालले नयाँ पार्टी बनाएपछि एकीकृत समाजवादीतिर लागेर हेटौँडाको मेयर उम्मेदवार बनेकी थिइन् । लामाले २३ हजार ७५ मत ल्याएर विजय हासिल गर्दा एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत ल्याए । यस्तै उपमेयरमा काँग्रेसका राजेश बानिया ३२ हजार ५९३ मत ल्याएर विजयी हुँदा एमालेकी सुमित्रा काफ्ले २३ हजार ९०९ मत ल्याएर पराजित बनिन् । हेटौडामा सत्ता गठबन्धनबीचको तालमेलअनुसार समाजवादीले मेयर र काँग्रेसले उपमेयर पाएकामा दुवै पदमा सफलता हासिल भएको हो ।अघिल्लो निर्वाचनमा हेटौँडाको मेयरमा एमालेका हरिबहादुर महत विजयी भएका थिए भने उपमेयरमा लामा थिइन् ।
बुटवलमा एमालेलाई धक्का, घोराही र तुलसीपुरमा गठबन्धनलाई चक्मा :
बुटवल उपमहानगरपालिका एमालेको लाल किल्लाको रूपमा मानिन्थ्यो । तर सोही उपमहानगरपालिकामा एमालेका उम्मेदवार पराजित भए । बुटवलमा एमालेका मेयर पदका उम्मेदवार बाबुराम भट्टराईलाई पराजित गर्दै काँग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका हुन् । उनले ३० हजार २४९ मत पाउँदा भट्टराईले २२ हजार ७१८ मत पाए । यस्तै उपमेयरमा भने एमालेले पद जोगाउन सक्यो । एमालेकी उम्मेदवार सावित्रादेवी अर्यालले एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई पराजित गरेकी हुन् । सावित्राले २५ हजार ६१ मत ल्याउँदा गुरुङले १७ हजार २३ मत मात्रै ल्याउन सके । यसअघिको निर्वाचनमा एमालेबाट बुटवलको मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य विजयी भएका थिए । एमालेले दाङको घोराही र तुलसीपुरमा भने आफ्नो सत्ता जोगाउन सक्यो । अघिल्लो स्थानीय तह निर्वाचनमा घोराहीको मेयरमा एमालेका नरुलाल चौधरी र उपमेयरमा सीता सिग्देल न्यौपाने विजयी भएका थिए । अहिले आएर फेरि मेयरमा उनै चौधरी र उपमेयरमा हुमा कुमारी डिसी विजयी भएकी छन् ।
यस्तै तुल्सीपुरमा पनि एमालेबाट मेयर र उपमेयर विजयी भएका छन् । सो उपमहानगरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । अघिल्लो चुनावमा एमालेबाट मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया शर्मा विजयी भएका थिए । घोराहीमा सत्ता गठबन्धनबीच तालमेल हुँदा मेयर माओवादी केन्द्र र उपमेयर नेपाली काँग्रेसले पाएको थियो भने तुलसीपुरमा मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादी पार्टीले पाएको थियो । जहाँ गठबन्धन भत्काउँदै एमालेले विजयको झण्डा गाड्न सफल भएको हो ।लुम्बिनी प्रदेशको राजधानी दाङमा राख्न सफल भएकाले पनि दाङको उपमहानगरपालिकामा एमालेको विजय भएको कतिपयको विश्लेषण छ । एमालेका महासचिव तथा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको लबिङका कारण प्रदेश राजधानी दाङको भालुवाङ हुन सफल भएको थियो । त्यसैको साइड इफेक्टस्वरुप एमाले बुटवलमा पराजित भएको पनि विश्लेषण गरिन्छ । भालुवाङ प्रदेश राजधानी बनाइँदै गर्दा एमाले उपाध्यक्ष विष्णु पौडेललगायतका नेता मौन बसेको आरोप लाग्ने गर्छ ।
नेपालगन्जमा राप्रपाको सत्ता ढल्यो :
अघिल्लो निर्वाचनमा बाँकेको नेपालगन्जमा राप्रपाका धवलशमशेर राणा विजयी भएका थिए । यस्तै उपमेयरमा काँग्रेसकी उमा थापा विजयी भएकी थिइन् । यो निर्वाचनमा भने राप्रपा पराजित भएर काँग्रेस विजयी बन्न सफल रह्यो । मेयरमा काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दीन राई विजयी भएका हुन् । विष्टले २३ हजार ४६० मत पाउँदा एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । यस्तै उपमेयरमा जसपाका राई १७ हजार ९५० मत ल्याएर विजयी हुँदा एमालेकी शान्तिदेवी ढकाल १० हजार ९१५ मत ल्याएर पराजित बने । मेयर र उपमेयरमा राप्रपाका उम्मेदवारहरू नन्दलाल वैश्य र बिन्दु चर्ची मगरले क्रमशः ७ हजार ५९८ र १० हजार १३५ मत पाए । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार मेयर काँग्रेस र उपमेयर जसपाले पाएको थियो भने एमाले र राप्रपा छुट्टाछुट्टै लगेका थिए । जसमा गठबन्धन सफल हुँदा राप्रपाको सत्ता भने ढल्न पुग्यो ।
धनगढीमा दोस्रो प्रयासमा स्वतन्त्र सफल :
धनगढी उपमहानगरपालिकामा अघिल्लो निर्वाचनमा काँग्रेसका नृप वड विजयी भएका थिए । यो निर्वाचनमा उनै वड पराजित बने। उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले हराएका हुन् । यस्तै उपमेयरमा अघिल्लो निर्वाचनमा काँग्रेसकी सुशील मिश्र विजयी हुँदा यो पटक एमालेले बाजी मार्‍यो । सत्ता गठबन्धनमा भएको तालमेलअनुसार काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएको थियो । जहाँ दुवै पद गठबन्धनले गुमाएको हो । धनगढीमा विजयी भएका हमाल दोस्रो प्रयासमा सफल भएका हुन् । अघिल्लो निर्वाचनमा पनि उनी निकटतम प्रतिद्वन्द्वी बनेका थिए । यो पटक भने उनी वडलाई भारी मतान्तरले हराउन सफल भएका हुन् । हमालले २६ हजार ७६५ मत पाउँदा काँग्रेसका वडले मात्र १४ हजार ८१७ मत पाए ।यस्तै उपमेयरमा एमालेकी कन्द्रकला कुमारी राना १५ हजार ४७९ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रकी शान्ति कुमारी अधिकारी क्षेत्री १२ हजार ६७० मत ल्याएर पराजित बनिन् । स्थानीय निर्वाचनमा सत्ता गठबन्धन भए पनि चुनावी नतिजामा एमालेको उपस्थिति दमदार देखिएको छ । गठबन्धनबाट पर्याप्त अध्ययनबिना भागबण्डा र उम्मेदवार तय गर्दा नतिजा प्रभावकारी आउन नसकेको विश्लेषण गरिएको छ ।रातोपाटीवाट

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६