कर्णाली

बिरामी बृद्धलाई पिठ्यूँमा बोकेर अस्पताल पुर्‍याउने दुई प्रहरी पुरस्कृत



सुर्खेत, ०५ फागुन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ चौफाका १०२ वर्षीय जसवीर ओली बिरामीले थला परेको साता दिन बढी भयो। बिरामी भएपछि आफूलाई अस्पताल लैजान आग्रह गरिरहँदा पनि घरका कसैले नसुनेजस्तै गरेपछि मंगलबार ओली आफैं उपचारका लागि अस्पताल जान घरबाट हिँडे।

उमेरले सय नाघेका त्यसमाथि बिरामी ओली हिँड्न नसकेर बाटोमै थला परे। उपचारका लागि अस्पताल हिँडेका उनी बाटामै थला परेपछि थप चिन्तित भए। बाटोमै थलिएर बसिरहेको अवस्थामा सोही वडामा रहेको प्रहरी चौकी सर्केनाबाट दुई जवान गस्तीमा निस्केका थिए। उनीहरूले बिरामी ओलीलाई बाटोमा फेला पारेपछि उद्धार गरेर नगर अस्पताल पुर्‍याए।

प्रहरी आफैंले पिठ्यूँमा बोकेर वृद्धलाई उपचारका लागि अस्पताल पुर्‍याएर आफन्तलाई खबर गरेको बताइएको छ। प्रहरी जवानले बिरामी वृद्धलाई पिठ्यूँमा बोकेर अस्पताल लैजाँदै गरेको फोटो अहिले सामाजिक सञ्चालमा भाइरल बनेको छ।

समाजमा हुने अपराध न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा दिन मात्र नभई नागरिकलाई हुने दुःखपीडामा पनि प्रहरीले साथ दिने गरेको चौरजहारी नगरपालिका ११ का वडाध्यक्ष मनमोहन शाहले बताए। अहिले ओलीको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रदेश प्रहरी कार्यालयद्वारा पुरस्कृत

उपचारका लागि अस्ताल जाँदै गर्दा बाटोमा फेला परेका वृद्धको उद्धार गरेको भन्दै दुई प्रहरी जवानलाई कर्णाली प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ। प्रहरी जवान दलबहादुर बुढा र स्वयं प्रकाश हमाललाई जनही नगद १ हजार ५ सय रूपैयाँका दरले पुरस्कृत गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए।

प्रहरीको छविलाई उच्च बनाउनुका साथै समाजमा प्रहरीप्रतिको जनविश्वास राख्ने काम गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरेको उनको भनाइ छ। नागरिकलाई सुरक्षा दिने मात्र नभई गाउँ हुने अन्य समस्यामा पनि प्रहरीले सहयोग गर्दै आएको डीआईजी ऐरले बताए। ‘विकट गाउँठाउँमा सीमित साधनस्रोतका बीचमा बसेर पनि प्रहरी कर्मचारीले नागरिकको सेवा गर्दै आएका छन्,’ डीआईजी ऐरले भने, त्यस्तो काम गर्नेहरूलाई हामीले सम्मान गर्नुपर्छ। यसले थप काम गर्न ऊर्जासमेत आउने गर्छ।’

कर्णालीमा हुने अपराध न्यूनीकरण गर्दै समाजमा शान्ति सुरक्षा स्थापना गर्न विशेष योजना बनाएर काम गर्दै आएको प्रहरीको भनाइ छ। कोभिड रोकथाम, समाजमा रहेका विकृतिको अन्त्यका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको डीआईजी ऐरले बताए। ‘हामी प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी संस्था तथा स्थानीयवासीसँग सहकार्य गर्दै अपराधमुक्त समाज निर्माण गर्ने अभियानमा काम गर्दै आएको छौं,’ उनले भने। वृद्धलाई पिठ्यूँमा बोकेर अस्पताल लानु समाजमा रहेका असहाय, अशक्तको साथी बनेर प्रहरीले काम गर्दै आएको एउटा उदाहरण भएको डीआईजी ऐरको भनाइ छ। (नागरिक न्युजबाट साभार।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६