अर्थ-वाणिज्य

पाँच दलीय चुनावी सभामा घोचपेच: माधव नेपाललाई स्थानीय तहको हिसाब आएन



काठमाडौँ२३ बैशाख। सत्तारुढ गठबन्धनले शुक्रबार दिउँसो काठमाडौँको शान्ति बाटिकामा चुनावी सभा आयोजना गर्‍यो। चुनावी सभामा प्रमुख अतिथिका रुपमा उपस्थित थिए कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा। विशिष्ट अतिथिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जसपाका नेता राजेन्द्र श्रेष्ठलगायत।बुधबार विराटनगरमा चुनावी सभापछि कांग्रेससहित पाँचै दल बिहीबार भरतपुरमा उत्रियो। लगत्तै शुक्रबार भृकुटीमण्डपको शान्ति बाटिका अगाडि सडक कब्जा गरेर सत्तारुढ दल चुनावी सभामा उत्रेको हो। काठमाडौँमा गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह मेयरका उम्मेदवार रहेका छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उपमेयरको उम्मेदवार।गठबन्धनका नेताहरुले साझा उम्मेदवालाई जिताउन आग्रहमात्र गरेनन् एमालेबाट मेयरको उम्मेदवार रहेका केशव स्थापितको उछितो काढ्न भ्याए। दिउँसो १ बजेदेखि हुने भनिएको चुनावी सभा डेढ घण्टापछिमात्र सुरु भयो। पाँच दलीय मोर्चा भएकोले होला सभामा पाँचथरि कुरा सुनिए पनि एकअर्काको प्रशंसामा पनि उत्रिए नेताहरु। चुनावी सभामा देखिएका केही रोचक दृश्य स्

देउवालाई दुई पटक आसनः

कार्यक्रममा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड आइनपुग्दै साढे २ मै कार्यक्रम सुरु गरियो। काठमाडौं कांग्रेसका सभापति कृष्ण बानियाँ सबुजले स्वागत भाषण गर्दै विपक्षी उम्मेदवार स्थापितले महिलाको अपमान गरेको आरोप लगाए। स्थापितले मत माग्ने अधिकारसमेत गुमाएको उनको दाबी रह्यो। लगत्तै उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले आफ्नो धारणा राखे।श्रेष्ठले अन्डरपासदेखि फ्लाइओभर निर्माण यही गठबन्धनले गर्ने बताउँदै गर्दा प्रधानमन्त्री देउवा आइपुगे। लगत्तै उद्घोषकले उनको आगमन भएको संकेत गर्दै ताली बजाउन आग्रह गरे। उनी आसनमा बस्नसाथ उपमेयरका उम्मेदवारले भने, ‘आजका प्रमुख अतिथि सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाज्युलाई प्रमुख अतिथिको आसनग्रहण गर्नुहुन हार्दिक अनुरोध गर्दछु।’ प्रधानमन्त्री देउवा बसिरहेका ठाउँबाट उठे र सबैलाई नमस्कार गर्दै आसन ग्रहण गरे।केहीबेरमै श्रेष्ठले मन्तव्य टुंगाए। त्यसपछि उद्घोषकले पुन देउवालाई प्रमुख अतिथिको आसनग्रहण गर्न अनुरोध गरे। प्रधानमन्त्री देउवा बसिरहेका ठाउँबाट फेरि उठे र सबैलाई नमस्कार गर्दै आसन ग्रहण गरे।

‘एक बजे भनेर ३ बजे सुरु:

चुनावी सभामा मेयरको उम्मेदवार र वागमती प्रदेशका कांग्रेस सभापति इन्द्र बानियाँले मन्तव्य राखेपछि पालो आयो जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको। केसीले आफू कार्यक्रममा समयमै आए पनि ढिला सुरु भएकोमा रोष प्रकट गरे।
‘एक बजे भनेर दौडेर आएको कार्यक्रम ३ बजे पो सुरु भयो,’ उनले भने। यतिमात्र हैन केसीले आफूले कसैलाई खुसी पार्न जय नेपाल त कसैलाई लालसलाम भन्न नसकिने तर्क गरे। ‘कसैलाई खुसी पार्न जय नेपाल भनिरहनु पर्दैन। कसैलाई खुसी पार्न लाल सलाम भनिरहनुपर्दैन। अभिनन्दन भनेपछि भयो, सबैलाई अभिनन्दन।’
माधव नेपाललाई स्थानीय तहको हिसाबमा आएन :
चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा ५७३ स्थानीय तह रहेको हिसाब प्रस्तुत गरे। त्यो पनि एकपटक होइन दुई दुई पटक। ‘सबै ७७ जिल्लाका आदरणीय जनता र मतदातालाई भन्न चाहन्छु। ५७३ वटा पालिकाका ६७४३ वडाका सबै मतदाताहरुलाई भन्न चाहन्छु। तपाईंहरुले आफ्नो आफ्नो ठाउँमा प्रगतिशील गठबन्धनमा सामेल भएका दलहरुको पक्षमा मतदान गर्नुस्,’ नेपालले आफ्नो मन्तव्यको ८औँ मिनेटमा भने। एमालेलाई प्रतिगामी आरोप लगाउँदै नेपालले प्रतिगामीलाई मत हाले जीवनभर पछुताउनुपर्ने पेश गरे। ‘अत्यन्तै हास्यस्पद कामहरु एकैचोटी एकैठाउँमा बसेर जम्मै ५७३ पालिकाका जति पनि अस्पताल छन् एकै ठाउँबाट उद्घाटन गर्ने शिलान्यास गर्ने,’ नेपालले भने, ‘६ महिनापछि सम्पन्न हुने परियोजनालाई आजै उद्घाटन गर्ने पाँच वर्षपछि सम्पन्न हुनेलाई आजै उद्घाटन गर्ने यी सबै अत्यन्तै कही नहुने जात्रा केपी ओलीको पालामा हामीले देख्यौँ।’ त्यस्तो काम गर्ने पार्टीलाई बिर्सेर पनि मत हाल्न नहुने उनको भनाई छ ।
कारबाही गर्न नेपालको माग :

चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस र माओवादीलाई लक्षित गर्दै एमालेसँग तालमेल नगर्न चेतावनी दिए। पाँच दलीय तालमेल हुन नसकेको केही स्थानीय तहमा माओवादी र कांग्रेसले एमालेसँग तालमेल गरेको छ।उक्त विषयमा आपत्ति जनाउँदै नेपालले प्रतिगामीसँग साँठगाँठ गरेको आरोप लगाए। तालमेल गरेको ठाउँमा सम्बन्धित पार्टीले कारवाही नगरे गठबन्धनमा विश्वासको संकट आउने नेपालले चेतावनी दिए।‘कतिपय ठाउँमा प्रतिगामीसँग साँठगाँठ भएको देखेको छु। उनीहरुलाई कारबाही होस्। नभए गठबन्धनमा विश्वासको संकट आउन सक्छ,’ उनले भने, ‘सबै वडामा मिलाउन सकेको भए राम्रो हुन्थ्यो। कुनै वडामा एउटामात्र पार्टीको छ। कुनैकुनैमा दुईवटा पार्टीको मात्रै छ। मिलाउन सकेको भए राम्रो हुन्थ्यो।’ नेपालले आफू उपप्रधानमन्त्री हुँदा वृद्ध भत्ता सुरु गरेको स्मरण गराउँदै सबै एमालेविरुद्ध एक भएर जानुको विकल्प नभएको धारणा राखे। ‘एक भएर जानुको विकल्प छैन। दुईटा गठबन्धन छ। वाम लोकतन्त्रिक र अर्को प्रतिगामी दक्षिणपन्थी गठबन्धन परिवर्तन र संविधान विरोधी प्रतिगामी गठबन्धनमा रहेको छ,’ उनले भने।

‘गठबन्धन विरोधी एमालेको सहयोगी :

वाग्मती कांग्रेस सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धनको विपक्षमा उभिने कांग्रेस हुनै नसक्ने दाबी गरे। गठबन्धनमा एकले अर्कोलाई मत हाल्ने अभ्यास भइसकेको उल्लेख गर्दै बानियँले भने, ‘कांग्रेसले हँसिया हथौडामा र माओवादीले रुखमा मत हाल्दैनन् भन्ने भ्रम छ। यो प्रक्टिस भइसक्यो। राष्ट्रिय सभामा भइसक्यो। बार एसोसिएसनमा पनि भइसक्यो। ओलीका कार्यकर्ताले भ्रम फैलाएको मात्र हो। गठबन्धनको विपक्षमा उभिने कांग्रेस हुन सक्दैन। विद्रोही भनेको एमालेको सहयोगी हो।’ बानियाँले केशव स्थापित महा हावादारी भएको आरोपसमेत लगाए। ‘केशव स्थापित महा हावादारी हो, कतै हजार भोट पाउँछ, कहिले कुन पार्टीमा जान्छ कहिले कुनमा। उद्दण्ड मान्छे छ। ओलीले आफूजस्तै हावादारी उम्मेदवार पाएछ। केही न कामको मान्छेलाई उम्मेदवार बनाएर उपहास गरेको छ एमालेले,’ बानियाँले भने।
‘प्रचण्डपुत्री’ र ‘प्रकाशमानपत्नी’ भनेकोमा आपत्ति:

दुवै महिला उम्मेदवारहरुलाई उनीहरुको परिवारसँग जोडिएर हेरेकोमा उनले आपत्ति जनाए। रेनु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री हुनु र सिर्जना सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुनु गल्ती नभएको उनको भनाइ थियो। नाता पर्दैमा उनीहरुलाई अवसरबाट बञ्चित गराउन नहुने देउवाको मत थियो।‘कहाँ जन्मने कुरा आफ्नो हातमा हुदैन नि। के गर्नेरु प्रचण्डको छोरी भएर जन्मियो त के गर्नेरु कति राम्रो काम गर्नुभएको छ। त्यस्तो राम्रो काम गर्ने महिलालाई दिँदैन भन्छन्। मत नदिएर हुन्छरु’ देउवाले भने। ‘हाम्रै साथीहरु बखेडामा उत्रेका छन्। वीपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु अहिले विपक्षमा छन्,’ देउवाले भारतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई लक्षित गर्दै भने।यस्तै सिर्जनाले राम्रो काम गर्ने वचन दिएको भन्दै उनमा केही कमी नभएको उनले बताए। ‘आमाबुवाले बिहे गर्दिए के गर्नुरु गरौ के बिचरी। जेल परेकी। प्रकाशमानसँग बिहे गर्नु गल्ती होरु के कुराको कमी छ उहाँमा। उहाँले भनिसक्नुभयो। राम्रो काम गर्ने वचन दिएकी छिन्,’ देउवाले भने।राजधानीमा महिला हारेमा अन्तर्राष्ट्रिय क्षेत्रले के भन्ला भन्ने विषयमा ध्यान दिन उनले आग्रह गरे।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६