अर्थ-वाणिज्य

अमेरिकाले एमसिसी सम्झौताबारे शीघ्र निर्णय लिन नेपाललाई आग्रह



 अमेरिका ४ मंसिर । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेश सहायक मन्त्री डोनाल्ड लुले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे शीघ्र निर्णय लिन नेपाललाई आग्रह गरेका छन् । औपचारिक भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फर्किनुअघि अमेरिकी राजदूतको निवासमा कूटनीतिक मामिला हेर्ने पत्रकारसँग लुले ‘नेपालले एमसिसी नचाहे अन्य मुलुकमा लैजाने’ सन्देश प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूलई दिएको स्पष्ट पारेका छन् ।

एमसिसी नेपालले नलिए पनि नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने पनि उनले बताएका छन् । ‘नेपाल चाहन्छ भने एमसिसी भोलिदेखि नै कार्यान्वयनमा आउनेछ, यदि नेपालले चाहेको छैन भने हामी अन्त लैजान्छौँ, यसमा केही छैन,’ शीर्ष नेता र उच्च अधिकारीहरूसँग भेटवार्ता सकेर स्वदेश फर्किनुअघि लुले भने, ‘यसबारेमा बृहत् छलफलबाट उपाय निकाल्न नेपाली शीर्ष नेताहरूले चाहेको मैले बुझेको छु । तर, यसले लामो समय लिनुहुँदैन किनभने दुई वर्ष अबेर भइसकेको छ ।’

एमसिसी लिने कि नलिने निर्णय नेपालको हातमा रहेको भन्दै उनले एमसिसीबारे नेपालमा गलत सूचना फैलाइएको पनि गुनासो गरे । ‘एमसिसी लिने कि नलिनेमा होइन, एमसिसीबारे गलत सूचना फैलाइएको प्रति हाम्रो चिन्ता छ,’ लुले भने, ‘लिन चाहनुहुन्छ कि हुन्न भनेर हामीले सरकारलाई सोधेका छौँ । नेपाल सरकारको छनोटमा हाम्रो केही भन्नु छैन ।’ 

उनले २८ मंसिरमा एमसिसी बोर्डको बैठक रहेको, तर नेपाललाई त्यही मितिसम्म एमसिसी सम्झौता लिने वा नलिनेबारे निर्णय लिन आग्रह नगरिएको पनि बताए । यद्यपि, उनको भेटवार्ताहरूबारे जानकार कूटनीतिक स्रोतले आगामी चुनावभन्दा अघि नै यसबारे निर्णय लिन अमेरिकाले आग्रह गरेको छ ।

लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा शुक्रबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । लुले परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाणलगायतसँग पनि शुक्रबारै भेटेका थिए । 

नेपाल, भुटान, श्रीलंका बंगलादेश र माल्दिभ्ससँगको सम्बन्ध हेर्ने उपसहायक मन्त्री केली केइन्डरलिङलाई सँगै राखेर लुले भने, ‘एमसिसी लिन चाहनुहुन्न भने पनि ठीक छ । विश्वमा धेरै मुलुकले एमसिसी लिन चाहेका छन् । यो पारित गर्ने कि नगर्ने भन्ने कुरा यहाँका सार्वभौम जनता, सार्वभौम संसद्ले लिने निर्णयमा भर पर्छ ।’ 

शीर्ष नेताहरूले भने आफूलाई बृहत् छलफलका आधारमा एमसिसी पारित गर्ने विश्वास दिलाएको उनले बताए । ‘नेपाली नेताहरूसँगको छलफलबाट म प्रभावित भएँ, उनीहरूको इच्छाशक्तिलाई म सम्मान गर्छु,’ उनले भने, ‘हिमाल र नदीको संरक्षण, नेपालको विकास र अमेरिकासँग सम्बन्ध थप सुदृढ बनाउनुपर्ने इच्छा मैले पाएँ । हामी कोभिड– १९, नवीकरणीय ऊर्जा, विकास र पूर्वाधारका क्षेत्रमा नेपाललाई सहयोग गर्न, नेपालसँग सहकार्य गर्न चाहन्छौँ 

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६