लुम्बिनी

अक्सिजन प्लान्ट : पालिकाले किन्दा १ करोड, केन्द्र सरकारले किन्दा डेढ करोड !



कपिलवस्तु- कपिलवस्तु अस्पतालमा कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव भएपछि प्लान्ट स्थापना गर्ने अभियान सञ्चालन भयो । अभियन्ताहरूले प्लान्ट स्थापनाका लागि सेवाप्रदायक संस्थासँग सम्पर्क गरे ।

 

भारतीय, चिनियाँ तथा फ्रान्सेली कम्पनीका प्लान्टमध्ये चिनियाँ प्लान्ट ९७ लाख रुपैयाँमा जडान गर्ने प्रस्ताव आयो । मुनरक इन्टरनेसनल र गेट विल सुन नेपालको संयुक्त फर्मले मे २९ तारिखमा दिन प्रस्ताव पठाएको थियो ।

 

कपिलवस्तु नगरपालिकाले १ करोड रुपैयाँ कार्यपालिकाको बैठकले विनियोजन गरेको थियो । तर, सरकारले अक्सिजन प्लान्टका लागि बजेट दिएपछि नगरपालिकाले एम्बुलेन्स खरिदमा चासो देखाएको थियो ।


संघीय बजेटअनुसार कपिलवस्तु अस्पतालले टेन्डर प्रक्रियाबाट २० घन मिटरको प्लान्ट खरिद प्रक्रिया अगाडि बढायो । यसमा ३ कम्पनी प्लान्ट स्थापनाका लागि तयार भए ।

 

अक्सिजन प्लान्ट जडानको मूल्य जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा सार्वजनिक भएपछि सबै अचम्म परे । १ करोडको सामग्री डेढ करोड रुपैयाँ भएर आएपछि बैठकमा खैलाबैला मच्चिएको एक सहभागीले बताए ।

 

अस्पताल प्रशासनले २० घन मिटरको प्लान्ट स्थापनाका लागि ई–टेन्डर आह्वान गरेको थियो । टेन्डरमा काठमाडौंका ३ कम्पनी अक्सिजन प्लान्ट जडानका लागि इच्छुक भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

प्लान्ट स्थापनाका लागि सरकारले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । अक्सिजन प्लान्ट जडानका साझा अभियान संयोजक रवीन्द्रनाथ ठाकुरका अनुसार आएको कोटेसनअनुसार भ्याटसहित ९७ लाख रुपैयाँमा चीनमा बनेको प्लान्ट जडान गर्ने कोटेसन आएको थियो । तर, अस्पतालमा त्यही सामान डेढ करोड रुपैयाँमा कोटेसन आएपछि नीतिगत अनियमितता भएको हुन सक्ने ठाकुरले बताए ।

 

अस्पतालले भ्याटबाहेक १ करोड ३२ लाख रुपैयाँको स्टिमेट निकालेर कोटेसन आह्वान गरेको थियो । तर, कम्पनीले हालेको मूल्यमा सबैभन्दा न्यूनतम रकम कबोल गर्नेको १ करोड ५१ लाख रुपैयाँ थियो ।

 

प्लान्ट स्थापनाका लागि विथ म्यानेजमेन्ट प्रालि, आरोग्य मेडिटेक प्रालि र फेयरट्रेड प्रालिले कोटेसन भरेको अस्पतालले जनाएको छ ।

 

मूल्य विवादित भएपछि अस्पतालले टेन्डर खारेज गरी पुनः आह्वान गरेको छ । सरकारले हाल अक्सिजन प्लान्टका उपकरणमा भ्याट छुट गरेको छ ।

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६