अर्थ-वाणिज्य

एक मिनेटमा १२ पटक मच्चिने विश्वकै सबैभन्दा अग्लो स्वीङ नेपालमा बन्दै



पर्वत १४ कार्तिक । पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको पर्वतमा साहसिक पर्यटनमा रमाउनेहरूका लागि फेरि अर्को खेल थपिएको छ।विश्वकै दोस्रो अग्लो बन्जी जम्प र सुपरम्यान शैलीको विश्वकै दोस्रो लामो जिपलाइन रहेको पर्वतमा अर्को साहसिक खेलका रूपमा ‘विश्वकै सबैभन्दा अग्लो’ ‘हाइड्रोलिक स्विङ’ सञ्चालनमा ल्याउन लागिएको हो।कालीगण्डकी नदीमा रहेको बन्जी जम्प र जिपलाइनको बीचमा पर्ने गरी १४ सय ८० मिटर लामो सुपरम्यान जिपलाइन सञ्चालन गर्न लागेको ‘द हार्नेस प्रालि’ ले जनाएको छ।

८० लाख रूपैयाँको लगानीमा पिङ निर्माण अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी निर्देशक सुनिलसिंह बानियाले बताए। जमिन बलियो पार्न फाउन्डेसनको लागि मात्र ५० लाख खर्च गरिएको छ।‘हामीले १५ करोडको लगानीमा जिपलाइन निर्माण गरिरहेका छौँ। यसैको साथमा फेरि ८० लाखको लगानीमा हाइड्रोलिक स्विङ निर्माण भइरहेको छ। यसले पनि पर्वतको पर्यटनमा फेरि नयाँ आयाम थप्ला भन्ने लागेको छ,’ उनले भने, ‘अब पर्वत साहसिक खेलको जिल्लाको रूपमा चिनिएको छ।’

यस्तै खालका पिङ यसअगाडि युनाइटेड स्टेट, चाइना र साउथ अफ्रिकामा बनेका भए पनि पर्वतमा सञ्चालनमा आउने लागेको पिङ भने विश्वकै सबैभन्दा अग्लो ५२ फिट उचाइको हुने उनले दाबी गरे।नेपालमा अहिलेसम्म सञ्चालनमा रहेका पिङलाई हातले तान्ने वा घिर्नी र डोरीको प्रयोग गरेर तानेर छाड्ने खालको रहेकोमा हाइड्रोलिक पिङमा भने डोरी र घिर्नी नभई विद्युतीय मेसिनको प्रयोग गर्न लागिएको छ।मेसिन निश्चित गतिमा चल्ने भएकाले अरू डोरीको पिङजस्तो सुरुमा चर्को र विस्तारै गति कम हुँदै जाने हाइड्रोलिक पिङमा नहुने भएकाले निश्चित समयमा निश्चित पटक मात्रै मच्चिने र हरेक पटक पार गर्ने दूरी पनि बराबर नै हुने ‘द हार्नेस प्रालि’ का अध्यक्ष विदुर पौड्यालले बताए।

‘यो अटो अपरेटेड स्विङ हो, अरूमा जस्तो गति तलमाथि यसमा हुँदैन। एक मिनेटमा १२ पटक मच्चिने यो पिङ ९० डिग्री कोणसम्मको अवस्थामा सिधा हुन्छ,’ उनले भने, ‘यो पिङमा चिनियाँ प्रविधि र सामाग्रीको प्रयोग गरिएको छ। नेपालमा यस्ता पिङ नबनेकाले पनि धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई यसले लोभ्याउने आस गरेका छौँ।’

निर्माण कम्पनीका अनुसार पिङमा एक पटकमा ४ जनासम्म बसेर खेल्न मिल्ने छ। पिङ मच्चिएको अवस्थामा कालीगण्डकी किनारमा रहेको डरलाग्दो भीरमाथिको भागमा सिधा भएर बसेको हुनेछ।पिङ निर्माण अन्तिम चरणमा रहेको र जिपलाइनको परीक्षणसमेत सफल भएकाले केही दिनभित्रै दुवै साहसिक खेलको औपचारिक तथा व्यावसायिक सुरुवात गर्ने तयारीमा कम्पनी रहेको छ।पर्वतमा बन्दै गएका साहसिक खेलले जिल्लामा पर्यटकको आकर्षण बढिरहेको बेलामा केही दिनमा नै सञ्चालनमा आउन लागेको जिपलाइन र हाइड्रोलिक पिङले झनै आकर्षण थप्ने कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी बताउँछन्।

कुनै बेला बाटो हिँड्नसमेत डर लाग्ने र जति बेलै बाँदरको मात्र बथान देखिने कालीगण्डकीको भीरमा बनेका साहसिक खेल तथा पर्यटकीय गन्तव्यले जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय विकासमा महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाई छ।‘जिपलाइन, बन्जी, पिङ अन्यत्र पनि नभएका त कहाँ हुन र१ तर यहाँका खेलमा विशेषता छन्, विश्वमै रेकर्ड राख्ने खालका छन् जसले विश्वको ध्यान नेपालमा र त्यसमा पनि पर्वतमा आएको छ,’ नगरप्रमुख जोशीले भने, ‘स्थानीय तहले नै लगानी गरेर बनाउन यति ठूलो रकम हामीसँग हुँदैन। यस्तै खालका अन्य पर्यटकीय सम्भावना खोजी गरी लगानीको वातावरण तयार गर्नु हाम्रो आवश्यकता हो।’

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६