प्रदेश

कांग्रेस अधिबेशनको चिरफार : जनताले जिताएकालाई कार्यकर्ताले किन हराए ?



भेषराज पाण्डे
कपिलवस्तु १६ मंसिर । नेपाली कांग्रेस उसकै भाषामा लोकतन्त्रको जननी र प्रजातन्त्रको पहरेदार भनिन्छ । कांग्रेसले महाधिबेशन देखि अधिबेशन सम्म प्राय चुनाव मै विश्वास गर्छ । सबै तहमा चुनावगर्न पार्टी संरचना अटोमेटिक रुपमा परिचालित हुन्छन् ।कपिलवस्तुमा पनि वडा देखि पालिका हुदै जिल्ला सम्म विभिन्न पदमा कार्यकर्ताले मज्जाले चुनावमा भागलिए । जिते हारे आफू सक्दो जिम्मेवारी पनि पाए । यो कांग्रेस वाहिरी राजनीतिको पाटो हो ।सतहमा सहज चुनाव देखिएपनि कांग्रेसको भित्री राजनीतिका केहि कुरा निकै रोचक र घोचक छन् । ती पक्षलाई एक एंगलवाट मात्र चिरफार गरेर हेर्दा यस्तो देखियो ।
अधिकांस जनप्रतिनिधी हारे :
नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत भएको विभिन्न तहको अधिबेशन र महाधिबेशन प्रतिनिधी छनौटमा कपिलवस्तुमा जनताले पत्याएका जनप्रतिनिधी प्राय सबै हारेका छन् । त्यसरी कार्यकर्ताको मतवाट पराजयको पीडा भोग्नेमा राष्ट्रिय सभाका सदस्य दिर्घ नारायण पाण्डे ,प्रदेश सांसद माला गोतामे, जिसस कपिलवस्तुका सभापति नारायण खनाल देखि लिएर मेयर सम्म रहेका छन् । केन्द्रिय महाधिबेशन प्रतिनीधिमा जिजसका प्रमुख नारायण खनाल र उपप्रमुख मिरा थारु दूबै पराजित हुनु भयो । प्रदेश क्षेत्र १ को १मा सभापतिमा उम्मेदवार बनेका वाणगंगाका मंगल प्रसाद थारु पराजित हुनु भयो । महाधिबेशन प्रतिनिधीमा उम्मेदवार बनेका कपिलवस्तु नगरका मेयर करिण सिंह पराजित हुनु भयो । यस्तै विभिन्न वडाका अध्यक्षहरु धेरै जनाले हारेका छन् ।
केशव र लक्ष्मीलाई चिटठा :
माथिल्लो देखि तल्लो तह सम्मका जनप्रतिनिधीले आन्तरीक पार्टी चुनावमा कार्यकर्तावाट पराजयको सामना गरि रहदा बुद्धभूमीका मेयर केशव श्रेष्ठ र तौलिहवा नगरकी उपमेयर लक्ष्मी गुप्ताले भने चुनाव जित्नु भयो । श्रेष्ठ क्षेत्र नं २को क्षेत्रिय सभापतिमा निर्वाचित हुनु भयो भने लक्ष्मी महाधिबेशन प्रतिनिधीमा । यसो हुनुमा खासगरी विगतमा पार्टीका विरुद्ध प्रदेश सांसदमा उम्मेदवारी दिएको भनेर कारवाही गरिएका पूर्व पार्टीका उपसभापति राजु अर्यालको साथ समर्थन केशव र लक्ष्मीले पाएपछि उहाँहरु दुबै निर्वाचित हुनु भएको हो ।
अर्यालले भनेर दिलाउन सक्ने करिव ३० मत नै उहाहरुको जितका लागि आधार बनेको एक कांग्रेस कार्यकर्ता वताउछन् । अर्यालले आफूलाई मेयरका रुपमा अघि सारेको र त्यसमा सहयोग हुने अपेक्षा राखेर श्रेष्ठ र लक्ष्मीसंग सहकार्य गरेको कांग्रेस श्रोतको भनाइछ ।
अत्तहर कमाल र राजेश सिंहको गोल :
यसपालिको महाधिबेशनमा माथि शेर वहादुर देउवालाई समर्थन गरेपनि जिल्लामा रामचन्द्र पौडेल समर्थक अब्दुल कलामलाई सभापति बनाउन शेर वहादुरका कटटर समर्थक केन्द्रिय नेता अत्तहर कमाल र राजेश सिंह विशेष रुपमा लागि परेको श्रोतको दावि छ । उहाँहरुले खुलेयाम रुपमा यो कुरा स्वीकार्न चाहानु हुन्न। तर दुबै जना कलामका पक्षमा लागेको र आफू मातहतका सोही अुनसार मतदान गर्न आग्रह गरेको वताइन्छ ।
