प्रदेश

लुम्बिनी प्रदेशका महत्वाकांक्षी योजना अलपत्र



बुटवल, २२ मंसिर । लुम्बिनी प्रदेशका महत्वाकांक्षी नौ वटा विकासे आयोजना अलपत्र परेका छन् । प्रदेश योजना आयोगले अगाडि सारेका योजना नयाँ सरकार गठनयता अलपत्र परेका हुन् ।

प्रदेश योजना आयोगले गतवर्ष बर्सेनि पहिरो गइरहने सिद्धबाबा क्षेत्रको डाँडा काटेर नमूना बस्ती निर्माण गर्नेदेखि लुम्बिनी प्रादेशिक अस्पताललाई अत्याधुनिक बनाउनेसम्मका योजना बनाएको थियो ।

अघिल्लो सरकार हटेर नयाँ सरकार बनेसँगै यी योजना कागजमै थन्किएका छन् । नौवटा मध्ये एउटा योजनाको काम अगाडि बढेपनि प्रगति अत्यन्तै निराशाजनक छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश योजना आयोगले अगाडि बढाएका विकासे योजनाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको थियो । नौवटा योजनामध्ये विद्युतीय बस सञ्चालन गर्ने र यसको सम्भाव्यता अध्ययनअघि बढाउने गरी योजना आयोगले कार्यक्रम तय गरेको थियो । यसका लागि पाँच लाख बजेटसमेत छुट्टयाइएको थियो । तर, विद्युतीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन हालसम्म पनि सुरू भएको छैन ।

प्रदेश योजना आयोगले विगतमा अघि बढाएका काम छिटै पूरा हुने आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले बताए । ुविद्युतीय बस सञ्चालनका लागि पनि अब चार्जिङ स्टेशन बनाउने योजनामा छौं, आगामी पुस महिनादेखि काम सुरु गरिने छु, उनले भने । कुन कुन स्थानमा चार्जिङ स्टेशन रहने भन्ने कुराको टुंगो भने अझै लागिसकेको छैन ।

प्रदेश योजना आयोगले गतवर्ष लुम्बिनी प्रादेशिक अस्पताललाई अत्याधुनिक बनाउने र यसका लागि डीपीआर निर्माण गर्ने भन्दै दुई करोड ३५ लाख रकम छुट्टयाएको थियो । योजनाको काम नभएको सत्य हो, तर कागजमै थन्काएर राखेका छैनौं, सबै योजना अगाड बढ्छन्ु, प्रदेश योजना आयोगका प्रवक्ता दामोदर भुसालले भने । आयोगले गतवर्ष वातावरणीय प्रभाव मूल्यांकनको लागि भन्दै १० लाख बजेट विनियोजन भएको थियो । आवश्यक योजना बनाएर आयोगले प्रदेश सरकारसमक्ष पेस गरेपनि प्रगति भने शून्य छ । प्रदेश योजना आयोगले अस्पताल परिसरकै पुरानो पेट्रोलपम्प भएको स्थानमा विजनेश कम्प्लेक्स बनाउने गरी योजना बनाएपनि हालसम्म काम अगाडि बढेको छैन । आयोगका प्रवक्ता भुसालले कोभिडका कारण पनि काममा प्रगति हुन नसकेको स्वीकार गरे । ुसंरचना पनि सबै बनेका छैनन्, कर्मचारीको पनि अभाव छ, त्यसैमाथि कोभिडले कामको गतिलाई रोक्यो, उनले भने ।

योजना आयोगले अध्ययन सकेर प्रदेश सरकारलाई बुझाएका प्रतिवेदन अलपत्र हुँदा बजेटसमेत फ्रिज हुने देखिएको छ । राप्ती अस्पतालको गुरुयोजना, बुटवल बिजनेश कम्प्लेक्सको अध्ययन, रिक्रयएशनरथिम पार्कको अध्ययन, बुटवल–भैरहवा, घोराही–तुलसीपुर, कोहलपुर–नेपालगन्ज महानगरको सम्भाव्यता अध्ययन गरी योजना आयोगले प्रतिवेदन तयार पारेको छ । ६२ लाख रुपैयाँ अध्ययनको लागि खर्च भएको यी आयोजनाको काम पनि अगाडि बढेको छैन । त्यस्तै प्रादेशिक राजधानीको गुरुयोजनाको लागि ८० लाख, प्रदेशसभा भवन निर्माणको लागि चार करोड रुपैयाँ बिनियोजन गरी आयोगले काम थालेको थियो ।

आयोगका उपाध्यक्ष क्षेत्रीले यो वर्ष विद्युतीय बस सञ्चालन गरेरै छाड्ने दावी गरे । यो वर्ष प्रदेश योजना आयोगले करिव एक दर्जन योजनाअघि बढाएको छ । जसमा संभाव्यता अध्ययन, डीपीआर, गुरुयोजना लगायतका कार्यक्रम छन् । यो वर्ष प्रदेश बैंक स्थापना गरी सञ्चालन गर्ने र यसको विस्तुत अध्ययनको काम तत्काल अघि बढाइने आयोगका प्रवक्ता दामोदर भुसालले जानकारी दिए । त्यस्तै यसैवर्ष आयोगले प्रादेशिक विश्वविद्यालय स्थापनाको योजना अगाडि बढाएको छ । त्यस्तै एकसय बिघा क्षेत्रफलमा धानखेती गरी धानखेती प्रवद्र्धनको कार्यक्रम समेत आयोगले चालु वर्षअघि बढाउँदै छ ।

राष्ट्रिय योजना आयोग र लुम्बिनी प्रदश योजना आयोगले केही दिन अगाडि मात्रै बुटवलमा योजना सम्मेलन गरेका थिए । सम्मेलनमा सहभागी विज्ञहरुले कानुनी अड्चन, नीतिगत सुधार नहुनु, कर्मचारी अभाव र आवश्यक संरचना नहुँदा योजना कार्यान्वयनमा समस्या आएको बताएका थिए ।

साभार

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६