प्रदेश

न्यायालयको समस्या समाधान गर्न सरकार तयार छः प्रचण्ड



कैलाली, ०८ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

आज बुधवार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहालले सञ्चारकर्मीहरूसँगको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या समाधान गर्ने बताउनुभयो । अध्यक्ष दाहालले अदालतमा ठूलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भए पनि कुनै ठूलो समस्या नहुने गठबन्धनलाई लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘न्याय भनेको सामान्यतया एउटा स्वतन्त्र र गरिमामय संस्था हो । मानिसहरूले अन्तिममा गएर न्याय खोज्ने भनेको न्यायालय, अदालतमा गएर नै हो, तर अदालतभित्र अहिले देखिएको समस्या पक्कै पनि राम्रो होइन । त्यस कारण यसमा हामी गठबन्धनका पाँच वटै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, यसको छिटो भन्दा छिटो समाधान हुनुपर्छ भन्ने हामी ठान्दछौँ । यो विषय सकेसम्म अदालतले आफैँ सल्ट्याउन सक्दा राम्रो हुन्छ भन्ने कुरासम्म हामीले बोलेका छौँ । आजरभोलिको अवस्था हेरेर फेरि गठबन्धनको बैठक बसेर आवश्यक परेमा एक स्टेप अगाडि बढेर समस्या समाधानका लागि के सहयोग गर्न सकिन्छ त्यतातिर सोचाइ बन्छ, मलाई के विश्वास छ भने केही दिनमा यसले एउटा निकास पाउँछ । यसबाट ठूलै समस्या हुन्छ कि भन्ने कतिपयले कल्पना गरेका छन्, त्यस्तो हुन्छ भन्ने गठबन्धनलाई लागेको छैन ।’

अध्यक्ष दाहालले पाँच दलीय समन्वय समिति बनाउँदा कतिपयले सरकार भन्दामाथि भएको टिप्पणी गरिरहेको भन्दै समन्वय समिति पार्टीहरूबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र भएको बताउनुभयो । उहाँले गठबन्धनलाई अब आउने चुनावसम्म लैजाने दाबी गर्दै अब राष्ट्रिय सभामा खाली १९ सिटको चुनावमा मिलेर उठ्ने पनि बताउनुभयो । अध्यक्ष दाहालले प्रतिनिधि सभाको र प्रदेश सभाको उपचुनाव भयो भने पनि मिलेर प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

देशमा तत्काल राजनीतिक अस्थिरता नहुने बताउँदै उहाँले विकास, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिदेखि राजदूत नियुक्ति गर्नेसम्मका निर्णयहरू सुदूरपश्चिमका मुख्यमन्त्री र पार्टी इन्चार्जहरूसँग छलफल गरेरमात्र अघि बढाउने बताउनुभयो । उहाँले सुदूरपश्चिम सरकार नढल्ने पनि बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले राष्ट्रिय सहमतिमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पास गरिने बताउनुभयो ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६