यसो हुनुमा कलामले केन्द्रिय महाधिबेशनमा शेर वहादुर देउवालाई सघाउने सर्त गरेकाले वर्तमानका केन्द्रिय सदस्य अत्तर कमालले कलामलाई सघाएको एक कार्यकर्ताले वताए । अर्काेतिर स्वयममा मुस्लिम समुदायको २ नेताले आपसमा भाइचारा सम्वन्धकालागि अघोषित तालमेल गरेको बिष्लेषण गर्ने पनि कम छैनन । यता वर्तमानका आमन्त्रीत केन्द्रिय सदस्य राजेश सिंहले राजेश आचार्यलाई पराजित गरेमा आफूले प्रदेश सांसदको टिकट क्षेत्र नं १ को २ मा पाउने आसमा कलामलाई सघाएको वताइन्छ । अत्तहर र राजेश दुबै देउवा समुहका नेता हुन् ।यी दुई नेताले हानेको गोलले कलाम निर्वाचित त भए तर देउवा समुहले पराजय भोग्यो ।
पालिका देखि जिल्लामा पौडेल, प्रतिनीधिमा देउवा :
यसपालिको महाधिबेशनवाट कपिलवस्तुका १० मध्ये ८ पालिका र जिल्ला समितीको करिव २ तिहाई स्थान सस्थापन इतर समुहले कब्जा गरेको छ । तर क्षेत्र नं २ वाहेक महाधिबेशन प्रतिनिधीमा भने अधिकांस देउवा समर्थक निर्वाचित भएको वताइन्छ । खास गरी अत्तकह कमाल , दिपकुमार उपाध्याय , अभिशेष प्रताप शाह, राजेश सिंह जस्ता नेता देउवा क्याम्पमा रहेकाले महाधिबेशन प्रतिनिधीमा धेरै भन्दा धेरै ल्याउने गरी पालिका र जिल्ला नेतृत्व छाड्न कार्यकर्ता परिचालित गरेको वताइन्छ । यो खासगरी शेर वहादुर देउवालाई सभापति वनाउन महाधिबेशन प्रतिनिधीमा विशेष जोड दिने रणनीति अनुसार भएको श्रोतको दाविछ ।
दिपकुमार र कमलेशको बिश्राम :
यसपाली नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्ययाले पार्टीको महाधिबेशन प्रतिनिधीका लागि चुनाव लड्नु भएन । तर आफ्ना सुपुत्र आशिषलाई भने बाणगंगा नगरपालिकाको वडा नं १० वाट क्षेत्रिय प्रतिनिधी हुदै महाधिबेशन प्रतिनिधी हुने वाताबरण मिलाई सर्वाधिक मत कासाथ निर्वाचित गराउनु भयो । यसलाई कांग्रेस भित्र दिपकुमारको सन्यास की बिश्राम भन्ने चर्चा चलेको छ । सायद आफ्नै घरभित्र राजनीतिको पुस्तान्तरणको रुपमा उहाले यस्तो कदम चालेको अनुमान गर्न सकिन्छ । यता कमलेश कुमार शर्मा भने महाधिबेशन प्रतिनिधी लडेर हार्नु भयो । उहाले पनि अव विश्राम लिनु भएको मान्न सकिन्छ ।
कांग्रेसमा सुरेन्द्र फेरीपनि शक्तिशाली :
यसपालिको महाधिबेशनमा सस्थापन इतर समुहवाट सुदाकर पाण्डे र अब्दुल कलाम लड्ने आकलन शुरुवाटै थियो । तर त्यसो भएन सुदाकर पाण्डेले पछिल्लो समय सस्थापनलाई समर्थन गरेर राजेश आचार्यको पक्षमा खुल्नु भयो । यस्तो बेलामा कलामलाई सभापति वनाउनु निर्वमान सभापति सुरेन्द्र राज आचार्यलाई चुनौती पूर्ण थियो । त्यसैले जसलाई जेजे आश्वासन दिएर हुन्छ सुरेन्द्रले कडा मेहनत गरेर कलामलाई जिताएको कांग्रेस कार्यकर्ता वताउछन् । कलाम खासगरि सुरेन्द्रकै सरसल्लाहवाट चल्ने भएकाले फेरी पनि सुरेन्द्र नै शक्तिशाली बनेको विष्लेषण हुने गरेको छ ।
जनप्रतिनिधीलाई हराउनुको कारण खोज्दा :
कांग्रेसको अधिबेशनमा अधिकांस जनप्रतिनिधी हार्नुलाई मुख्य गरी ४ कारण प्रमुख छन् । पहिलो गुटमा देखिदा शिकार बन्नु, दोश्रो सबै चीज एउटैलाई कहाहुन्छ भन्ने कार्यकर्तामा आक्रोस देखिनु , तेश्रो यसबीचमा पार्टी कार्यकर्ताहरु असन्तुष्ट हुनु र चौथो कारण हो आन्तरीक चुनाव न हो जितेपनि ठिक हारेपनि ठिक भन्ने गरी वेवास्ता गर्नु ।जेहोस कपिलवस्तुमा यी र यस्तै कारणले अधिकांस जनप्रतिनिधी हारेका छन् । जनताले पत्याएर विजयी बनाएपनि कार्यकर्ताले पराजयको पीडा बोकाएका छन् ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६